मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडाैं
२०७८ फाल्गुण ३ मंगलबार ०६:०२:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतमा मृत्यु भएका साथीको अस्तु चीन लैजान नेपालमा दाहसंस्कार र मृत्युको नक्कली प्रमाणपत्र

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ फाल्गुण ३ मंगलबार ०६:०२:००

ग्रिनसिटी अस्पतालको नाममा मृत्युको र पशुपति आर्यघाटको नाममा दाहसंस्कारको नक्कली प्रमाणपत्र

एक चिनियाँ नागरिकले भारतमा मृत्यु भएका साथीको अस्तु चीन लैजान नेपालमा मृत्यु भएको र दाहसंस्कार गरेको नक्कली प्रमाणपत्र बनाएको फेला परेको छ । वाङ यङले ग्रिनसिटी अस्पतालको नामबाट साथी साओ जीको मृत्युको र पशुपति आर्यघाटको नाममा नक्कली दाहसंस्कारको प्रमाणपत्र बनाएको खुलेको हो । 

प्रहरीका अनुसार वाङ र साओ नौ महिनाअघि पर्यटन भिसामा नेपाल आएका थिए । खुला बोर्डरको फाइदा उठाउँदै उनीहरू भारत छिरेका थिए । भारतमा वाङले यमुना अमित सिंह र साओले जोन्सन न्युमाईको नाममा नक्कली रासनकार्ड बनाएका थिए । सोही रासनकार्डका आधारमा दुवै भारतमा काम गर्दै आएका थिए । कामकै दौरानमा साओ टाउकोको समस्याले बिरामी परे । भारतको नोयडास्थित म्याक्स हेल्थ केयर अस्पतालमा टाउकोको अप्रेसन भएलगत्तै उनलाई कोरोना संक्रमण पनि भयो । उपचारकै क्रममा १७ माघमा उनको मृत्यु भयो । 

अस्पतालले रासनकार्ड (जोन्सन न्युमाई)कै आधारमा साओको मृत्यु प्रमाणपत्र दियो । वाङले मृत्यु प्रमाणपत्र लिएर साथीको दाहसंस्कार गरे । त्यसपछि चीन फर्किने भन्दै साथीको अस्तु बोकेर नेपाल आए । काठमाडौंस्थित चिनियाँ दूतावास गएर स्वदेश फर्किन निवेदन हाले । तर, दूतावासले जोन्सन न्युमाई नामको व्यक्ति चीनबाट नेपाल नआएको प्रस्ट पारेपछि साथी साओको अस्तु चीन लैजान नसकिने वाङले देखे । त्यसपछि उनी साओको नेपालमै मृत्यु भएको खुल्ने नक्कली प्रमाणपत्र बनाउने धुनमा लागे । यस धन्दामा उनलाई भारतीय नागरिक डङ डङले सहयोग गरे । साओको नाममा ग्रिनसिटी अस्पतालले प्रमाणित गरेको मृत्युको र पशुपति आर्यघाटमा दाहसंस्कार गरेको नक्कली प्रमाणपत्र बनाए । 

प्रमाणपत्र लिएर वाङ फेरि दूतावास पुगे । कागजात पेस गरे । मृत्यु प्रमाणपत्र सरकारी अस्पतालबाटै प्रमाणित हुनुपर्ने दूतावासको सर्तपछि उनी सरासर टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पुगे । अस्तालको प्रशासनमा सम्पर्क गरे । गतिविधि शंकास्पद देखिएपछि यही क्रममा उनी प्रहरीको फन्दामा परे । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले वाङलाई २५ माघमा अस्पतालबाटै पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले भने, ‘यो टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल गएको रहेछ । यसको गतिविधि शंकास्पद रहेको भन्दै हामीकहाँ सूचना आयो । प्रहरीले उसलाई घटनास्थलबाटै पक्राउ गर्‍यो । साथमा चिनियाँ नागरिकको नाममा जारी भएको मृत्यु प्रमाणपत्र र दाहसंस्कार प्रमाणपत्र भेटियो । अनुसन्धान गर्दा दुवै प्रमाणपत्र नक्कली रहेको खुलेको छ ।’वाङविरुद्ध अदालतबाट म्याद थप भएर अनुसन्धान जारी छ । उनलाई सघाउने भारतीय नागरिक डङ भने फरार छन् । 

पक्राउ परेका चिनियाँमाथि अनुसन्धान भइरहेको छ : दिनेश मैनाली, प्रवक्ता, महानगरीय प्रहरी परिसर काठमाडौं
यो टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल गएको रहेछ । यसको गतिविधि शंकास्पद रहेको भन्दै हामीकहाँ सूचना आयो । प्रहरीले उसलाई घटनास्थलबाटै पक्राउ गर्‍यो ।

साथमा चिनियाँ नागरिकको नाममा जारी भएको मृत्यु प्रमाणपत्र र दाहसंस्कार प्रमाणपत्र भेटियो । अनुसन्धान गर्दा दुवै प्रमाणपत्र नक्कली रहेको खुलेको छ । अदालतबाट म्याद थपेर थप अनुसन्धान भइरहेको छ ।