मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
कृष्ण रिजाल काठमाडौं
Invalid date format o८:o५:oo
Read Time : > 1 मिनेट
अर्थ

दुई दशकपछि भन्सार एजेन्ट नियुक्ति गरिँदै

भन्सार एजेन्टको परीक्षा २८ फागुनमा, ६ सय ६० भन्सार एजेन्टका लागि साढे नौ हजार उम्मेदवार

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o५:oo

भन्सार एजेन्टको परीक्षा २८ फागुनमा हुने भएको छ । यसअघि २९ माघमा गरिने भनेको परीक्षा कोभिड–१९ को तेस्रो भेरियन्टको प्रभावका कारण स्थगित गरिएको थियो । कोभिडको प्रभाव कम हुँदै गएपछि भन्सार विभागले फागुन अन्तिममा परीक्षा सञ्चालन गर्ने भएको हो ।अघिल्लो वर्ष नै दरखास्त माग गरिएको भए पनि कोभिडको प्रभावलगायत कारण भन्सार एजेन्टको परीक्षा सञ्चालन हुन सकेको थिएन । भन्सार एजेन्टको नियुक्तिका लागि दरखास्त हालेका उम्मेदवारले परीक्षा अविलम्ब गर्न दबाब दिँदै आएका थिए । पछिल्लो समय कोभिडको प्रभाव केही घट्दै गएको देखिपछि विभागले फागुन अन्तिममा भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए । 

‘एकातर्फ भन्सारमा एजेन्टको कमी छ, भन्सारलाई एजेन्टको आवश्यकता छ भने अर्कातर्फ भन्सार एजेन्टका लागि दरखास्त दिएका उम्मेदवारहरूले समेत अविलम्ब परीक्षा गर्न दबाब दिँदै आएका छन्,’ उनले भने, ‘त्यसैले विभागले फागुन अन्तिममा परीक्षा लिने निर्णय गरेको हो, फागुन २८ गते परीक्षा गर्नेसम्बन्धी सूचना आजभोलि नै निस्कनेछ ।’

विभागले गएको वर्ष फागुनमा सूचना प्रकाशित गर्दै ६ सय ६० जना भन्सार एजेन्टका लागि दरखास्त माग गरेको थियो । तोकिएको योग्यता पुगेका नागरिकले भन्सार एजेन्टमा नियुक्तिका लागि दरखास्त दिन आह्वान गरिएको थियो । भन्सार एजेन्टमा नियुक्तिका लागि करिब नौ हजार पाँच सयजनाले दरखास्त दिएका छन् । ‘प्रतिस्पर्धी साढे नौ हजार उम्मेदवारमध्येबाट लिखित परीक्षा र अन्तर्वार्ताका माध्यमबाट ६ सय ६० जनालाई भन्सार एजेन्टका रूपमा नियुक्ति दिइनेछ,’ प्रवक्ता खड्काले भने, ‘चैतसम्ममा सम्पूर्ण प्रक्रिया सक्ने हाम्रो योजना छ ।’

विभागले काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन गर्नेछ । ४० देखि ५० वटा सेन्टरमा परीक्षा लिइनेछ । परीक्षा सेन्टर तोक्नका लागि लोकसेवा आयोगसँग समन्वय गरिएको विभागले जनाएको छ । परीक्षा सेन्टर तोकेपछि पुनः सूचना प्रकाशन गरेर जानकारी गराइने उनले बताए । 

 दुई दशकपछि एजेन्ट नियुक्ति गरिँदै
विभागले करिब दुई दशकपछि सरकारले भन्सार एजेन्ट नियुक्ति गर्ने तयारी गरेको छ । ०५७ सालमा ५६ वटा एजेन्ट नियुक्ति भएयता कुनै पनि एजेन्ट नियुक्ति गरिएको थिएन । दुई दशकदेखि भन्सार एजेन्ट नियुक्ति नहुँदा अन्तर्राष्ट्रिय व्यापारमा समस्या देखिएका थिए । व्यवसायीले चाहेका वेला भन्सार एजेन्ट नपाउने, समयमै मालवस्तु पास नहुने, एजेन्टले गुणस्तरीय काम नगर्ने, महँगो सेवाशुल्क लिने, तौलअनुसार शुल्क निर्धारण गर्ने तथा सिन्डिकेट गर्नेलगायतका समस्या देखिएको व्यवसायी तथा कर्मचारीहरूले गुनासो गर्दै आएका थिए । बढ्दो अन्तर्राष्ट्रिय व्यापार, थपिएका भन्सार नाका तथा निष्क्रिय भन्सार एजेन्टलाई समेत मूल्यांकन गरेर भन्सार एजेन्ट थप गर्ने प्रक्रिया अघि बढाएको हो । विभागले जनाएको छ । सरकारले हालसम्म चार सय ८१ जना भन्सार एजेन्ट नियुक्ति गरेको छ । तर, करिब दुईतिहाइ एजेन्ट निष्क्रिय छन् । चालू आर्थिक वर्षमा एक सय ७२ भन्सार एजेन्टले अनुमतिपत्र नवीकरण गरेका छन् । 

 को हुन् भन्सार एजेन्ट ?
निकासी–पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी–पैठारीकर्ताले भन्सार एजेन्ट राख्न सक्छन् । भन्सार एजेन्टलाई आयात–निर्यात हुने मालवस्तुको धनीसरह समेत मानिने गरिन्छ । तर, भन्सार एजेन्ट बन्न भने विभाग वा कार्यालयबाट अनुमतिपत्र लिनुपर्छ । 
विभागले समय–समयमा सार्वजनिक सूचना प्रकाशनमार्फत दरखास्त मागेर लिखित र अन्तर्वार्ताका माध्यमबाट भन्सार एजेन्टको इजाजतपत्र दिन सक्ने भन्सार ऐन, २०६४ (२०७६ दसौँ संशोधन)को व्यवस्था छ । सोही व्यवस्थापअनुसार विभागले एजेन्ट नियुक्ति प्रक्रिया अघि बढाएको हो । नाका र व्यापार बढेअनुसार भन्सार एजेन्ट नियुक्ति नहुँदा त्यसको स्वाभाविक असर भन्सार जाँचपासमा देखिने गरेको छ । अहिले एक सय ७० जना एजेन्ट र तिनका तीन सय ५० हाराहारी प्रतिनिधिले भन्सारमा सहजीकरण गरिरहेको भन्सार एजेन्ट महासंघ नेपालले जनाएको छ ।