१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जडान भएको दुई वर्षसम्म  प्रयोगमा आएन भिओआरडिएमई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:२४:oo

धनगढी विमानस्थलमा न्यून ‘भिजिबिलिटी’मा पनि हवाई उडान गर्न सहयोग पुर्‍याउने उपकरण ‘भिओआरडिएमई’ जडान गरेको दुई वर्षसम्म पनि प्रयोगमा आउन सकेको छैन । प्राविधिक परीक्षण नभएकाले उपकरण प्रयोगविहीन अवस्थामा रहेको नागरिक उड्डयन प्राधिकरण धनगढीले जनाएको छ ।

दातृ निकाय जाइकाको सहयोगमा करिब दुई वर्षअघि धनगढी विमानस्थलमा भिओआरडिएमई जडान गरिएको थियो । उपकरण जडान भएपछि प्राविधिक उडानमार्फत त्यसको क्षमता जाँच हुन नसकेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । ‘क्षमता ठीक छ–छैन भनेर ‘क्यालिब्रेसन’ चेक हुनुपर्ने हो, तर परीक्षण नहुँदा भिओआरडिएमई प्रयोगमा आउन सकेको छैन,’ उनले भने, ‘उपकरण प्रयोगमा आए कम ‘भिजिबिलिटी’मा पनि उडान गर्न सजिलो हुन्थ्यो ।’

हवाई उडानमार्फत उपकरण परीक्षण गर्ने छुट्टै विमान, तालिमप्राप्त चालक र प्रविधि नेपालमा नरहेको भट्टले बताए । नेपालमा त्यस्तो परीक्षणका लागि विदेशबाट विमानसहितको टोली बोलाउने गरिएको छ । जाइकाले नै परीक्षण गरेर उपकरण हस्तान्तरण गर्ने भए पनि कोरोनाका कारण दुई वर्षदेखि परीक्षण रोकिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

भिजिबिलिटी नपुग्दा हिउँदमा हुस्सु लागेको दिन धनगढी विमानस्थलमा उडान अवरुद्ध हुने गरेको छ । हिउँदमा हुस्सुले प्रायः उडानहरू प्रभावित हुँदा सेवाग्राही मारमा पर्ने गरेका छन् । गत आइतबार मात्रै बाक्लो हुस्सुले दिनभर हवाई उडान हुन सकेन । भिओआरडिएमई जडान भए कम भिजिबिलिटीमा पनि उडान भर्न सकिने सुविधा हुन्छ । यसले खासगरी साना जहाजलाई बढी सुविधा पुग्ने बताइन्छ । ‘अहिलेको जस्तो हुस्सु लागेको दिन उडान रद्द गर्नुपर्ने अवस्था हुँदैन,’ प्रमुख भट्टले भने, ‘खासगरी साना जहाज हुस्सु लागेका वेला पनि उडाउन सकिन्छ ।’

अहिले सेटेलाइटबाट ठूला जहाज १.७ किलोमिटरको भिजिबिलिटीमा उडान भर्ने गरेकोमा भिओआरडिएमई जडान भए १.६ किलोमिटर भिजिबिलिटीमा उडान गर्न सक्ने विमानस्थलले जनाएको छ । भट्टका अनुसार भिओआरडिएमई जडान भए साना विमानहरू भने बाक्लो हुस्सु लागेका वेला पनि उडान भर्न सकिन्छ । 

जाइकाले आफैँ ठेक्का लगाएर करिब तीन करोड रुपैयाँ लागतमा दुई वर्षअघि उपकरण जडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सुदूरपश्चिममा काठमाडौंबाट नियमित हवाई उडान हुने धनगढी विमानस्थल मात्र हो । काठमाडौं–धनगढी अहिले बुद्ध एयर र श्री एयरलाइन्सले दैनिक तीन–तीन र सौर्य एयरलाइन्सले एउटा गरी सातवटा उडान हुने गरेका छन् । 

यस्तै, धनगढीलाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गर्न अहिले प्रारम्भिक कार्य पनि सुरु भएको छ । क्षेत्रीय विमानस्थलको डिपिआर निर्माणका लागि स्थलगत सर्भेको काम भइरहेको छ । नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थलको स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा एक अर्ब १५ करोड बजेट विनियोजन गरेको छ ।

ad
ad