१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १९ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ १९ बुधबार १२:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली पिसिआर रिपोर्ट बेच्ने चारजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ १९ बुधबार १२:५३:oo

कोरोना संक्रमण पजिटिभ आएका व्यक्तिहरूबाट रकम लिएर नेगेटिभ पिसिआर रिपोर्ट बनाएर बेचेको आरोपमा महानगरीय अपराध महाशाखाले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुरको नागरिक कम्युनिटी अस्पतालको परिचयपत्र भएका रोशनकुमार छिट्टान, सोही अस्पतालका ल्याब म्यानेजर प्रसन्नकुमार झा, काठमाडौंको तिनकुनेमा रहेको कान्तिपुर अस्पतालको कर्मचारी परिचयपत्र भएका नागेन्द्रकुमार यादव र सोही अस्पतालको ल्याबका कर्मचारी माधव मैनाली रहेका छन् । 

उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । कोरोना संक्रमण पजिटिभ आएकाहरूलाई पनि नेगेटिभ रिपोर्ट  बेचेको जानकारी आएपछि महाशाखाले अनुसन्धान थालेको थियो । हाल दुवै अस्पतालका सञ्चालक  फरार रहेका प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार हाल दुवै अस्पतालका पिसिआरसम्बन्धी सबै सेवा बन्द गरिएको र थप अनुसन्धान कार्य भइरहेको छ । 
पक्राउ पर्नेहरूको साथबाट पिसिआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटरलगायतका उपकरणहरू र पिसिआर परीक्षणको दर्ता रजिस्टरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

महानगरीय अपराध महाशाखाका अनुसार उल्लेखित अस्पतालका ल्याबहरूले स्वाब र परीक्षणविनै नेगेटिभ पिसिआर रिपोर्ट दिने गरेको, उक्त ल्याबहरूमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेको, पिसिआर पजिटिभ देखिएका स्याम्पलहरूको ‘सिटी भ्यालु’ तलमाथि गरी रिपोर्ट दिने गरेकोलगायतका तथ्यहरू खुल्न आएको बताएको छ । 

त्यस्तै, बिचौलिया र ती अस्पतालका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने भन्दै प्रतिव्यक्ति दश हजार रुपैयाँसम्म असुल गरेको भेटिएको महाशाखाले जनाएको छ ।