मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा गोल गरेपछि नेपालका सुजल श्रेष्ठ । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२०७८ माघ १९ बुधबार ०६:३६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तनावपूर्ण खेलमा मोरिससमाथि नेपालको जित

मैत्रीपूर्ण खेलमा चार रातो र ११ पहेँलो कार्ड

Read Time : > 1 मिनेट
२०७८ माघ १९ बुधबार ०६:३६:००

नेपाल र मोरिससबीच मंगलबार भएको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको मध्यान्तरपछिको खेल तनावपूर्ण नै रह्यो । मैत्रीपूर्ण खेल भए पनि खेलमा चार रातो कार्ड र ११ पहेँलो कार्ड खेलाडीले पाए । मोरिससका दुई खेलाडीले रातो कार्ड पाए । नेपालका गोलरक्षक प्रशिक्षक विकास मल्ल र खेलाडी पुजन उपरकोटीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तनावपूर्ण खेलमा नेपालले नौ खेलाडीमा सीमित मोरिससलाई १–० ले हरायो । नेपालको जितमा एक मात्र गोल सुजल श्रेष्ठले गरेका थिए । 

खेलको दशौँ मिनेटमा पुजनकै ब्याक पासमा सुजलले क्लोज रेन्जबाट गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएका थिए । सुजलकै तेस्रो अन्तर्राष्ट्रिय गोलको मद्दतमा नेपालले मोरिससलाई हरायो । नेपालले पहिलो खेलमा पनि १–० कै जित निकालेको थियो । खेलको १२औँ मिनेटमा मोरिससले बराबरी अवसर गुमाएको थियो । डिबक्सभित्र दिनेश राजवंशीले विपक्षी टोलीका कप्तान एन्डी सोफीलाई सीधै फल गरेपछि मोरिससले पेनाल्टी प्रहार गर्न मौका पाएको हो । पेनाल्टीलाई एन्डीले नै प्रहार गरेका थिए । उनको पेनाल्टी प्रहारलाई नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले दायाँ साइडमा डाइभ गर्दै विफल पारे ।  

मोरिसस नौ खेलाडी सीमित 
प्रतिस्पर्धामा मोरिससका खेलाडीले नेपालका खेलाडीमाथि फिजिकल्ली दबाब दिइरहेका थिए । पहिलो हाफमा सामान्य रूपमा दुई टोलीका खेलाडीबीच विवाद चलिरहेको थियो । मध्यान्तरपछि भने विवाद उत्कर्षमै पुग्यो । खेलको ८१औँ मिनेटमा नेपाल र मोरिसस १०–१० खेलाडीमा सीमित भए । नेपालका डिफेन्डर पुजनले विपक्षी खेलाडीलाई सीधै बलले प्रहार गरेका थिए । मोरिससका खेलाडी एन्ड्रियन बोटलर झडपमा उत्रिएका थिए ।

रेफ्री नवीन्द्र महर्जनले एड्रियनलाई सीधै रातो कार्ड देखाए । झडप साम्य पार्न आएका नेपाली टोलीका गोलरक्षक प्रशिक्षक विकासले विपक्षी खेलाडीलाई हुत्याउँदा उनले पनि रातो कार्ड नै पाए । खेलको ८४औँ मिनेटमा मोरिससका इम्यान्युएल फुलचुडले नेपालका गौतम श्रेष्ठलाई पछाडिबाट डरलाग्दो ट्याकल गरेपछि दोस्रो पहेँलो कार्डस्वरूप रातो पाएका थिए । त्यसपछि बाँकी समयमा मोरिससले नौ खेलाडीमा सीमित भएर प्रतिस्पर्धा गरेको थियो । यसैबीच, नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो खेलमा नवीन गुरुङलाई डेब्यु गराएका छन् । नवीनले पहिलो सेटमै प्रतिस्पर्धा गर्न अवसर पाए ।

लाइट अफ हुँदा १० मिनेट खेल रोकियो
दशरथ रंगशालामा अक्सर फर्ड लाइटको समस्या आउने गर्छ । मंगलबारको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल चलिरहँदा फर्ड लाइटमा यस्तै समस्या देखियो । अफिसियलले अन्तिम आठ मिनेटको इन्जुरी समय देखाउन तयारी भइरहँदा फर्ड लाइटको आधा खण्डका बत्ती मात्र बले । मधुरो प्रकाशमा खेल्न सक्ने अवस्था नभएपछि करिब आठ मिनेटजति खेल रोकियो । म्याच रेफ्री महर्जन, म्याच कमिन्सनर उपेन्द्रमान सिंह तथा साइड लाइन्सम्यानबीच केहीबेर वार्ता भयो । उनीहरूले दुवै टोलीका कप्तानलाई मैदानको मध्यभागमा बोलाएर खेल सञ्चालन गर्न निर्देशन दिएका थिए । यद्यपि मोरिससका प्रशिक्षक तथा अफिसियलहरू फर्ड लाइट पूरै नबल्दासम्म नखेल्न खेलाडीलाई भनिरहेका थिए । यसैबीच फर्ड लाइट पूर्ण रूपले सञ्चालन भएपछि खेल १० मिनेटपछि सुचारु भयो । खेलमा आठ मिनेटको अतिरिक्त समय थप भएको थियो ।