१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १० सोमबार
  • Friday, 04 July, 2025
दीपक भट्ट रामेछाप
२o७८ माघ १० सोमबार १५:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापमा २८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७८ माघ १० सोमबार १५:o६:oo

कोरोनाको तेस्रो लहर सुरु भएयता रामेछाप जिल्ला अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीमा जिल्ला अस्पताल रामेछापमा सातजना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना, गोकुलगंगा अस्पतालमा एकजना र दोरम्बा अस्पतालमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसैगरी, खाँडादेवी स्वास्थ्य केन्द्रमा आठजना, सुनापति स्वास्थ्य केन्दमा एकजना र उमाकुण्ड स्वास्थ्य केन्द्रमा चारजना गरी २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र शाहले जानकारी दिए। 

स्वास्थ्यकर्मी कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेसँगै स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावित भएको छ। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि जिल्ला अस्पताललगायतका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवालाई निरन्तरता दिन संक्रमण नभएका स्वास्थ्यकर्मीले आठ घन्टाको समयसीमा बढाएर दैनिक १२ देखि १६ घन्टासम्म काम गर्ने गरी व्यवस्थापन मिलाएको जिल्ला अस्पताल रामेछापका डा. पवन शाक्यले जानकारी दिए। 

‘धेरै स्वास्थ्यकर्मी संक्रमित हुनुहुन्छ। संक्रमित भएका स्वास्थ्यकर्मीको पुनः भोलि पिसिआर गर्ने गरी व्यवस्थापन मिलाएका छौँ। पिसिआर गर्दा संक्रमण नदेखिएका स्वास्थ्यकर्मीलाई काममा फर्काउने र पुनः संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राख्नेछौँ,’ शाक्यले भने। अवरुद्ध स्वास्थ्य सेवालाई निरन्तरता दिने तयारीमा आफूहरू लागिपरेको पनि डा. शाक्यले बताए।