१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ माघ १० सोमबार ०८:२७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तुलसीपुर उपमहानगरपालिकामा अस्थायी क्रसर उद्योग सञ्चालनका लागि अनुमति दिने तयारी

Read Time : > 1 मिनेट
२०७८ माघ १० सोमबार ०८:२७:००

दाङको तुलसीपुरमा अस्थायी क्रसर उद्योग सञ्चालनको अनुमति दिने विषयमा बहस सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित उरहरी–जसपुर–ग्वारखोला सिँचाइ आयोजनाका लागि अस्थायी क्रसर उद्योग सञ्चालनका लागि अनुमति दिने वा नदिने विषयमा बहस चलेको हो । तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको दुईवटा बैठक यो एजेन्डामा निष्कर्षविहीन बनेर टुंगिएको छ । 

गत २७ पुसमा बसेको बैठक अस्थायी क्रसर उद्योग सञ्चालन गर्न दिने सन्दर्भमा निष्कर्षविहीन भएको थियो । बैठकले आर्थिक समिति संयोजक माधव वलीलाई अध्ययनका लागि जिम्मेवारी दिएको थियो । ३ माघमा बसेको बैठकले समेत कुनै निष्कर्ष निकाल्न सकेन । कार्यपालिका सदस्यहरू पनि दुई धारमा विभाजन भएका छन् । 

माओवादी केन्द्र, कांग्रेस तथा एकीकृत समाजवादीनिकट कार्यपालिका सदस्यहरूले अस्थायी क्रसर उद्योग सञ्चालनका लागि स्वीकृति दिन नहुने बताउँदै आएका छन् । तर, एमालेनिकट सदस्यहरूले अध्ययनपछि के निष्कर्ष निस्किन्छ, त्यहीअनुसार गर्ने धारणा राखेका छन् ।कांग्रेसनिकट एक कार्यपालिका सदस्यले भने, ‘३ माघको कार्यपालिका बैठकले अस्थायी क्रसर उद्योग सञ्चालन नदिने गरी यो च्याप्टर क्लोज गरिसकेको छ ।’ तर, एमालेनिकट उपमहानगरका प्रवक्ता तथा तुलसीपुर–१२ का वडाध्यक्ष सूर्यबहादुर डाँगीले भने यो विषयमा अध्ययन गरेर मात्रै निष्कर्ष निकाल्ने बताए । ‘ठेकेदारले माग गरेपछि कार्यपालिका बैठकमा हामीले छलफल गरेका हौँ,’ उनले भने, ‘त्यस विषयमा आवश्यक अध्ययन गरेर मात्रै निष्कर्ष निस्किन्छ ।’

आर्थिक समिति संयोजक माधव वलीले यो विषय छलफलमै भएको बताए । उनले क्रसर सञ्चालनमा ल्याएपछि उपमहानगरपालिकालाई कति आम्दानी हुने, कुन स्थानमा राख्ने, त्यसको क्षमता कति हुने, आवश्यक सामग्री कहाँबाट ल्याउने, क्रसरको औचित्य के हो भन्ने कुरा पुष्टि हुनुपर्ने बताए । दाङ–सुर्खेत सडकखण्ड निर्माणका लागि कालिका कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । त्यतिवेला पश्चिम दाङका केही मानिसले अस्थायी क्रसर चलाउन सेयर लगानी गरेका थिए ।

सोहीअनुसार तुलसीपुर उपमहानगरपालिका–२ मा भाग्यलक्ष्मी क्रसर उद्योग सञ्चालनमा आयो, जुन क्रसर तत्कालीन अवस्थामा अस्थायी थियो । सडक कालोपत्रेका लागि सञ्चालनमा आएको क्रसर कालोपत्र सकिसक्दा पनि सञ्चालनमै छ । क्रसरमा पश्चिम दाङका सबै पार्टीको प्रतिनिधित्व हुने गरी सेयर सदस्य राखिएको छ । जुन पार्टीका सरकार आए पनि क्रसर उद्योगलाई कुनै असर नपर्ने गरी सेयर सदस्यता प्रदान गरिएको स्रोतले बतायो ।