मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ १० सोमबार ०७:५४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आहा ! रारा गोल्डकप : मनाङ सेमिफाइनलमा

Read Time : > 2 मिनेट
२०७८ माघ १० सोमबार ०७:५४:००

घरेलु मैदानमा जित हात पार्दै मनाङमस्र्याङ्दी क्लब पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० गोलले पाखा लगाउँदै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । मनाङ अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच मंगलबार हुने खेलको विजेतासँग १३ माघमा भिड्नेछ ।

यसअघि गत शुक्रबार सम्पन्न प्रि–क्वार्टरफाइनलको खेलमा हिमालयन शेर्पा क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै पुलिस क्वार्टरफाइनल प्रवेश गर्दा मनाङ भने बाई पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो । दुवै टोली ३७ दिनको अन्तरालमा दोस्रोपटक पोखरा रंगशालामा भिडेका हुन् । ए डिभिजन लिगको पाँचाैँ चरणअन्तर्गत ३ पुसमा पोखरामा भएको खेलमा यी दुवै टोली भिडेका थिए । खेलमा मनाङ ३–१ गोलले विजयी भएको थियो । आइतबारको खेलमा पुलिसले सो हारको बदला लिने र मनाङ भने जितको निरन्तरता कायम राख्ने उद्देश्यसहित मैदान उत्रेका थिए । प्रतियोगिताको उपाधि ६ पटक उचालेको मनाङ आफ्नो उद्देश्यमा सफल हुँदा खेलमा पराजितसँगै पुलिस २०औँ  संस्करणबाटै बाहिरिएको छ । दुई वर्षअघि सम्पन्न प्रतियोगिताको १८औँ संस्करणको फाइनलमा समेत टाइब्रेकरमा ४–३ गोलअन्तरले पुलिसलाई पराजित गर्दै मनाङले उपाधि जितेको थियो । 

पहिलो हाफ बराबरी
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । यद्यपि, खेलमा सुरुदेखि नै दुवै टोली आक्रामक रूपमा प्रस्तुत भएका थिए । मनाङको जितमा खेतको ६४औँ  मिनेटमा रूपेश केसीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ओलावालेले दिएको क्रसपासलाई उपयोग गर्दै केसीले विपक्षी तीन खेलाडी र गोलकिपरको बीचबाट हानेको बलले जाली चुमेको थियो । पुलिसका अजित भण्डारीले डिबक्सभित्र पाएको बल क्लियर गर्ने क्रममा उनले क्लियर गर्न नसकेको बल ओलावालेले क्रसपास दिएका थिए ।

 ८७औँ मिनेटमा खेलका म्यान अफ दी म्याचसमेत रहेका ओलावालेले टोलीको अग्रता दोब्बर पारेका थिए । मैदानबीच भागबाट एक्लै बल अगाडि बढाएका उनले विपक्षी खेलाडी भोलानाथ सिलवाल र अजित भण्डारीलाई छलाउँदै डिबक्सको लाइनबाट प्रहार गरेको बलले सीधै पोस्टको यात्रा तय गरेको थियो । यसअघि खेलको २६औँ  मिनेटमा पुलिसका रवि पासवान सुरुवाती गोल गर्न चुके । उनले हानेको प्रहार क्रसवारमाथिबाट बाहिरिएको थियो । ३२औँ मिनेटमा मनाङका राजेश परियारले हानेको प्रहार सीधै विपक्षी किपरको हातमा परेको थियो । ८३औँ  मिनेटमा जुमानु राईले पेनाल्टी क्षेत्रमा पाएको अवसर खेर फाल्दा बराबरी गोल गर्नबाट पुलिस चुकेको थियो । ८४औँ  मिनेटमा अशोक थापाले हानेको प्रहार विपक्षी पुलिसका किपर सञ्जित श्रेष्ठले बचाउ गर्दा टोलीको अग्रता दोब्बर बनाउन चुके ।

अवसर सदुपयोग गर्न सकेनौँ
अन्नत थापा, पुलिस

खेलमा हारजित भइहाल्छ । जसले मुभमेन्ट बनाउन सक्यो र पाएको अवसर सदुपयोग गर्‍यो उसले नै गोल हान्छ र जित्छ । हामीले पाएको अवसर सदुपयोग गर्न सकेनौँ र हार्‍यौँ । यसअघिको खेलमा जस्तै आज पनि डिफेन्सको केही कमजोरी रह्यो, उनीहरूको गल्तीका कारण नै पराजित हुन पुग्याैँ । खेल बराबरीमा टुंग्याउने योजना भए पनि त्यो पूरा भएन ।

उपाधि अवश्य उचाल्छौँ
फुजा टोपे, मनाङ

जितका लागि सहज भएन । खेल लिग होइन, नकआउट हो भन्ने हामीलाई थाहा थियो त्यसैले हामी जित्नका लागि खेलेका थियाैँ । पहिलो हाफमा विपक्षीको खेल हेर्‍यौँ र आक्रामक रूपमा प्रस्तुत भएनौँ । दोस्रो हाफमा भने पहिलो हापमा विपक्षीले खेलेको खेलअनुसार अपनाउनुपर्ने रणनीति बनाएर खोल्यौँ र सफल पनि भयौँ । यसपटकको उपाधि अवश्य उचाल्छौँ । 

 आजको खेल 
संकटा क्लब र मछिन्द्र क्लब