१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २३ बिहीबार ११:२८:००
Read Time : > 2 मिनेट
अर्थ

बेजोस विश्वकै धनी, ५५ जना धनाढ्यको सूचीबाट बाहिरिए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २३ बिहीबार ११:२८:००

यस वर्ष पनि अमेरिकी अनलाइन सपिङ अमेजनका संस्थापक जेफ बेजोस नै विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले यस वर्षका लागि तयार पारेको विश्वका धनाढ्यको सूचीमा कुल नेटवर्थ १ खर्ब ३१ अर्ब डलरसहित बेजोस शीर्ष स्थानमा आएका हुन् । उनको सम्पत्ति गत वर्षभन्दा १९ अर्ब डलरले बढेको फोर्ब्सले बताएको छ । यो वर्ष फोर्ब्समा सूचीकृत अति धनाढ्य व्यक्तिहरूको कुल सम्पत्ति ८ दशमलव ७ ट्रिलियन डलर रहेको छ । यो गत वर्षको तुलनामा ४० करोडले कम हो । यो वर्ष धनाढ्यको सूचीमा ५५ जना हटेका छन् ।

फोब्र्सले सार्वजनिक गरेको २०१९ को अर्बपतिको सूचीको दोस्रो स्थानमा प्रविधि कम्पनी माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स रहेका छन् । उनीसँग ९६ अर्ब ५० करोड डलर कुल नेटवर्थ रहेको छ । उनको सम्पत्ति गत वर्षको तुलनामा ६ अर्ब ५० डलरले बढेको बताइएको छ । बेजोस र गेट्सलाई पछ्याउँदै अमेरिकी बहुराष्ट्रिय कंग्लोमेरेट कम्पनी वर्कसायर हाथवेका प्रमुख कार्यकारी अधिकारी तथा लगानी गुरु ८८ वर्षीय वारेन वफेट विश्वका तेस्रा धनी व्यक्ति बनेका छन् । यद्यपि उनको कुल सम्पत्ति गत वर्षको तुलनामा डेढ अर्ब डलरले घटेर ८२ अर्ब ५० करोड डलरमा ओर्लिएको फोब्र्सले बताएको छ ।

फ्रान्सेली लक्जरी ब्रान्ड एलभिएमएसका प्रमुख कार्यकारी बर्नाड आर्नाेल्ट ७६ अर्ब डलर कुल नेटवर्थसहित सूचीको चौथो स्थानमा पर्न सफल बनेका छन् । उनको सम्पत्ति गत वर्षको तुलनामा ४ अर्ब डलरले बढेको छ । चिनियाँ अनलाइन सपिङ अलिबाबाका संस्थापक ज्याकमा सूचीको २१औँ स्थानमा परेका छन् । 

अम्बानी सबैभन्दा धनी भारतीय
भारतीय अर्बपति, रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति बनेका छन् । फोब्र्सको विश्वव्यापी धनाढ्यको सूचीमा उनी १३औँ स्थानमा आएका छन् । १ सय ६ जना भारतीय अर्बपतिको नेतृत्व गरेका अम्बानी धनाढ्यको सूचीमा गत वर्षको तुलनामा ६ स्थान माथि उक्लिएका हुन् । उनको सम्पत्ति पनि गत वर्षको तुलनामा बढेको छ । गत वर्ष ४० अर्ब १० करोड डलर कुल नेटवर्थ रहेका उनीसँग यो वर्ष ५० अर्ब डलरबराबरको सम्पत्ति छ । 

मुकेश अम्बानीका भाइ एवं रिलायन्स ग्रुपका निर्देशक अनिल अम्बानी सूचीको १३ सय ३९औँ स्थानमा आएका छन् । उनीसँग कुल १ अर्ब ८० करोड डलर सम्पत्ति रहेको छ । उनको सम्पत्ति जनवरीयता २६ प्रतिशतले घटेको र गत वर्ष दूरसञ्चार क्षेत्रको भेन्चर कम्पनी रिलायन्स कम्युनिकेसनले उद्धारका लागि याचिका दायर गरेपछि उनको सम्पत्ति ४० करोड ८० लाख डलरले घटेको बताइएको छ । 

यसैक्रममा, सूचना प्रविधि, परामर्श र व्यावसायिक प्रक्रियासम्बन्धी सेवाप्रदायक कम्पनी बिप्रोका अध्यक्ष अजिम प्रेमजी २२ अर्ब ६० लाख डलर नेटवर्थसहित १ सय भारतीय अर्बपतिको सूचीमा ३६औँ स्थानमा परेका छन् । त्यस्तै, भारतीय बहुर्राष्ट्रिय प्रविधि कम्पनी एचसिएलका सह–संस्थापक शिव नाडर, स्टिल उत्पादक कम्पनी आर्सेलर मित्तलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी मित्तल क्रमशः ८२औँ र ९१औँ स्थानमा आएका छन् । नाडरको कुल नेटवर्थ १४ अर्ब ४० करोड डलर र मित्तलसँग १४ अर्ब १० करोड डलरबराबरको कुल सम्पत्ति रहेको बताइएको छ । 

विनोद चौधरीको सम्पत्ति २० करोड डलर थपियो
अर्बपतिको सूचीमा समावेश एक मात्र नेपाली विनोद चौधरी सूचीको १३ सय ४९औँ स्थानमा परेका छन् । उनी गत वर्षको तुलनामा २ सय १२ स्थानमाथि उक्लिएर सो सूचीमा आइपुगेका हुन् । गत वर्ष उनी १५ सय ६१औँ स्थानमा थिए । उनले यस वर्ष २० करोड डलर सम्पत्ति थप कमाएका छन् । चौधरी ग्रुपका प्रमुख उनीसँग एक अर्ब ७० करोड डलरबराबरको सम्पत्ति रहेको छ ।

सूचीमा महिला धनाढ्य
अमेरिकी कलाकार काइली जेनर फोर्ब्सको सूचीमा सबैभन्दा कम उमेरकी अर्बपति र युवा ‘सेल्फ मेड’ अर्बपति दुवै बनेकी छिन् । उनको तीन वर्ष पुरानो कस्मेटिक कम्पनी काइली कस्मेटिक्सको विस्तारका कारण उनलाई यो सफलता हात लागेको हो । विज्ञापन र टेलिभिजन प्रस्तुतिबाट जेनर अर्बपतिको सूचीमा समावेश भएकी हुन् । उनीसँग १ अर्ब डलरबराबरको सम्पत्ति रहेको छ । फोर्ब्सको सूचीमा भने उनी २ हजार ५७औँ स्थानमा रहेकी छिन् ।

त्यस्तै, भारतीय बायोफर्मास्युटिकल्स कम्पनीकी संस्थापक किरण मजुम्दार साह सूचीको ६ सय १७औँ स्थानमा पर्न सफल भएकी छिन् । ३ अर्ब ४० करोड नेट वर्थसहित उनी सबैभन्दा धनी भारतीय महिला बनेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्ग भने गत वर्षको तुलनामा तीन स्थान तल झरेर आठौँ स्थानमा आइपुगेका छन् । उनले गत वर्ष व्यक्तिगत सम्पत्तिमा ९ अर्ब डलर गुमाएका थिए । हाल उनीसँग ६३ अर्ब ८० करोड डलर नेटवर्थ रहेको छ । 

उपभोक्ता वस्तु उत्पादक कम्पनी पतञ्जलि आयुर्वेदका सह–संस्थापक आचार्य बालकृष्ण ४ अर्ब ८० करोड नेटवर्थसहित सूचीमा प्रवेश गरेका छन् । उनी विश्वका ३ सय ६५औँ धनी व्यक्ति बनेका छन् । त्यस्तै, पिरामल इन्टरप्राइजेजका अध्यक्ष अजय पिरामल र इन्फोसिसका सह–संस्थापक सूचीमा क्रमशः ४ सय ३६औँ स्थान र ९ सय ६२औँ स्थानमा परेका छन् ।