मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ ८ शनिबार १०:००:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिँदै

Read Time : > 2 मिनेट
२०७८ माघ ८ शनिबार १०:००:००

पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँ अहिले स्मार्ट भिलेजका रूपमा परिचित छ । लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ मा पर्ने समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको घलेगाउँ दुईपल्ट दक्षिण एसियाकै नमुना गाउँ घोषित हुन सफल भइसकेको छ । ‘गाउँ पर्यटन प्रवद्र्धन मञ्च’ (भिटोफ), गण्डकी प्रदेशलगायत निकायले पनि यसलाई उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको छ । ०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेको घलेगाउँ अब सुखी गाउँका रूपमा घोषणा गरिन लागेको घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले बताए । ०५७ देखि १२ घरबाट घलेगाउँमा होमस्टे सञ्चालन गरिएको थियो । घलेगाउँका एक सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ ।

होमस्टेमा आकर्षण
०५७ सालबाट होमस्टे सञ्चालनमा आएको घलेगाउँमा ४२ घरले नियमित सेवा दिइरहेका छन् । घलेगाउँमा दैनिक तीन सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष घले भन्छन्, ‘होमस्टेमा आउने पर्यटकलाई खानाका लागि स्थानीय परिकारकै प्रयोग छ, पर्यटकले प्रयोग गर्ने कोठाहरू सफा र आरामदायी छन्, सबै होमस्टेहरू मापदण्डअनुसारकै छन् ।’ न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ । गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सीधै होमस्टेका लागि पुग्ने गरेका छन् । ‘परालका गुन्द्रीमाथि गाउँमै बुनेका राडी र गलैँचामा पलेँटी मारेर पारिवारिक वातावरणमा खानपिन गर्दा साँच्चै रमाइलो अनुभूति हुन्छ,’ गोरखाका विष्णु थापाले भने, ‘अँगेनाको वरिपरि लहरै पाहुनालाई बसाएर रोजेको परिकार पकाइदिने र बात मार्दै त्यसको स्वादले कसको मन आनन्दित नहोला ।’
 
एक्काइस वर्षमा दुई लाखभन्दा बढी पर्यटक 
घलेगाउँ आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको दुई दशकको अवधिमा दुई लाख १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । उक्त अवधिमा आन्तरिक मात्रै दुई लाख पाँच हजार चार सय पर्यटक भित्रिए । पछिल्लो दुई वर्षको निषेधाज्ञापछि घलेगाउँमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ । पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घलेका अनुसार आव ०७६/७७ मा २० हजार आठ सय ८७ पर्यटक घलेगाउँ आएका थिए । आव ०७७/७८ मा १५ हजार ६ सय ६३ पर्यटक आएकामा चालू आवको पाँच महिना पुससम्म आठ हजार सात सय तीनजना पर्यटक घलेगाउँ भित्रिसकेका छन् ।
 
विदेशीको तुलनामा आन्तरिक पर्यटक बढी
घलेगाउँमा पछिल्लो समय विदेशीभन्दा आन्तरिक पर्यटकको आगमन बढी भएको पाइएकोे छ । विगतमा चिसो मौसममा पर्यटक संख्या घट्ने गरे पनि यो वर्ष भने चिसोको समयमा पनि पर्यटक आगमन संख्यामा कुनै कमी नआएको घलेगाउँ पर्यटन विकास व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घ घलेले बताए । ‘जाडो समय भए पनि घलेगाउँ आउने पर्यटकको दर बढेको छ, दैनिक डेढ सयदेखि दुई सयको हाराहारीमा आन्तरिक पर्यटक घलेगाउँ आउँछन् । बाह्य पर्यटकको आगमन भने ५ प्रतिशत मात्र छ,’ उनले भने । बेसिजनमा ५०–५० जना आउने गरे पनि सिजनमा भने दैनिक दुई सयदेखि तीन सय पर्यटक भित्रिने गरेका छन् । असोज र कात्तिक महिनामा भने घलेगाउँमा पर्यटक थामिनसक्नुभएको कार्यालय सचिव घलेले बताए ।
 
रातो जस्तामा रंगीन घलेगाउँ
 पाँच दशक पुराना टिनका छाना फेरेर राता रंगीन छानाले गाउँलाई सजाइएको छ । दुई दशकको आन्तरिक पर्यटन विकासले घलेगाउँलाई दक्षिण एसियामै नमुना ग्रामीण पर्यटकीय गाउँका रूपमा प्रख्यात बनायो । घलेगाउँ नेपालकै पहिलो स्मार्ट भिलेजका रूपमा परिचित छ । स्मार्ट भिलेज घलेगाउँका घर एकैनासले रातो रङको जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए । घलेका अनुसार स्मार्ट भिलेज गाउँका सबै घरमा एउटै रङको छानो राखिएको हो ।
 
किन जान्छन् पर्यटक घलेगाउँ ?
घलेगाउँबाट माछापुच्छे«, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनास्लु, गणेशलगायत दर्जन हिमशृंखला देख्न सकिन्छ । घलेगाउँ आउने पर्यटकलाई उनीहरूको चाहनाअनुरूप गुरुङ संस्कृति घाटु, सोरठी, कृष्णचरित्रलगायतका पौराणिक नृत्य देखाइने गरिन्छ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्य, गोर्खा आर्मी पार्क, पर्यटन संग्रहालय, रंगशालालगायतले घलेगाउँलाई आकर्षित बनाएको छ । 

मनमोहक प्राकृतिक दृश्य
निकै उचाइमा हिमशृंखलाको काखमा अवस्थित घलेगाउँको झ्यालबाटै मनोरम सेताम्य हिमालको टाकुरा देखिन्छ । गाउँको वरिपरि मनमोहक दृश्यावलोकनका प्राकृतिक हरियाली पहाड, फाँट र गहिरा खोल्साखोल्सीहरू देखिन्छन् । हरिया चियाबगान, भ्युटावर, भेडीगोठ, उत्तरकन्या मन्दिर, पोखरी र अन्य सुन्दर प्राकृतिक छटाले मन आनन्दित हुन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्धलगायतका हिमशृंखलाको मनोरम दृश्यले मोहित त्यहाँ आगन्तुक पाहुनाहरू बिहानभरि क्यामरा, मोबाइल, आइफोनमा आफ्ना तस्बिर कैद गरेरै बिताउँछन् । गाउँ नजिकै डाँडामा भ्युटावर निर्माण गरिएको छ । त्यहाँबाट सूर्योदय र सूर्यास्तको राम्रो अवलोकन गर्न सकिन्छ । गाउँबाट हेर्दा चारैतिर देखिने मानवबस्तीहरू र साँझको अँधेरीमा देखिने झिलमिल उपत्यका र नागबेली हुँदै बगेको मर्स्याङ्दी नदीको दृश्यले सबैलाई लोभ्याउँछ । लमजुङको सदरमुकाम बेँसीसहरबाट मोटरमा दुई घन्टामा घलेगाउँ पुग्न सकिन्छ ।