मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार ०८:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभा निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार ०८:३४:००

निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गर्न–गराउन मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबैलाई आग्रह गरेको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन आयोगको आग्रह छ । 

आयोगले जारी गरेको निर्वाचनसम्वन्धी स्वास्थ्य सुरक्षा मापदण्डमा मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाई मास्क लगाएर मात्र प्रवेश गर्न भनिएको छ । प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गनुपर्ने मापदण्ड छ । 

आयोगका अनुसार मतदानस्थलमा तापक्रम मापन गर्ने थर्मलगन र आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्कको व्यवस्था हुनेछ । मतदानस्थल तथा केन्द्रमा खटिने सवैले आवश्यक सामाजिक दूरी कायम गर्नुपर्नेछ ।

पूर्ण खोप लगाएका कर्मचारी तथा सुरक्षाकर्मीलाई मात्र मतदानस्थल, मतदान केन्द्र र मतगणनास्थलमा खटाइने र मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकलगायत सबैले अनिवार्य रूपमा फेससिल्ड, पन्जा र मास्क लगाउनुपर्ने आयोगले जनाएको छ ।

मतदाताले मतपत्र प्राप्त गरी गोप्य कक्षमा गई मतदान गरिसकेपछि अनिवार्य रूपमा स्यानिटाइजरको प्रयोग गर्न तथा मतदान अधिकृतले गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायत मतदान सामग्रीको अनिवार्य रूपमा निसंक्रमण गर्ने व्यवस्था मिलाउन आयोगको विज्ञप्तिमा छ ।

मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि निसंक्रमण गर्ने र मतगणनास्थलमा मतपेटिका खोल्नुअघि अनिवार्य रूपमा निसंक्रमण गर्न पनि आयोगले भनेको छ । मतदानस्थल र मतगणनास्थलमा अनावश्यक भिडभाड हुन नदिने र प्रवेशलाई कडाइका साथ नियन्त्रण गर्ने व्यवस्था मिलाउन तथा मतदानस्थलमा अनिवार्य रूपमा आवश्यक उपकरणसहितको एक एम्बुलेन्सको व्यवस्था गर्न भनिएको छ ।

प्रत्येक मतदाता मतदान केन्द्रमा प्रवेश गर्नुअघि तापक्रम जाँच गर्नुपर्नेछ । तापक्रम जाँच गर्दा मतदान केन्द्रमा मतदाताको उच्च तापक्रम देखिएमा र कोभिड–१९ संक्रमणको कुनै लक्षण देखिएमा छुट्टै व्यवस्था गरी मतदान गर्ने व्यवस्था मिलाइनेछ ।

संक्रमण देखिएका मतदातालाई मतदान गर्न छुट्टै मतपेटिका राख्न आवश्यक देखिएमा निर्वाचन अधिकृतको स्वीकृतिमा मतदान अधिकृतले छुट्टै मतपेटिकाको व्यवस्था गरी मतदान गराउन सकिनेछ । 

आयोगले कोभिड संक्रमण पुष्टि भएको मतदाता मतदान गर्न आएमा त्यस्ता मतदातालाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखी अन्यको मतदानको कार्य केही समयका लागि स्थगन गरी हातमा पन्जा, मास्क र फेससिल्ड लगाई मतदान गर्न लगाई उनीहरूले प्रयोग गरेका मतदानस्थलमा सामग्री निसंक्रमण गरी पुनः नियमित मतदानको कार्य सञचालन गर्ने व्यवस्था मिलाउन भनेको छ ।

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार निर्धारण गरेको मापदण्डसमेतको आधारमा सम्बन्धित निर्वाचन अधिकृतले मतदानस्थल तथा केन्द्रको अवस्थाअनुसार थप स्वास्थ्य सुरक्षासम्बन्धी विशेष व्यवस्था गर्न सक्नेछ । आसन्न निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न गराउन आवश्यक सहयोगका सबैसँग आयोगले आग्रह गरेको छ ।