मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रत्न प्रजापति
२०७८ माघ ६ बिहीबार ०८:०१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

स्वदेशी उत्पादनलाई प्राथमिकता

Read Time : > 2 मिनेट
रत्न प्रजापति
२०७८ माघ ६ बिहीबार ०८:०१:००

स्वदेशी उत्पादन उपयोग गर्नुपर्छ, स्वदेशी उत्पादकलाई प्रोत्साहित गर्नुपर्छ र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नुपर्छ भन्ने चेतना र जागरण जनतामा आएको दिन मात्रै ‘मेक इन नेपाल– स्वदेशी’ अभियान सार्थक हुनेछ

वैदेशिक व्यापारमा बढ्दो असन्तुलन चिन्ताको विषय बनेको छ । निर्यातको तुलनामा आयातको परिमाण अत्यधिक बढ्दा व्यापारघाटा चुलिँदो छ । व्यापारघाटा बढ्दै जाँदा अर्थतन्त्र परनिर्भर, थप कमजोर र जोखिमयुक्त बन्दै जान्छ । यसो त विश्वका कुनै पनि मुलुक सबै वस्तुका लागि पूर्ण रूपमा आत्मनिर्भर छैनन् र हुन पनि सक्दैनन् । बरु अन्तरनिर्भरचाहिँ हुन्छन् । आयात त विश्व अर्थतन्त्रमा अग्रपंक्तिमा रहेका अमेरिका र चीनले पनि गर्छन् । तर, उनीहरूको आयात र निर्यातमा सन्तुलन हुन्छ । 

नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा निर्यातभन्दा आयातको परिमाण व्यापक रूपमा बढी हुँदा अर्थतन्त्र नै परनिर्भर र कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा नेपालको कुल वैदेशिक व्यापारमा निर्यात र आयातको हिस्सा क्रमशः ८.४० प्रतिशत र ९१.६० प्रतिशत रहेको छ । चालू आर्थिक वर्ष ०७८/७९ को पहिलो पाँच महिनामा पनि निर्यात र आयातको हिस्सा क्रमशः १०.९३ प्रतिशत र ८९.०७ प्रतिशत रहेको छ । तथ्यांक हेर्दा नेपालको वैदेशिक व्यापार कहालीलाग्दो देखिन्छ । 

अर्थतन्त्रलाई मजबुत बनाउन र परनिर्भरता न्यून गर्न आन्तरिक उत्पादन वृद्धि गर्नुपर्छ । तर, आन्तरिक उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनको हाम्रो प्रयास भने टिठलाग्दो छ । राज्यका नीति, योजना र कार्यक्रमको कार्यान्वयन सन्तोषजनक ढंगले हुन नसक्दा निर्यातजन्य भनेर किटान गरिएका वस्तुको पनि सन्तोषजनक उत्पादन हुन सकेको छैन । तोकिएका केही वस्तुको निर्यात प्रवर्द्धनको नारा पनि नारामै सीमित हुन पुगेको छ । बरु ‘नेपाल व्यापार एकीकृत रणनीति २०१६’ मै निर्यातजन्य भनेर उल्लेख गरिएका कतिपय वस्तु नै उल्लेख्य परिमाणमा आयात भइरहेका छन् । रणनीतिमा कृषिजन्य क्षेत्रतर्फ अलैँची, अदुवा, चिया र औषधीजन्य जडीबुटी, औद्योगिक उत्पादनतर्फ कपडा, छाला, जुत्ता, गलैँचा, पस्मिना तथा सेवा क्षेत्रतर्फ दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि र पर्यटन गरी १२ वटा क्षेत्रलाई मुख्य प्राथमिकता दिई तुलनात्मक लाभ भएका निर्यातजन्य वस्तुका रूपमा परिभाषित गरिएको छ । 

आफ्नै देशमा उत्पादन नहुने र हुन नसक्ने वस्तुको आयात बढ्नु स्वाभाविक हो । आमउपभोक्ताको क्रयशक्ति बढेसँगै उपभोग संस्कृति पनि बढ्छ र थरी–थरीका गुणस्तरीय वस्तुको माग पनि बढ्छ । वस्तुको विविधता र गुणस्तरीय वस्तुको माग बढेसँगै त्यस्ता वस्तुको आयात बढ्नु स्वाभाविक हो । तर, स्वदेशमै उत्पादन हुन सक्ने वा हुने वस्तुको समेत अत्यधिक आयात हुनुचाहिँ विडम्बना नै हो । सन् १९५० को दशकमा युद्धले थिङ्थिलो भएको दक्षिण कोरियाको अर्थतन्त्रमा राष्ट्रपति पार्क चुङ हीले निर्यातमुखी उत्पादन नीति अँगालेर ‘इकोनोमिक मिराकल’ गरेको यथार्थलाई हामीले मनन गर्न सकेका छैनौँ ।

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने र निर्यात प्रवर्द्धनलाई टेवा दिने उद्देश्यले राज्यस्तरमा विभिन्न नीति, योजना तथा कार्यक्रम लागू नभएका होइनन् । सरकारका हरेक नीति तथा कार्यक्रम, राष्ट्रिय बजेट र आवधिक योजनामा समेत निर्यात प्रवद्र्धनलाई प्राथमिकतामा राखेको पाइन्छ । तर, प्रभावकारी कार्यान्वयनको अभावमा त्यस्ता नियमावली, नीति, योजना र कार्यक्रम कागजमै सीमित छन् । 

मुलुकको व्यापार तथा निर्यातलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित ‘व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र’समेत तथ्यांक संकलन र विश्लेषणमै अलमलिइरहँदा त्यसको औचित्यमाथि नै प्रश्न खडा भएको छ । उल्लेख्य के हो भने मुलुकमा निर्यातजन्य वस्तुको पर्याप्त उत्पादन नै हुन सकेको छैन भने गुणस्तर र प्रशोधन सुविधाको समेत समस्या रहँदै आएको छ । गुणस्तरका हिसाबले निर्यातको कुरै छोडौँ, स्वदेशी उपभोक्ताको समेत मन जित्न सकेको छैन, हाम्रो उत्पादनले । त्यसैले, विदेशी गुणस्तरीय वस्तुको आयात बढ्दो छ र तिनले स्वदेशी उत्पादनलाई मूल्य र गुणस्तर दुवैमा चुनौती दिइरहेका छन् । प्रविधिको प्रयोग र उत्पादन लागतका दृष्टिकोणले सस्तो मानिने विदेशी गुणस्तरीय वस्तुसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएकाले त्यस्ता स्वदेशी मौलिक वस्तु विस्थापनको संघारमा पुग्दै छन् । 

विद्यमान चुनौतीलाई मनन गरी आन्तरिक उत्पादनलाई प्रोत्साहित गर्दै आयातलाई प्रतिस्थापन र परनिर्भरतालाई न्यून गर्ने उद्देश्यले ‘हाम्रो सामान, हाम्रै स्वाभिमान’ नारासहित ‘मेक इन नेपाल– स्वदेशी’ नामक अभियान पनि सुरु गरिएको छ । समग्र नेपाली अर्थतन्त्रमै सकारात्मक सुधार ल्याउने ‘मेक इन नेपाल– स्वदेशी’ अभियानका लक्ष्य र उद्देश्य सकारात्मक र सराहनीय छ । तर, जनता आफैँ जागरुक नभई ती लक्ष्य र उद्देश्य पूरा हुन सक्दैनन् । स्वदेशी उत्पादन उपयोग गर्नुपर्छ, स्वदेशी उत्पादकलाई प्रोत्साहित गर्नुपर्छ र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ भन्ने चेतना र जागरण जनतामा आएको दिन मात्रै ‘मेक इन नेपाल– स्वदेशी’ अभियान सार्थक हुनेछ ।