
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर बुधबारदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भिडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजा मात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।
पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजाबाहेकका सबै धार्मिक क्रियाकलाप नेपाल सरकारको निर्णयअनुसार बन्द गरिएको उनले बताए ।
अर्को सूचना नभएसम्मका लागि पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायत भक्तजनको भिडभाड बढी हुने मन्दिरमा पनि नित्य र नैमित्तिक पूजा मात्र गरिनेछ । त्यसका अलावा अरू धार्मिक क्रियाकलाप बन्द गरिएको छ ।
वि.सं. ०७६ चैत पहिलो साता नेपालमा पहिलोपटक कोरोना संक्रमण भेटिएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । त्यसको नौ महिनापछि ०७७ पुस १ गते देखि मात्र दर्शनार्थीका लागि मन्दिर खुला गरिएको थियो । गत वैशाखमा डेल्टा भेरियन्टसहितको कोरोना संक्रमण तीव्र भएपछि दोस्रोपटक पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । त्यसपछि तिजपछि मात्र मन्दिरमा सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुला गरिएको थियो । गत असोजदेखि पशुपति क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो । रासस