१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Saturday, 05 July, 2025
जावलाखेल युथ क्लबविरुद्ध दोस्रो गोल गरेका दर्शन गुरुङ खुसी मनाउँदै । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ४ मंगलबार o८:१५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनआरटीको जितमा दर्शनको दुई गोल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ४ मंगलबार o८:१५:oo

चार मिनेटको अन्तरमा दर्शन गुरुङले दुई गोल गरेपछि एनआरटीद्वारा जावलाखेल २–० ले पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको सोमबार नवौँ चरणको अन्तिम खेलमा न्युरोड टिम (एनआरटी) ले जावलाखेल युथ क्लबलाई २–० ले पराजित गरेको छ । एनआरटीको सहज जितमा मिडफिल्डर दर्शन गुरुङले मध्यान्तरपछि दुई गोल गरेका थिए । जितका बाबजुद एनआरटी छैटौँ स्थानमा यथावत् नै रहेको छ । एनआरटीले नौ खेलमा तीन जित, चार बराबर तथा दुई हारको सामना गरेको छ । लगातार खेलमा पराजित भएको जावलाखेल आठ अंकका साथ दशौँ स्थानमा छ । 

जावलाखेलले नौ खेलमा दुई जित, दुई बराबर र पाँच हारको सामना गरी आठ अंक बटुलेको हो । नवौँ चरणको समाप्तिपछि साविक विजेता मच्छिन्द्र फुटबल क्लब २३ अंकका साथ शीर्ष स्थानमा छ । सर्वाधिक आठपटकको विजेता मनाङ मस्र्याङ्दी दोस्रो स्थानमा छ । मनाङले नौ खेलमा ६ जित, एक बराबर तथा दुई हारको सामना गरेको छ । शीर्ष स्थानको मच्छिन्द्रसँग मनाङ चार अंकले पछाडि छ । 

नवौँ चरणमा च्यासल र नेपाल पुलिस क्लबबीच खेल भएन । च्यासलका नौजना खेलाडी कोरोना संक्रमित भएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल स्थगित गरेको छ । लिगको पुछारको दुई क्लबमा च्यासल युथ र फ्रेन्ड्स छन् । फ्रेन्ड्सले अहिलेसम्म एक खेलमा जित निकालेको छैन । फ्रेन्ड्सले तीन बराबरी तथा ६ खेलमा हारको सामना गरी तीन अंक मात्र जोडेको छ । १३औँ स्थानमा रहेको च्यासल एक जितका साथ पाँच अंक जोडेको छ । 

चार मिनेटको अन्तरमा दुई गोल
जावलाखेल र एनआरटीबीचको खेल ६८औँ मिनेटसम्म गोलरहित बराबरी भएको थियो । दर्शनले खेलको ६९औँ मिनेटमा एनआरटीलाई १–० को अग्रता दिलाए । उनले स्टेफन समिरको पासमा अफसाइड बिट ट्याप गर्दै गोल गरेका हुन् । यसको चार मिनेटपछि दर्शन गुरुङ एनआरटीलाई २–० को स्थितिमा राखे । यसपटक दर्शनले गोल गर्दा जावलाखेलका दिपेन्कराज सिहंको कमजोरीमा गोल गरेका हुन् । यसअघि खेलको नवौँ मिनेटमा ओनगुना जुनियरको पासमा रूपबहादुर लामाको डिबक्सबाहिरबाट प्रहार गरेको बल क्रसबारनजिक हुँदै बाहिरिएको थियो । खेलको १३औँ मिनेटमा एनआरटीका दर्शनले राम्रो अवसर खेर फाले । 

महत्वपूर्ण तीन अंक
खेलपछि पत्रकार सम्मेलनमा एनआरटीका प्रशिक्षक जीवन सिंकेमानले जावलाखेलविरुद्ध महत्वपूर्ण तीन अंक खोसेको बताएका छन् । ‘हामीलाई तीन अंक चाहिएको थियो, जावलाखेलविरुद्धको प्रतिस्पर्धा भाइटल थियो,’ सिंकेमानले भने, ‘खेलाडीले निकै राम्रो खेले, जित निकाल्दा खुसी छु ।’ नवौँ चरणमा प्राप्त जितपछि एनआरटीको लक्ष्य शीर्ष चार रहेको उनले बताए । ‘अब हाम्रो लक्ष्य नै शीर्ष चारभित्र रही लिग समाप्त गर्ने हो,’ उनले भने, ‘यो लक्ष्य हात पार्न मिहिनेत गर्नुपर्छ । जावलाखेलका प्रशिक्षक किशोरकुमार केसीले एनआरटीविरुद्ध अंक खोस्ने योजना सफल नभएको प्रतिक्रिया दिएका छन् । ‘हामीसँग तीन अंक बटुल्ने अवसर थियो, तर खेलाडीले यसलाई सदुपयोग गर्न सकेनन्,’ जावलाखेलका प्रशिक्षक केसीले भने, ‘दोस्रो हाफमा खेल बिग्रियो, कम्तीमा जावलाखेलले एक अंक लिनुपर्ने थियो ।’

मच्छिन्द्रको प्रतिद्वन्द्वी श्रीलंकाको ब्लु स्टार
लिगको शीर्षस्थानमा रहेको मच्छिन्द्रले एसियाली फुटबलको क्लब प्रतियोगिता एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टार स्पोर्टस् क्लबसँग खेल्ने भएको छ । एसियन फुटबल महासंघ (एएफसी)ले सोमबार निकालिएको एएफसी कप छनोटको ड्रमा मच्छिन्द्रले श्रीलंकन टोली पाएको हो । मच्छिन्द्र र ब्लु स्टारबीचको खेल २२ चैतमा हुनेछ । लिगको सातौँ चरणको खेल समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने प्रावधान रहेकोमा मच्छिन्द्रले सो अवसर प्राप्त गरेको थियो ।

गत वर्ष मच्छिन्द्र नै लिग च्याम्पियन भए पनि क्लब लाइसेन्स नभएका कारण दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले नेपालको प्रतिनिधित्व गरेको थियो । मच्छिन्द्रले क्लब इतिहासमा पहिलोपटक एएफसीको आधिकारिक मान्यता प्राप्त क्लब प्रतियोगिता खेल्दै छ । मच्छिन्द्रले समूह चरणमा स्थान पक्का गर्न छनोटको तीन चरण पार गर्नुपर्नेछ । 

मच्छिन्द्रले समूह चरणमा स्थान बनाउन सके भारतको गोकुलम केराला, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजियासँग प्रतिस्पर्धा गर्नेछ । दक्षिण एसियाली राष्ट्रमा एएफसी क्लब वरीयता अंकअनुसार भारत, बंगलादेश र माल्दिभ्सले सीधै समूह चरणमा स्थान बनाएका छन् । नेपाल, श्रीलंका र भुटानको अंक कम रहकाले छनोट चरण खेल्नुपर्ने बाध्यता छ । नेपालबाट मनाङले पछिल्लोपटक लिग च्याम्पियनको हैसियतमा २०१९ मा एएफसी कपको समूह चरणमा प्रतिस्पर्धा गरेको थियो । मनाङले २००६ र २०१४ को एएफसी प्रेसिडेन्ट्स कपमा देशको प्रतिनिधित्व गरेको थियो ।