निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
अनुपमा चोपडा
२०७८ माघ ४ मंगलबार ०७:४६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हिन्दी फिल्ममाथि हाबी हुँदै छ तेलगु फिल्म

Read Time : > 2 मिनेट
अनुपमा चोपडा
२०७८ माघ ४ मंगलबार ०७:४६:००

आमदर्शकले हिन्दी फिल्मलाई सुकिलामुकिलाले हेर्ने फिल्मका रूपमा बुझ्न थालेका छन्


केही साताअघि सार्वजनिक भएको तेलगु फिल्म ‘पुष्पा’को हिन्दी संस्करणले ८० करोड कमायो । यो कमाइले फिल्म व्यापारको विश्लेषण गर्नेहरूलाई समेत स्तब्ध बनायो । कसैले पनि फिल्मको हिन्दी संस्करणले यति धेरै कमाइ हुने कल्पनासमेत गरेका थिएनन् । हलमा आउनुअघि हिन्दीभाषी दर्शकमाझ ‘पुष्पा’को मार्केटिङ भएको थिएन । फिल्मका स्टार अल्लु अर्जुनले रिलिजअघि हिन्दीभाषी दर्शकलाई ध्यानमा दिएर अन्तर्वार्तासमेत दिएनन् । हिन्दीभाषी भेगका फिल्म वितरकहरू पुष्पालाई हिन्दीमा रिलिज गर्न अनिच्छुक रहेको चर्चा थियो । 

यद्यपि, फिल्म कुनै न कुनै रूपमा हिन्दी भेगका हलहरूमा सार्वजनिक भयो । त्यसपछि फिल्मले हलमा देखाएको चमत्कार सबैसामु प्रस्ट छ । दक्षिण भारतमा बनेर हिन्दीमा डब भएका फिल्मले पछिल्लो समय निकै सफलता पाउन थालेका छन् । दक्षिणी भारतीय फिल्ममध्ये तेलगु फिल्महरूले समग्र भारतीयलाई आकर्षित गर्न थालेका छन् ।

हर्मिन्दर सन्धुजस्ता फिल्म ट्रेडका विज्ञका अनुसार हिन्दी सिनेमाबारे फरक धारणा निर्माण भएको छ । आमदर्शकहरू प्रायः हिन्दी फिल्मलाई सुकिला–मुकिलाले हेर्ने फिल्मका रूपमा बुझ्न थालेका छन् । अर्थात् यी फिल्मले आममानिसको कथा नभन्ने आमबुझाइ बनेको छ । यसले गर्दा फिल्मकर्मी पनि मध्यम वर्गको कथा भन्न आवश्यक नरहेको मान्न थालेका छन् । 

हर्मिन्दरका अनुसार फिल्मको व्यापारमा स्पष्ट रूपमा माग र आपूर्तिको प्रभाव पनि छ । यदि हिन्दी फिल्मकर्मीले सबैलाई ठीक हुने मसला फिल्म दिएनन् भने अरू क्षेत्रका फिल्मकर्मीले त्यस्ता फिल्म आपूर्ति गर्नेछन् । यही कुरा अहिले पुष्पासँग देखिएको छ । वितरक अक्षय राठीका अनुसार वर्षौंदेखि तेलगु फिल्महरू उच्चस्तरका देखिन थालेका छन् । ती फिल्म मसालेदार र बहुविधागत हुन्छन् । अर्थात्, ती फिल्ममा रोमान्स, एक्सन, कमेडी, वियोग, पारिवारिक ड्रामा सबै हुन्छन् र यस्ता फिल्मलाई आमदर्शकले मन पराउँछन् ।

पहिलेका परम्परागत हिन्दी चलचित्रहरू पनि मसलेदार हुने गर्थे । आजकल यस्ता फिल्म दक्षिण भारतीय फिल्म उद्योगले धेरै बनाउने गरेको छ । ती फिल्मका हिन्दी संस्करण टिभीमा निकै लोकप्रिय छन् । यसैले गर्दा दक्षिण भारतीय फिल्मस्टार अल्लु अर्जुन, तेजा रामचरण, जुनियर एनटीआर आदिको हिन्दीभाषी भेगमा धेरै राम्रो फ्यान–फलोइङ छ । जबकि यी स्टारमध्ये अधिकांशले अहिलेसम्म कुनै पनि हिन्दी फिल्ममा काम गरेका छैनन् । 

हिन्दीभाषी सिनेमाहरू बहुविधागत बन्न नसक्ने हुन् ? के हिन्दीभाषी सिनेमाका निर्देशकले आमदर्शक तान्ने (मास इन्टरटेनर) फिल्म बनाउन बिर्सेका हुन् ? के उनीहरूको दिमागबाट बहुविधाका चलचित्रप्रतिको चाख हटेको हो ? बहुविधागत फिल्महरू त्यस्तो थालीजस्तै हुन्, जसमा विभिन्न प्रकारका कचौरा र फरक–फरक स्वाद हुन्छन् । अमिलो, मिठो, मसलेदार सबै प्रकारका परिकार एउटै थालमा पाइन्छन् । 

विगतमा बन्ने परम्परागत हिन्दी फिल्मले त्यस्तै प्रकारको थाली अनुभव गराउँथे । ती फिल्ममा सबै प्रकारका रस भेट्न सकिन्थ्यो । तर, पछिल्ला दश–पन्ध्र वर्षमा बलिउडका धेरैजसो निर्देशक बहुविधागत चलचित्र बनाइरहेका छैनन् । बलिउडमा फिल्मको समग्रता एउटै विधाको हुने फिल्म बन्न थालेको छ । जस्तो फिल्ममा या त रिभेन्ज ड्रामा हुन्छ, या त हरर कमेडी । तिनमा सबै भाव भेटिँदैन ।

बलिउडका फिल्मकर्मीले एउटै टोनका फिल्म बनाएर विगतको समग्र भारतलाई तान्न सक्ने शक्ति गुमाउँदै त छैनन् ? यद्यपि यस प्रश्नको जवाफ स्पष्ट छैन । तर, मलाई लाग्छ कि तेलगु सिनेमाले समग्र भारतले रुचाउने फिल्म बनाउने जुक्ति पहिचान गरेको छ । उनीहरूले बनाउने बहुविधागत फिल्महरू विभिन्न भाषामा डब हुन्छन् । ती डब संस्करण पनि धेरैले मन पराउँछन् । तिनले उल्लेख्य दर्शक पाइरहेका छन् । दक्षिण भारतीय फिल्मका स्टारहरूले फिल्ममा जे पनि गर्न सक्ने देखाइन्छ र वास्तविक जीवनमा तिनको फ्यान फलोइङ बलियो बनेको छ । 

त्यस्ता फिल्मका दर्शकको हिन्दी सिनेमाले ख्याल नगरेको स्पष्ट छ । निश्चित रूपमा मसलेदार फिल्ममा समस्या छ । र, यस्ता फिल्म पूरा आस्थाका साथ बनाइएन भने ती सफल हुन सक्दैनन् । मलाई सम्झना छ, नसिरुद्दिन शाहले मसँगको कुराकानीमा व्यापारिक फिल्ममा विश्वास नभएकाले आफू त्यस्ता फिल्ममा अमिताभ बच्चनजत्तिकै सफल हुन नसकेको बताएका थिए । अर्थात्, उनलाई व्यापारिक फिल्ममा आफू सफल हुन सक्छु भन्ने विश्वास नै थिएन । उनले आफूलाई त्यस्तो फिल्मका दृश्यहरू पूर्ण विश्वाससाथ गर्न सक्छु भन्ने आश्वस्त पार्न सकेनन् । रोहित सेठ्ठी, फराह खान, मिलप झवेरीजस्ता फिल्म निर्देशक अझै पनि मसलेदार फिल्म बनाइरहेका छन् । थप हिन्दी फिल्मका निर्देशकले शतप्रतिशत ढुक्क भएर यस्ता फिल्म बनाउन सक्छन् कि भनेर हेर्ने बाँकी छ । भास्करबाट