१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
कैलालीको गौरीफन्टा नाकाबाट दैनिक सयौं नेपाली किनमेलका लागि सीमानजिकका बनगावा र पयिला बजार पुग्छन् ।
२o८१ बैशाख २१ शुक्रबार o८:५८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जानेको भिड

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५८:oo

भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेका वेला सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जानेको भिड लाग्ने गरेको छ । त्रिनगर भन्सार नाका भएर दैनिक सयौँ नेपाली किनमेलका लागि सीमानजिकका बजार बनगावा र पलिया पुग्ने गरेका छन् ।

दैनिक उपभोग्य सामग्री किन्न जानेको भिडले कोरोना संक्रमणको जोखिम बढाएको छ । बनगावा र पलियामा किनमेल गर्न जाने नेपालीको घुइँचो नै हुन्छ । त्यसरी जानेहरूको रेकर्ड राख्ने गरिएको छैन । नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार दैनिक दुई–तीन सयजना किनमेलका लागि सीमावर्ती बजार पुग्ने गरेका छन् । ‘चाडवाड भएकाले अस्तिसम्म दैनिक ५–६ सयजना जाने गर्थे, हिजोआज पनि सामान किनेर फर्कने गरी दिनमा दुई–तीन सयजति भारतीय बजार जान्छन्,’ नाकामा खटिएका सशस्त्र प्रहरीका असइ प्रेम खत्रीले भने, ‘किनमेल गर्न जानेको रेकर्ड राख्ने गरेका छैनौँ ।’

धनगढी बजारमा किनमेल गर्न आउने भारतीयको संख्या पनि उत्तिकै छ । यहाँका बजारमा किनमेल तथा नजिकका पर्यटकीयस्थलमा घुमघाम र धार्मिक यात्राका लागि दैनिक एक–डेढ सय भारतीय आउने गरेका छन् । नेपालीहरू चिनी, तेल, दाललगायत दैनिक उपभोग्य अन्य घरायसी प्रयोगका सामान किन्न सीमावर्ती भारतीय बजार पुग्ने गर्छन् । भारतीयहरू भने उनीहरू चिसोमा तयारी कपडा किन्न यहाँ आउँछन् । यसरी आउने–जानेको न कोरोना परीक्षण हुन्छ, न उनीहरूले खोप लगाए÷नलगाएको हेरिन्छ । निर्वाध ओहोरदोहोर हुँदा कोरोना संक्रमण फैलने जोखिम बढेको छ । नाकामा व्यवस्थित नगर्दा संक्रमण समुदायस्तरमै पुग्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । त्यसरी आउन–जान रोक्नुपर्ने उनीहरूको सुझाव छ ।

‘भारतीय बजारमा किनमेल गर्न जानेहरू पनि संक्रमण भित्रिने जोखिम उच्च छ । उनीहरूको परीक्षण पनि नहुने भएकाले संक्रमण सीधै परिवार र समुदायमा पुग्न सक्छ,’ नाकामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले भने, ‘यसतर्फ पनि सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’ रोजगारीका लागि फर्केकाहरूको भने सकेसम्म सबैको स्वास्थ्य परीक्षण गर्ने गरिएको उनले बताए ।

सीमावर्ती भारतीय क्षेत्रबाट काम गर्न आउने मजदुरमा पनि संक्रमण देखिन थालेको छ । संक्रमण देखिएकालाई फिर्ता पठाउने गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । कैलालीमा गाडीका ग्यारेज, इँटा उद्योगलगायत क्षेत्रमा सयौँ भारतीय मजदुर कार्यरत छन् । भारतीय बजारमा दैनिक ठूलो संख्यामा नेपालीहरू किनमेलका लागि जाँदा संक्रमण ल्याएर आउन सक्ने जोखिम भए पनि नाका बन्द गर्ने विषय संघीय सरकारको भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

नाकाबाटै सम्पर्कविहीन हुन्छन् संक्रमित

कोरोना पोजेटिभ देखिएकाहरू सीमानाकाबाटै भाग्न थालेका छन् । त्रिनगर भन्सार नाकामा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएकाहरू सम्पर्कविहीन हुने संख्या बढ्दो छ । भारतबाट फर्केनेको संख्या बढेसँगै संक्रमण फेला पर्ने दर पनि केही दिनयता तीव्र रूपमा बढिरहेको छ । 

भिड बढेका वेला संक्रमण देखिएका सम्पर्कविहीन हुने गरेका त्रिनगनर नाकाको हेल्थ डेस्कका इन्चार्ज अहेव गणेश साउदले बताए । ‘दैनिकजसो १०–१५ जना सम्पर्कविहीन हुन्छन्,’ उनले भने, ‘भिडभाड धेरै हुन्छ, यत्रो भिडमा को कतिवेला छलेर जान्छ थाहै हुँदैन ।’ त्यसरी जानेहरू सार्वजनिक यातायातमै घर जान सक्ने भएकाले संक्रमण फैलने जोखिम बढेको उनले बताए । कतिपय रिपोर्ट आउनुअघि नै र कतिपय रिपोर्ट लिएर सम्पर्कविहीन हुने गरेका स्वास्थ्यकर्मीले बताएका छन् । 

त्रिनगर नाकामा एन्टिजेन जाँच गर्ने स्थाननजिकै पोजेटिभ देखिएकालाई तत्काल राख्न त्रिपालको टेन्टभित्र बस्ने व्यवस्था गरिएको छ । भारतबाट फर्कनेको भिड बढेका वेला टेन्टको छेउसम्मै परीक्षण गर्नेहरूको लाइन लाग्छ । भिड बढ्न थालेसँगै संक्रमितहरू बेपत्ता हुने क्रम बढेको हो ।

भारतबाट फर्कनेको घुइँचोले नाकामा व्यवस्थापन अस्तव्यस्त छ । परीक्षण नगरी जानेको संख्या पनि उत्तिकै छ । नाकामा सुरक्षाकर्मीको संख्या कम हुँदा भिड व्यवस्थापन गर्न र संक्रमितलाई रोकेर राख्न हम्मेहम्मे भइरहेको देखिन्छ । त्रिनगर नाकामा सडकभन्दा केही तल त्रिपालको टेन्ट बनाएर एन्टिजेन परीक्षण गर्न हेल्थ डेस्क राखिएको छ । कतिपय व्यक्ति परीक्षण नगरेरै गइरहेका छन् ।

डेस्कमा भिड व्यवस्थापनमा दुईजना मात्रै सुरक्षाकर्मी खटिने गरेकाले व्यवस्थापनमा समस्या भइरहेको अहेव साउदले बताए । ‘दुईजनाले भारतबाट आउनेको लाइन व्यवस्थापन गर्ने कि पोजेटिभ देखिएकालाई रोकेर राख्ने,’ उनले भने, ‘लाइन व्यवस्थापनमा रेडक्रसका स्वयंसेवक पनि खटिएका छन्, तर धेरैले प्रहरीबाहेक अरूलाई टेर्दैनन् ।’ यात्रु पाउने आसमा नाकासम्मै पुग्ने रिक्साचालकले पनि संक्रमितलाई भगाउन मद्दत गर्ने गरेका उनले बताए । 

नाकामा एन्टिजेन पोजेटिभ देखिएकालाई धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ । संक्रमित बोक्न एउटा एम्बुलेन्स खटाइएको छ, तर आइसोलेसनमा जानेको संख्या न्यून छ । कतिपय घरमै आइसोलेसनमा बस्ने भनेर जाने गर्छन् । कैलाली, कञ्चनपुर घर भएका संक्रमितलाई सम्बन्धित वडाको सिफारिसमा घर पठाउने गरिएको छ । त्यसरी जान चाहनेलाई निजी गाडीमा मात्र जान दिने गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । तर, उनीहरू कसरी गए र घरमा आइसोलेसनमा बसे÷बसेनन्, त्यसको जानकारी कुनै निकायमा छैन ।  

ad
ad