निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
डा. शेरवहादुर पुन
२०७८ माघ २ आइतबार १९:२९:००
Read Time : > 4 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

ओमिक्रोन जुन गतिमा फैलिएको छ त्यति नै छिटो नियन्त्रण पनि हुन सक्छ (भिडियो)

Read Time : > 4 मिनेट
डा. शेरवहादुर पुन
२०७८ माघ २ आइतबार १९:२९:००

हाल कोरोनाको तेस्रो लहर अर्थात् ओमिक्रोन संक्रमण समुदायस्तरमै पुगेको देखिन्छ। यो हिजोभन्दा आज र आजभन्दा भोलि बढ्ने क्रममा छ। सरकारले जाँच गरिएकामध्ये २२ प्रतिशतमा ओमिक्रोन संक्रमण देखियो भनेर जुन समयमा तथ्यांक सार्वजनिक गर्‍यो त्यतिवेला म आश्चर्य भएको थिएँ। किनभने हामीले ओमिक्रोन यति छिटो फैलिएला भनेर सोचेका पनि थिएनौँ। तर, त्यतिञ्जेलसम्म हाम्रो समुदायमा ओमिक्रोन सल्बलाइसकेको रहेछ। सायद डेल्टा र ओमिक्रोन सँगसँगै फैलिएका हुनुपर्छ। 

जब हामीले ओमिक्रोनको त्रास मान्दै केही परीक्षण दायरा बढायौँ र सशंकित भयौँ त्यतिवेला त ओमिक्रोन सोचेभन्दा धेरै फैलिएको पाइयो। यद्यपि पछिल्लो समय मानिसहरू जुन समस्या वा लक्षण बोकेर अस्पताल आएका छन्, त्यो समस्याचाहिँ पहिलेजस्तो कडा र अतालिनुपर्ने जस्तो देखिएको छैन। मन्द ज्वरो आएजस्तो हुने, रुघाखोकी लाग्ने, घाँटी, टाउको, ढाड दुख्ने, थकान महसुस हुने यस्तै कमन कोल्ड लक्षण लिएर मानिसहरू अस्पताल वा पिसिआर गर्न आएका छन्। यो लक्षण ओमिक्रोनको हो। यसबाहेक वाकवाक् र  पखाला लाग्ने लक्षण पनि ओमिक्रोन संक्रमितमा देखिएको पाइन्छ।

तेस्रो लहरमा संक्रमित हुन पुगेकाहरू अघिकांश घरमै छन्। परिवारका धेरै समस्यालाई लक्षण देखिएको हामीले थाहा पाएका छौँ। यसरी सरसर्ती हेर्दा ओमिक्रोन समुदायसम्म पुगेको मान्न सकिन्छ। तर जुन वेला ओमिक्रोनको तथ्यांक सार्वजनिक भएको थियो त्यतिवेला २२ प्रतिशतमा ओमिक्रोन देखिँदा पनि अस्पतालमा चहलपहल भने थिएन। भारतमा बढ्दै गएको अवस्था थियो, त्यतिवेला मानिसहरू सशंकित भएर परीक्षण गर्न आउन थाले, त्यसपछि यो संख्या हवात्त बढेको देखिन्छ। 

संक्रमितमध्ये अधिकांश खोप लगाएकाहरू भए पनि उनीहरूको आफ्नो घरको अन्य सदस्यमा संक्रमण देखिने डरमा पिसिआर गर्न आएको देखिन्छ। आफूले आफूलाई आइसोलेट गर्नको लागि पनि केही मानिसहर पिसिआर गर्न आएको देखिन्छ। अहिले देखिएका कोरोनाका बिरामीमा लामो समयसम्म अक्सिजनको कमी भएको देखिन्न। संक्रमितमध्ये अस्पताल जाने सम्भावनामा निकै कमी देखिएको छ। अस्पताल गए तापनि लामो समयसम्म अक्सिजनको कमी नहुने अवस्था देखिन्छ। त्यस्तै, दुई तीन दिनभित्र लक्षण मुक्त भएको पाइन्छ। त्यसकारण ओमिक्रोन ज्यादै खतरा हो भन्ने लाग्दैन।

खोपमा अर्जुनदृष्टि चाहिन्छ
हाल अधिकांशले खोपको दुवै डोज लगाएकोले केही सहज भएको मानिन्छ। पहिले जस्तो अक्सिजनको कमी, बेड नपाएर उपचार हुन कठिन हुने जस्ता अवस्था अब देखिन्न भन्ने हाम्रो आकलन छ। तर यो भन्दै गर्दा जति पनि यसबारे जानकारी आएका छन् र अध्ययन भएका छन् त्यसको आधारमा भन्दा खोप नलगाएकाहरूमा बढी समस्या आएको देखिन्छ। यही कुरालाई मध्यनजर गरेर हाम्रो स्वास्थ्य प्रणालीमा चाप हुन नदिनको लागि खोपमा अर्जुनदृष्टि हुनुपर्छ। 

त्यस्तै जो कमजोर हुनुहुन्छ। पहिलेदेखि नै संक्रमित हुनबाट बचिरहरनुभएको छ। उहाँहरूले यदि खोप लगाउनुभएको छैन भने ओमिक्रोनले उहाँहरूलाई दुःख दिन सक्ने सम्भावना देखिन्छ। खोप लगाएका व्यक्ति संक्रमित भए पनि गम्भीर हुन्छन् भन्ने लाग्दैन। अपवादको रूपमा चाहिँ भन्न सकिन्न।  

सरकारले अझै पनि खोपलाई अभियानको रूपमा लैजानुपर्छ। अहिले खोप बाध्यकारी पनि बनाइएको छ। विभिन्न सेवा लिनको लागि खोप कार्ड अनिवार्य गरिएकोले मानिसहरू खोप लगाउन आएको देखिन्छ। त्यसकारण पनि खोप केन्द्रमा भिडभाड बढेको हो। तर खोप लगाउन वा पिसिआर गर्न आउँदा पनि ख्याल गर्नुपर्छ। खोप लगाउन वा पिसिआर गर्न आउँदा कोरोना सारेर जाने अवस्थाचाहिँ आउन दिन्नु हुन्न। 

सरकारले गरेको पूर्वतयारीको कुरा गर्ने हो भने हामीले पहिलो र दोस्रो लहरबाट सिकेनौँ कि भन्ने लाग्छ। दोस्रो लहरमा हामीले खोप सुरु गर्दा धेरै संक्रमित भएर र धेरैको ज्यान पनि गयो। खोप केन्द्रमा जाँदा भिड भएकोले संक्रमण फैलिन सक्ने डर देखिन्छ। तसर्थ स्वास्थ्य मापदण्ड पालना गरेर खोप लगाउन सक्यौँ भने हामीले ओमिक्रोन भेरियन्टसँग जुध्न सक्छौँ। 

अहिले संक्रमित भएकामध्ये खोप लगाएर र नलगाएका दुवै प्रकारका छन्। खोप लगाउनुको अर्थ कोरोना नै नलाग्नु होइन। यसको अर्थ कोरोना लागेर गम्भीर र मृत्यु हुने सम्भावनालाई धेरै कम गर्नु हो। यद्यपि यसमा अपवाद रहन्छ। खोप लगाए पनि संक्रमित भइन्छ, तर के बुझ्न पर्यो भने खोप लगाउँदा अस्पताल जानुपर्ने, आइसियू र भेन्टिलेटरमा बस्नुपर्ने अवस्था लगभग नआउन सक्छ। खोपले यस्तो जटिन अवस्थामा पुग्न दिँदैन भन्ने हाम्रो अनुभव र अनुसन्धानले पनि बताउँछ। सरकारले आफ्नो स्वास्थ्य प्रणाली लै ध्वस्त हुनुबाट रोक्नको निम्ति खोपको पर्याप्त व्यवस्था गर्न सक्नुपर्छ।

आवश्यक मात्रामा अस्थायी संरचनामा बनेनन्
ओमिक्रोनको हालको अवस्था हेर्दा र अरू देशको अध्ययन गर्दा अहिलेको जुन स्वास्थ्य प्रणाली छ त्यसले नथेग्ने जस्तो देखिँदैन र अहिले नै स्थायी संरचना बनाएर उपचार दिन सकिने अवस्था रहन्न। तर कोरोनासँग जुध्न अस्थायी संरचनाचाहिँ चाहिन्छ। यो हामीले पहिलेदेखि नै भन्दै आइरहेका छौँ। तर दुर्भाग्यवश त्यस्तो किसिमको तयारी भएको देखिन्न। अहिलेको लागि जुन अवस्था सिर्जना भएको छ यो अवस्थामा संक्रमित थपिने क्रम बढेको छ। विभिन्न देशको अवस्थालाई आधार मान्दा पनि नेपालमा केही समय संक्रमितको संख्या बढ्छ। तर यो जति छिटो फैलन्छ त्यति छिटो नियन्त्रण भएको अध्ययनबाट देखिन्छ। 

सरकारको तयारीमा कमी  
सरकारले यसअघि नै अस्थायी संरचना बनाउनुपर्ने थियो। तर फेरि पनि कोरोना बढ्न वा संकटकालीन अवस्था आउन सक्छ भनेर सरकारले संरचना विस्तार गरेको पाइन्न। पहिलो र दोस्रो लहरमा देखिएका कमकमजोरीको अझै पनि समीक्षा गर्न जरुरी छ। अहिले धेरै मानिस संक्रमण भएकोले यो संख्या बढ्ने देखिन्छ। त्यसकारण सरकारले पूर्वतयारीबारे सोच्नैपर्छ। स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने आगमी ३/४ हप्तामा ओमिक्रोन संक्रमण ओरालो लाग्न सक्छ। 

लकडाउनको आवश्यकता देखिन्न
अहिले धेरै मानिस संक्रमित भइसकेको भन्ने कुरा तथ्यांकले देखाउँछ। त्यसकारण सरकारले कडा लकडाउन वा निषेधाज्ञा गर्न आवश्यक छ जस्तो देखिन्न। तर दुइटा समुदायबीच भने चेनब्रेक गर्न आवश्यक छ। त्यो भनेको समाजबीचमा भौतिक दूरी कायम गर्नु हो। तर लकडाउन नै गर्नुपर्छ भन्ने आवश्यकता देखिन्न। 

परीक्षण खुला हुनुपर्दछ
कोरोना परीक्षण खुला नै हुनुपर्छ। हाल संक्रमितको लहरलाई मैले दुई खण्डमा छुट्याएको छु। एक घरमा बस्ने संक्रमितको लहर, दुई अस्पताल आउने संक्रमितको लहर। मलाई लाग्छ ओमिक्रोनको विशेषता यही हो। यो बिजुलीगतिमा छिटो फैलिएको देखिन्छ। त्यही अनुपातमा अस्पताल जाने र मृत्यु हुनेको बढेको संख्या देखिन्न। दैनिक ४/५ सय संक्रमित हुँदा पनि मृत्यु हुनेको संख्या १/२ जना थियो भने अहिले संक्रमित झन्डै पाँच हजार पुग्न लाग्दा मृत्युदर र अस्पताल जानेको संख्या कम छ। त्यसकारण अहिले सरकारले खोपमै बढी ध्यान दिनुपर्छ। खोप लगाएपछि अस्पताल जानेको संख्या थप कमी आउन सक्छ। 

ओमिक्रोनले फोक्सोमा जटिल समस्या पार्दैन
ओमिक्रोनले श्वासप्रश्वासको माथिल्ला भागमा असर पारेको देखिए पनि  फोक्सासम्म यसले त्यति असर पारेको देखिन्न। यो अध्ययनहरूले देखाएको कुरा हो। यो भेरियन्ट अली कमजोर र मन्द देखिन्छ। यो अनुसन्धानले पनि देखाएको हो र लक्षणले पनि देखिएको पाइन्छ। तर खोपलाई निरन्तर नदिने र भिडभाड गर्ने हो भने यो अवस्था भयावह नहोला भन्न सकिन्न। 

बुस्टर डोजको अर्थ र आवश्यकता 
बुस्टर डोज किन दिनुपर्यो सवाल संसारभर एकताका उठेको पाइन्छ, नेपालमा पनि उठिरहेको छ। यसबारेमा खास अर्थ के हो भने हामीले दुई मात्र पूर्ण खोप वा जोनसोन एन्ड जोनसोनको हकमा एक खोपलाई पूर्ण खोप भनिएको छ, यसको स्तर वा एन्टिबडी खस्कन सक्छ भनिएको छ। जब यो खस्कन थाल्छ तब यसलाई खस्कन नदिन र ‘बुस्टअप’ गर्नको लागि अर्को ‘एक थप्ने’लाई बुस्टर भनिन्छ। त्यस्तै, अतिरिक्त भनेको दुइटा लगाउँदा पनि अपुग हुने रहेछ र त्यसलाई थप दिनुपर्ने भएकोले अतिरिक्त भनिएको हो। 

बुस्टर डोजको आवश्यकता वा अनावश्यकता भन्ने विषयमा संसारमा सवाल उठिरहेको वेला धेरै मुलुकहरूले बुस्टर खोप लगाइसकेका छन्। अहिले कोरोनाको भेरियन्ट परिवर्तन भइरहेकोले र खोपको सक्रियता बढाउनको लागि बुस्टर खोप लगाउन थालिएको पाइन्छ। अमेरिका र युरोपमा बुस्टर डोज प्राथमिकताका साथ लगाउन थालिएको छ। ५/६ महिनामा एन्टिबडीको अवस्था खस्न सक्ने अनुसन्धानले  देखाइसकेको छ। त्यसकारण त्यसलाई खस्कन नदिन बुस्टर डोज वा अतिरिक्त खोप लगाउनुपर्ने देखिएको हो। अर्कोतिर एक डोप पनि लगाउन नपाएकालाई हेरेर बुस्टर डोज लगाउन सकिन्छ। 
(सरुवा रोग विशेषज्ञ डा.पुनसँग शिवहरि घिमिरेले गरेको कुराकानीमा आधारित)