१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २ आइतबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २ आइतबार १o:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालले अफगानिस्तानलाई पठायो सहायता सामग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २ आइतबार १o:१८:oo

नेपालले अफगानिस्तानका नागरिकका लागि औषधि, लत्ताकपडासहितका मानवीय सहयोग पठाएको छ। सहयोग लिएर परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालसहितको टोली आइतबार बिहान हिमालयन एयरलाइन्सको चार्टर्ड उडानबाट काबुल प्रस्थान गरेको छ। 

नेपाल सरकारले तालिबान नेतृत्वको सरकारलाई मान्यता नदिएका कारण सहसचिव लम्सालले काबुलस्थित संयुक्त राष्ट्रसंघीय अधिकारीलाई मानवीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम छ। 

त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूचीअनुसार सहायता सामग्री रहेको बताए। औषधि, लत्ता कपडा, भाँडाकुँडालगायतका सामान रहेको उनले बताए। खाद्यान्नबाहेक यी सामग्री करिब १४ टन रहेको जानकारी मन्त्री खड्काले जानकारी दिए। नेपालले पहिलोपटक हवाईजहाजमार्फत अन्य मुलकलाई सहायता पठाएको उनले बताए।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक रहेको अफगानिस्तान तालिबानले शासनसत्ता सम्हालेपछि संकटमा छ। टोलीमा पाकिस्तानका लागि पूर्वराजदूत रहेकी लम्साल, परराष्ट्रका अधिकारी र केही सञ्चारकर्मी रहेका छन्। हिमालयन एयरलाइन्सबाट आइतबार काबुल प्रस्थान गरेको टोली आज साँझ स्वदेश फर्किनेछ। 

नेपालका उद्योगी–व्यवसायीले काबुल पठाउने मानवीय सहायता सामग्री उपलब्ध गराएका हुन्। यसमा संयुक्त राष्ट्र संघ, महावाणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको सहयोग रहेको परराष्ट्रमन्त्री खड्काले बताए। 

अफगानिस्तानका आधाभन्दा बढी जनसंख्या भोकमरीको चपेटामा परेको अन्तर्राष्ट्रिय संगठनहरूले भन्दै आएका छन्। छिमेकी भारत, पाकिस्तानलगायत मुलुकले काबुलमा मानवीय सहायता उपलब्ध गराउँदै आएका छन्। गत अगस्ट १५ मा अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि अफगानिस्तानमा आर्थिक तथा मानवीय संकट बढेर गएको छ।