१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २ आइतबार ०६:१७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विशेषज्ञ चिकित्सकसँग प्रधानमन्त्री देउवाको छलफल : परीक्षणको दायरा बढाउन र  प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पताल बनाउन सुझाव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २ आइतबार ०६:१७:००

आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज दिइने

काठमाडौं महानगर र बुढानीलकण्ठमा बढी संक्रमित

विशेषज्ञ चिकित्सकहरूले तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रणमा लिन परीक्षणको दायरा बढाउन र काठमाडौं उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पताल बनाउन सुझाव दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा सहभागी चिकित्सकहरूले आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्ति व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणबारे छलफल गरेका थिए । सहभागी चिकित्सकले नेपालमा कोरोना संक्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको संक्रमणदरलाई कसरी रोक्ने भन्ने विषयमा सुझाव दिएका थिए । तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन चाल्नुपर्ने कदमबारे चिकित्सकले ध्यानाकर्षण गराएका थिए ।

चिकित्सकहरूले लकडाउन गर्नुपरे पनि देशव्यापी रूपमा नभई स्मार्ट लकडाउनका रूपमा गर्न सकिने सुझाव राखेका थिए । कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाउनुपर्नेमा उनीहरूको जोड थियो । खोप लगाउने क्रममा देखिएको भिड कम गर्न चिकित्सकको सुझाव छ । जनस्वास्थ्यका मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव थियो । 

पछिल्ला केही दिनयता संक्रमितको उपचारमा संलग्न चिकित्सकसमेत संक्रमणको मारमा परेका छन् । त्रिवि शिक्षण र वीरलगायत अस्पतालका स्वास्थ्यकर्मीमा ठूलो संंख्यामा कोरोना संक्रमण देखिएको छ । केही अस्पतालका चिकित्सक, नर्समा संक्रमण देखिएको, जनशक्ति अभाव भएको, दक्ष जनशक्तिको अभाव कसरी पूरा गर्ने र स्वास्थ्यकर्मीको स्वास्थ्य स्थितिलाई कसरी मजबुत बनाउने भन्नेबारे चिकित्सकहरूले सुझाव दिएको छलफलमा सहभागी पाटन अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले बताए । 

अनावश्यक भिडभाड नगर्ने, अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन भनिरहे पनि अझै पनि भिडभाड देखिएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका थिए । सरकारले जारी गरेका आदेशको कार्यान्वयन गर्न क्रियाशील हुनुपर्ने उनीहरूको सुझाव थियो । 

एमालेले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री शेरबहादुर देउवाले भने– कोभिड– १९ नियन्त्रणका लागि तेरो पार्टी, मेरो पार्टी नभनी सबै एकजुट हुनुपर्छ

प्रमुख विपक्षी दल एमालेले कोभिड नियन्त्रण, रोकथाम र उपचारमा उच्च प्राथमिकताका साथ सरकारले गर्नुपर्ने कामबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार सरकारी निवास बालुवाटारमा भेटेर एमालेले कोभिड नियन्त्रणमा देखिएका कमजोरी तत्काल सुधार गर्न आग्रह गरेको छ । 

एमालेको बुझाइमा कोभिड नियन्त्रणमा सरकारले विभिन्न कमजोरी गरेको छ । उपाध्यक्ष सुवास नेम्वाङ र सचिव योगेश भट्टराईले पार्टीका तर्फबाट ध्यानाकर्षणपत्र बुझाउँदै दुई चरण खोप लगाइसकेका सबै नागरिकलाई अविलम्ब बुस्टर खोप उपलब्ध गराउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् । 

प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार खोप नलगाएको विषयमा समेत गम्भीर ध्यानाकर्षण गराएको छ । ‘खोपको पर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको । पहिलो र दोस्रो खोप लगाएकालाई अविलम्ब बुस्टर खोप उपलब्ध गराउनुपर्ने काम हुन नसकेको’ भन्दै एमालेले सरकारको कमजोरी औँल्याएको छ ।

त्यस्तै, सबै पालिकामा जनस्वास्थ्य निरीक्षकको व्यवस्था नभएको, नेपाल–भारत सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा टेस्टिङ र होल्डिङ सेन्टरको व्यवस्था नभएको र बिमितहरूको रकम उपलब्ध नभएको विषयमा पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । 

टेस्टिङ र ट्रेसिङ कार्यमा वृद्धि नभएको, औषधि, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको, राजनीतिक दल तथा तीनै तहका सरकारका बीचमा प्रभावकारी समन्वय नभएको, कूटनीतिक पहल अत्यन्तै कमजोर रहेको तथा अध्ययन र अनुसन्धानमा कुनै पहल नभएको पनि एमालेको आरोप छ ।

अहिलेको विषम परिस्थितिमा उच्च प्राथमिकताका साथ सरकारले गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराउँदै एमालेले जनस्वास्थ्यको मापदण्ड लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान सञ्चालन गर्ने तथा खोप केन्द्रको संख्या वृद्धि गरी सबै उमेर समूहका नागरिकलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको छ । 

यसैगरी राज्यका निकाय र कूटनीतिक क्षेत्रको सक्रियता बढाउने र खोपको आपूर्ति तथा प्रयोगको प्रबन्ध मिलाउने र पर्याप्त भण्डार केन्द्र स्थापना गर्ने काम गर्न पनि एमालेको आग्रह छ । सीमा क्षेत्रमा जाँच र होल्डिङ सेन्टरको तुरुन्त व्यवस्थापन गरी सञ्चालन गर्न, थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्न, स्थानीय तह र स्थानीय स्वास्थ्य इकाइसम्म स्रोत–साधन र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराउन एमालेले माग गरेको छ । 

त्यस्तै, राज्यको सबै संयन्त्र तथा राजनीतिक दलका बीचमा समन्वयात्मक परिचालन गर्नुपर्ने, समर्पित अस्पतालको व्यवस्था गर्नुपर्ने, सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजको समन्वयात्मक परिचालन गर्नुपर्ने, बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा, अपांग र अशक्तहरूलाई विशेष व्यवस्था गर्नुपर्ने र यी समूहका व्यक्तिहरूलाई घर–घरमा खोप सेवा सञ्चालन गर्ने काम गर्न पनि एमालेले माग गरेको छ ।

एमालेले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले कोभिड– १९ रोगथाम, नियन्त्रण र उपचारका लागि गरेका कामलाई पनि प्रधानमन्त्री देउवालाई १६ वटा बुँदामा स्मरण गराएको छ ।