१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
श्रवण थापा सर्लाही
२०७८ माघ १ शनिबार १६:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध सम्बन्ध लुकाउन महिलाकाे हत्या, संलग्न अभियुक्त सार्वजनिक

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ माघ १ शनिबार १६:३२:००

अवैध सम्बन्ध लुकाउन महिलाको हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई सार्वजनिक गरेको छ । सर्लाहीको बरहथवास्थित इलाका प्रहरी कार्यालय बरहथवाले शनिबार पत्रकार सम्मेलन गरेर घटनामा संलग्न तीनजनालाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरीले घटनामा संलग्न हरिवन नगरपालिका–१०, ताइवान टोल बस्ने २७ वर्षीय सन्तोष साह, सोही स्थान बस्ने २७ वर्षीय मुकेश ब्लोन र २२ वर्षीय रोहित हजरालाई सार्वजनिक गरेको हो । अभियुक्त तीनैजना एकै गाउँका साथी रहेको खुलेको छ । 

उनीहरूले गत पुस १७ राति बरहथवा नगरपालिका–१०, निवासी सुरत रामकी श्रीमती ३२ वर्षीया सावित्री कुमारी महराको हत्या गरेका थिए । घटनाका मुख्य योजनाकार सन्तोष साहले महिलालाई घरबाट ल्याएर उखुबारीमा साथीहरूसँग मिलेर हत्या गरेका प्रहरीको भनाइ छ । मृतक महिला र सन्तोषबीच जग्गा किन्ने सिलसिलामा चिनजान भएको थियो । सोही चिनजानपछि अवैध सम्बन्धमा परिणत भएको थियो । 

मृतक महिला र सन्तोष दुवै विवाहित हुन् । महिलाले अब आफूसँग बिहे गर्न वा भगाउन सन्तोषलाई दबाब दिएपछि सन्तोषले महिलाको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । सन्तोषको केही समय पहिला मात्र विवाह भएको हो भने महिलाको तीन सन्तान छन् । १२, सात र पाँच वर्षका दुई छोरा र एक छोरी रहेको मृतक महिलाका परिवारले जनाएका छन् । 

गत पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिन रातिदेखि बेपत्ता महिलाको शव सोही वडास्थित उखुबारीमा एक हप्तापछि फेला परेको थियो । प्रहरीका अनुसार शवको केही भाग जलेको अवस्थामा निर्वस्त्र फेला परेको हो । लगत्तै घटनाको सूक्ष्म अनुसन्धानको क्रममा उनीहरूको संलग्नता पाहिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकर यादवले जानकारी दिए ।