मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष ३० शुक्रबार
  • Monday, 14 July, 2025
२o७८ पौष ३० शुक्रबार १७:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्पतालको हेलचेक्र्याइँले तीनमहिने नाबालिकाको मृत्यु भएको भन्दै छानबिनसहित कारबाहीको माग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ३० शुक्रबार १७:३५:oo

सिराहा जिल्ला अस्पतालमा तीनमहिने नाबालिकाको उपचारमा हेलचेक्र्याइँ गर्दा मृत्यु भएको आरोप लगाउँदै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ।  सिराहाको औरही गाउँपालिका– ४ इँटाटारका २७ वर्षीय बब्लु यादवले बुधबार मध्यरातमा अस्पतालमा भर्ना गरिएकी तीनमहिने छोरीको उपचारमा हेलचक्र्याइँ गरी ओभरडोज औषधि दिँदा मृत्यु भएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।

यादवले दिएको उजुरीमा आफ्नी छोरीको मृत्यु हुनुमा अस्पतालका चिकित्सकको लापरबाही रहेको दाबी गर्दै विशेषज्ञसहितको छानबिन समिति गठन गरी दोषीलाई हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गरेका छन् । ‘छोरीको अवस्था बिग्रिँदै गएपछि पटकपटक चिकित्सकलाई बोलाइदिन आग्रह गरेँ,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरूले सुनेनन्, भोलिपल्ट बिहान १० बजेसम्म पनि चिकित्सक नआउँदा छोरीको मृत्यु भयो ।’

सातदिने अल्टिमेटमसहित ज्ञापनपत्र 

अस्पतालमा नाबालिकाको मृत्यु भएपछि अनेरास्ववियु (क्रान्तिकारी) र बाइसिएल नेपाल सिराहाले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा नाबालिकाको उपचारमा लापरबाही हुँदा मृत्यु भए पनि स्थानीय प्रशासनले चासो नदेखाएको आरोप लाउँदै सात दिनभित्र छानबिन गरी दोषीलाई कारबाही नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ। 

सल्लाह नमान्दा दुःखद घटना : मेडिकल सुपरिटेन्डेन्ट 

सिरहा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले स्वास्थ्य सुधार हुँदै गएकी नाबालिकालाई दूध नखुवाउन सल्लाह दिइएको भए पनि नमान्दा दुःखद घटना भएको बताएका छन् । ‘अन्यत्र उपचार गर्दा पनि झाडापखाला र ज्वरो निको नहुँदा सिकिस्त बनेपछि मात्र अस्पताल ल्याइएकी नाबालिकालाई तत्काल भर्ना गरी चिकित्सककै सल्लाहमा उपचार चल्दै थियो,’ डा. यादवले भने, ‘बिहीबार बिहानसम्म अवस्था सुधारोन्मुख नै थियो, झाडापखाला र ज्वरोले सिकिस्त बनेकाले दूध नखुवाउन भनेका थियौँ।’ बच्चा रोएको भन्दै आमाले दूध चुसाएपछि श्वास नलीमा दूध पस्दा निसासिएर बच्चाको दुःखद मृत्यु भएको डा. यादवको भनाइ छ। ‘उपचारमा हेलचेक्र्याइँ, ओभरडोज औषधि दिएको भन्ने आरोप गलत हो,’ उनले भने ।