टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १० सोमबार
  • Monday, 24 January, 2022
ई. रोहित पौडेल
२०७८ पौष २९ बिहीबार ०८:३०:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जनताको स्वास्थ्य र महानगरको समृद्धि

अग्रलेख

Read Time : > 4 मिनेट
ई. रोहित पौडेल
२०७८ पौष २९ बिहीबार ०८:३०:००

समृद्धि नागरिकभित्रको चेतना र उसको जीवनस्तर हो, जसलाई ठूला महल, सडक र प्रविधिले मात्र प्रतिबिम्बित गर्न सक्दैन

नेपालको राजधानी काठमाडौं, त्यसको पनि मुटु काठमाडौं महानगरपालिका, स्थानीय तहको निर्वाचन निकट आएपछि मात्र चर्चामा आउँछ । काठमाडौं महानगरलाई कस्तो बनाउने, के गर्ने भन्ने विषयमा धेरै चर्चा हुने गर्छ । तर, अन्त्यमा महानगरले उस्तै परम्परागत नेतृत्व चयन गर्छ र अर्को निर्वाचनसम्म शिथिल भएर बस्छ । यो शिथिलता हामीले नेपालको संविधान २०७२ निर्माणपश्चात्को पहिलो स्थानीय तहको निर्वाचन र त्यसको परिणामपछिका दिनमा देखिसकेका छौँ । महानगरको दोस्रो निर्वाचन पनि सन्निकट छ, त्यसैले काठमाडौं महानगर फेरि चर्चामा छ । तर, यसपटक अपेक्षा गरौँ, महानगरले पछिल्लो पाँचवर्षे शिथिलतालाई तोड्नेछ ।

विकास के हो ? परिभाषाकै खोजी गर्ने हो भने यसका सन्दर्भमा फरक मतहरू हुन सक्छन् । हामी नेपालीले विकासलाई सपना देखाउनु हो भन्ने ठानेका छौँ, जसले ठूला सपनाको कुरा गर्छ, त्यसले त्यति नै ठूलो विकास गर्ला भन्ने मान्छौँ । पूर्वप्रधानमन्त्री केपी ओलीले नेपाल विकासको खाका कोरे भन्नेहरूको कमी छैन, हाम्रो समाजमा । तर, ओलीका सपना प्लस टुमा बायलोजी नपढेको मान्छेलाई डाक्टर बन्नाइदिन्छु भने जस्ता छन् । विकास वस्तुपरक हुनुपर्छ र त्योभन्दा महŒवपूर्ण विकासले आममानिसको जीवनमा सकारात्मक रूपान्तरण गर्नुपर्छ । पंक्तिकारले विकासको परिभाषा गर्नुपर्‍यो भने सन् २०११ मा जापानस्थित फुकुसिमा प्लान्टमा भएको दुर्घटनाको उदाहरणबाट गर्न सहज ठान्छ । जापान एक विकसित मुलुक हो, तर जापानको विकासको सूचक त्यहाँको भौतिक विकास होइन ।

किनभने, जापानजस्तो देशले पनि फुकुसिमामा भएको न्युक्लियर प्लान्ट दुर्घटनाबाट आफूलाई बचाउन सकेन । तर, दुर्घटनापछि जापानका मानिसहरू डिपार्टमेन्टल स्टोरमा लाइन बसेर सामान खरिद गरे । जब कसैले उनीहरूसँग यस्तो कठिन परिस्थितिमा पनि किन यस्तो अनुशासन ? भनेर प्रश्न गथ्र्यो, उनीहरूको जवाफ हुन्थ्यो, म जस्तो समस्यामा छु, ठीक त्यस्तै समस्यामा अरू नागरिक पनि छन् । सबैले अनुशासन कायम राखे भने हामी सबैको जीवन सहज हुन्छ । नागरिकमा यो चेत हुनुचाहिँ सही अर्थमा विकास हो ।

भौतिक संरचनाहरू त यस्तो चेत भएका नागरिकले आफैँ बनाउँछन्, त्यसैले जापानले त्यो संकटबाट आफूलाई सजिलै बाहिर निकाल्यो । आममानिसको राज्यप्रतिको विश्वासले मानिसलाई यो चेत विकास गर्न मद्दत गर्छ । तसर्थ, पंक्तिकारको मतमा विकास नागरिकभित्रको चेतना र उसको जीवनस्तर हो, जुन ठूला महल, सडक र प्रविधिले मात्र प्रतिबिम्बित गर्न सक्दैन । भौतिक विकास त सुनामीको एक लहरले भताभुंग हुँदोरहेछ । हामीले आफ्नै देशमा पनि मेलम्चीमा आएको बाढी देख्यौँ, ०७२ सालको भुइँचालो भोग्यौँ ।

स्थानीय तहको पहिलो निर्वाचनमा काठमाडौं कस्तो बनाउने ? भन्ने सन्दर्भमा परम्परागत राजनीतिक दल र आफूलाई वैकल्पिक दल भनेर स्थापित हुन खोज्नेहरूको समेत राजनीतिक घोषणापत्रमा खासै अन्तर देखिएन । मेट्रो रेल कुदाउने, सहर हराभरा बनाउने, ठूला सडक बनाउनेजस्ता संसारमा सम्भव भएका सबै विषय समेटेर घोषणापत्रमा लेखेर भोट मागेका छन् । तर, तीमध्ये एउटा घोषणापत्र कार्यान्वयन गर्ने मौका पाउनुभएका मेयरसाबले भनेको स्मार्ट सिटी पक्कै आज हामीले भोगिरहेको जस्तो काठमाडौं सहर होइन, भन्नेमा पंक्तिकार विश्वस्त छ ।

यो लेखको उद्देश्य पनि काठमाडौं महानगरपालिकाको विकासको अवधारणा बनाउँदा विकासको केन्द्रमा यहाँका आमनगरवासीको जीवनमा सकारात्मक रूपान्तरण गर्न सकियोस् भन्ने नै हो । यसका साथै काठमाडौंका केही मौलिक मुद्दालाई बहसको विषय बनाउन सकिन्छ कि भन्ने पनि हो ।

यसको सुरुवात एउटा प्रतिनिधि कथाबाट गर्छु । काठमाडौंको न्युरोडमा घर भएको एउटा परिवारका पितालाई क्यान्सर भयो । घरमा कमाउने एक मात्र उनी रोगले थलिएपछि परिवार बिस्तारै आर्थिक समस्यामा पर्दै गयो । अन्ततः तीन आनामा बनेको न्युरोडको घर बेचेर उनी भक्तपुरको नेवार बस्तीमा ससुरालीको छेउमा घर किनेर बसे र बचेको केही पैसाले ऋण तिरे, तर दुर्भाग्यवश ! त्यहाँ सरेको दुई वर्षमै उनको मृत्यु भयो । त्यो परिवार फेरि थपिएको ऋण तिर्न भक्तपुरको घर बेचेर इमाडोलको नयाँ बस्तीमा गयो र घर बनाएर बस्यो । त्यसबाट बचेको पैसाले बुबाको उपचारमा लागेको थप ऋण तिर्‍यो ।

स्थानीय तहको निर्वाचन निकट आएपछि मात्र काठमाडौं महानगरलाई कस्तो बनाउने भन्ने विषयमा धेरै चर्चा हुने गर्छ । र, अन्त्यमा महानगरले उस्तै परम्परागत नेतृत्व चयन गर्छ र अर्को निर्वाचनसम्म शिथिल भएर बस्छ ।
 

यो प्रतिनिधि कथा हो, जसमा स्वास्थ्योपचारका लागि एउटा परिवारले घर बेच्नुपरेको मात्र छैन, आर्थिक कारणबाट सयौँ वर्षसम्म एउटा समुदायले धानेको काठमाडौंको प्राचीन कला, संस्कृति, धर्म, जात्रा र परम्परासमेत नामेट भएको छ । यो कथा र यो स्थितिको निरन्तरताले  केही पुस्तापश्चात् काठमाडौंले आफ्नो मौलिकता नगुमाउला भन्ने आधार हामीसँग छैन । तसर्थ, विकासको अवधारणा बनाउँदा यो परिवारको व्यथा पनि समेटिनुपर्छ । यो परिवारको समस्यालाई सम्बोधन गर्न कस्तो स्वास्थ्य नीति हामीलाई आवश्यक पर्छ भन्ने कोणबाट सोच्न आवश्यक छ । नेपालमा वार्षिक झन्डै तीन हजार मानिस मिर्गौला रोगबाट पीडित हुन्छन् । ०७५ को तथ्यांकलाई  आधार मान्ने हो भने झन्डै ६ हजार मानिस कलेजोको रोगबाट पीडित भएको देखिन्छ ।

सन् २०१५ को तथ्यांक हेर्दा झन्डै १० हजार मानिस क्यान्सरबाट पीडित भएको देखियो । यस्ता रोग लागेको समयमै थाहा पाउन सक्ने हो भने बिरामीले गर्नुपर्ने खर्चमा ठूलो कटौती गर्न सकिन्छ । समयमै यस्ता रोगबारे थाहा पाउन समयमै परीक्षण गराउनु अत्यन्त महत्वपूर्ण छ । तर, आर्थिक र अज्ञानताका कारण हामी समयमै परीक्षण गराउँदैनौँ । त्यसैले काठमाडौं महानगरपालिकाभित्रका सबै वडामा सहरी स्वास्थ्य क्लिनिक निर्माण गर्नुपर्छ । ती क्लिनिकले हरेक वडाका सबै नागरिको तथ्यांक संकलन गरी कम्तीमा वर्षको एकपटक आधारभूत स्वास्थ्य परीक्षणका लागि घरघर पुग्नु जरुरी छ । घरमै आएर वडाले सहुलियत दरमा सेवा दिने हुँदा मानिसहरू परीक्षणका लागि सजिलै तयार हुने र समयमै रोगको पहिचान गर्न सक्ने अवस्था बन्छ । वडाले सबै परीक्षणकर्ताको रिपोर्ट राख्ने र हरेक वर्ष सेवाग्राहीको फोनमा परीक्षणको समय भएको जानकारी गराउन सक्छ ।

यसका साथै हरेक वडामा केही पोषणविद्को व्यवस्था गरी कस्तो रोगमा के खान हुने, के खान नहुने, कति र कसरी खाने भन्ने जानकारी उपलब्ध गराउन सक्दा एकातर्फ स्वस्थ समाजको निर्माण हुन्छ भने अर्कातर्फ रोजगारीसमेत सिर्जना हुन्छ । सहरी स्वास्थ्य क्लिनिकको अवधारणा नेपालमा पहिलोपटक गगनकुमार थापा स्वास्थ्यमन्त्री हुँदा उहाँले नै प्रस्तुत गर्नुभएको थियो । मानिसलाई रोग लाग्न नदिन यस अवधारणाले धेरै हदसम्म काम गर्छ, तर रोग लागिसकेका र यति गर्दागर्दै पनि कसैलाई रोग लागिहाल्यो भने पनि महानगरले यस्ता नागरिकलाई राहत उपलब्ध गराउन सक्नुपर्छ । केही असाध्य रोगहरू, जस्तै– मिर्गौला र कलेजो प्रत्यारोपण, क्यान्सर, स्ट्रोक र मुटुसम्बन्धी रोगको उपचारका लागि काठमाडौं महानगरपालिकाले बिमाको व्यवस्था गर्न सक्छ ।

०७८ को तथ्यांकलाई आधार मान्दा काठमाडौंको जनसंख्या करिब ११ लाख पुगेको देखिन्छ । यद्यपि, यो जनसंख्या योभन्दा अझ बढी पनि हुन सक्छ । यदि ११ लाख मानिसबाट पाँच हजार रुपैयाँ मात्र बिमाशुल्क लिने हो भने पाँच अर्ब ५० करोड रुपैयाँ संकलन हुन्छ । जसलाई सामान्य बैंकको ब्याजमा मात्र लगानी गर्दा पनि वार्षिक ५२ करोड आम्दानी हुन्छ । यो ब्याजको रकमबाट एक बिरामीबराबर २५ लाख रुपैयाँ बिमास्वरूप उपलब्ध गराउँदा पनि २०९ जनालाई एक वर्षमा उपचार गर्न सकिने रहेछ । बैंकको कार्डजस्तै बिमा कार्डको व्यवस्था गरेर एक बिरामीबराबर २५ लाख खर्च गर्न मिल्ने व्यवस्था गरिदिने हो भने यस्ता रोगी र तिनका परिवारलाई प्रतिव्यक्ति मात्र पाँच हजार लगानीमा ठूलो राहत मिल्नेछ ।

अर्कातर्फ, एउटा बिरामीले एकै वर्षमा २५ लाख खर्च गर्नुनपर्ने हुँदा हजारौँ बिरामीले एकै वर्षमा सेवाको उपभोग गर्न सक्छन् । यसरी बिमाको व्यवस्था गर्दा कुन अस्पतालमा जाने भन्ने निर्णय पनि स्वयं बिरामी र उसको परिवारले गर्न सक्छ । अस्पतालको चयन गर्दा पैसा नहुनेले बिमा रकमले नै सम्पूर्ण उपचार हुने अस्पतालको चयन गर्न सक्छन् भने पैसा हुनेले आफ्नो इच्छाअनुसार अस्पताल चयन गर्छन् । तर, यस्तो अवस्थामा उनीहरूले अपुग रकम आफ्नै खल्तीबाट हाल्नुपर्ने हुन्छ । यद्यपि, जुनसुकै अवस्थामा पनि आममानिसले आफ्नो खल्तीबाट हाल्नुपर्ने पैसामा भने कटौती हुनेछ । 

यो व्यवस्थाले माथि उल्लिखित परिवार विस्थापित हुनुपर्ने समस्याबाट बच्न सक्छ । र, स्वस्थ नागरिकको योगदानबाट विकसित महानगर निर्माणमा गहन योगदान पुग्न सक्छ ।