मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format २o:o१:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतबाट फर्केकाहरू परीक्षणविनै घर जाँदा समुदायमा संक्रमण फैलने जोखिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o१:oo

सुदूरपश्चिममा भारतबाट फर्कनेहरूमा कोरोना संक्रमण देखिने दर बढेको छ । यहाँका प्रमुख दुई नाका गड्डाचौकी त्रिनगर नाकामा गरिने परीक्षणमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । गड्डाचौकी नाकामा बुधबार एक सय चार र त्रिनगर नाकामा ६२ जनामा संक्रमण देखिएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो एक सातामा सुदूरपश्चिममा सात सय २२ संक्रमित थपिएका छन् । तीमध्ये नाकामा गरिएको परीक्षणमा भारतबाट आएका पाँच ३० जना रहेका निर्देशनालयले जनाएको छ । बुधबार मात्रै सुदूरपश्चिममा सात सय ५५ जनाको परीक्षण गर्दा दुई सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । अधिकांश संक्रमित भारतबाट फर्केकाहरू छन् ।

भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि रोजगारीको लागि भारत गएकाहरू त्रासले स्वदेश फर्कन थालेका छन् । यहाँका विभिन्न नाका भएर भारतबाट फर्किरहेका व्यक्तिबाट सुदूरपश्चिममा कोरोना संक्रमण समुदायस्तरमा उच्च हुने खतरा बढेको छ । फर्कनेमध्ये कैयौँ व्यक्ति परीक्षण नगराई घरतर्फ गइरहेकाले संक्रमण समुदायमा फैलिने खतरा बढेको हो । ‘अहिले संक्रमित देखिएका ९० प्रतिशतभन्दा बढी भारतबाट फर्केकाहरू छन् ।’

स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ओमप्रकाश जोशीले भने, ‘नाकामा सबैको चेकजाँच गर्ने र फर्केकालाई केही दिन क्वारेन्टाइनमा नराख्ने हो भने समुदायस्तरमा संक्रमण फैलिने जोखिम छ ।’ भारतबाट फर्किनेको लर्को लागेपछि नाकामा परीक्षण गर्न र पोजेटिभ देखिएकालाई व्यवस्थापन गर्नसमेत समस्या भइरहेको छ । नाकामै हेल्थडेस्क स्थापना गरी एन्टिजेनबाट कोरोना परीक्षण भइरहेको छ । तर भिड बढेकाले भारतबाट आउने सबैको परीक्षण हुन सकेको छैन । खुला सिमाना भएकाले लुकिछिपी आउनेको संख्या पनि उत्तिकै छ । नाकामा गर्ने परीक्षणमा संक्रमित बढेपछि धनगढी र महेन्द्रनगरका आइसोलेसन भरिन थालेका छन् ।

गड्डाचौकी र त्रिनगर नाकामा अहिले परीक्षणमा केही कडाइ गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रमुख नाकाहरूमा परीक्षणको दायरा बढाइएको बताए । सकेसम्म भारतबाट फर्किरहेका सबैको परीक्षण गरिरहेको उनले बताए । ‘सराई अवधिमा संक्रमण नदेखिन सक्ने भएकाले नाकामा नेगेटिभ आयो भनेर ढुक्क हुने अवस्था छैन । घरमा गएर कम्तीमा १० दिन अलग बस्न आग्रह गरिरहेका छौँ’, प्रवक्ता कार्कीले भने, ‘परिवारमा संक्रमण फैलन नदिन व्यक्ति आफू पनि सचेत हुनुपर्‍यो ।’

त्रिनगर नाकामा पोजेटिभ देखिएकालाई धनगढी उपमहानगरपालिका–१५, बेलीस्थित आइसोलेसनमा लग्ने गरिएको छ । घरमै आइसोलेसनमा बस्न चाहने व्यक्तिलाई सम्बन्धित वडाको सिफारिसमा घर जान दिने गरिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।