१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २८ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष २८ बुधबार १४:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेसिनमा नगद हालेर ट्राफिक जरिवाना तिर्न सकिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष २८ बुधबार १४:४२:oo

महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम ‘प्रभु –पे’को ‘किअस्क’ मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ ।

महाशाखाले सुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आइएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो । पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरू र ‘क्युआर’ प्रणालीबाट समेत जरिवाना तिर्न सकिने प्रणाली सञ्चालनमा छन् ।

बुधबार एक कार्यक्रमबीच  ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि ‘प्रभु–पेको किअस्क मेसिन’ को उद्घाटन गरेका हुन् । 

किअस्क मेसिनमा सीधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिन्छ । ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रविधिहरूलाई क्रमशः परिष्कृत गर्दै आजैदेखि मेसिनमा नगद प्रयोग गरी जरिवाना तिर्न सकिने सेवा सुरु गरेको हो ।

कसरी तिर्ने मेसिनबाट जरिवाना ? 

सर्वप्रथम प्रभु–पेको किअस्क मेसिन (kiosk) मा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरी स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक वर्ष टाइप गरी नेक्स्ट बटन थिच्ने । त्यसपछि देखिने चिट नम्बरलगायतको सूचना चेक गरी नेक्स्ट बटनमा थिचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्ने । भुक्तानी सफल भएपश्चात् प्रिन्ट भएको रसिदसहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ ।

कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा कमी आउने र कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नसमेत यो मेसिनले महत्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपी सञ्जीव शर्मा दासले बताए । उनले भने, ‘ट्राफिक जरिवाना तिर्न विभिन्न प्रविधिको विस्तार गर्ने क्रममा मोबाइल बैंकिङ वा अन्य अनलाइन प्रविधिको प्रयोग नगर्ने सेवाग्राहीलाई नगदै पैसा तिर्ने यो मेसिन अत्यन्त सहयोगी सिद्ध हुन्छ ।’

विभिन्न प्रविधिको प्रयोग गरी ट्राफिक जरिवाना भुक्तानी गर्न आमसेवाग्राहीलाई ट्राफिक प्रहरी महाशाखाले अनुरोधसमेत गरेको छ ।