१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २७ मंगलबार ०६:३२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयातलाई नियन्त्रणको सट्टा व्यवस्थित गर्न चेम्बरको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २७ मंगलबार ०६:३२:००

नेपाल चेम्बर अफ कमर्सले आयातलाई नियन्त्रण गर्नभन्दा पनि व्यवस्थित गर्ने नीति ल्याउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७८ बारे १६ बुँदे सुझाब दिने क्रममा चेम्बर पदाधिकारीले गभर्नर महाप्रसाद अधिकारीलाई भेटी निर्यात प्रवद्र्धन गर्ने नीति ल्याउन आग्रह गरेका हुन् । 

भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवद्र्धन हुन नसक्दा व्यापार घाटा उच्च भएको बताए । आयात नियन्त्रण सम्बन्धमा राष्ट्र बैंकले केही समयपहिले जारी गरेको परिपत्रले व्यापारीहरू मर्कामा परेको मल्लको भनाइ थियो ।  

एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले परम्परागत प्रकृतिका व्यवसायलाई समस्या भएको र बैंक वित्तीय संस्थालाई मात्रै फाइदा पुग्ने खालको भएकाले व्यावहारिक पाटो बुझिदिन मल्लले आग्रह गरे । निर्यात सम्भावना भएका वस्तुहरूको पहिचान प्रवद्र्धन गर्ने विषयमा सोच्नुपर्ने उनकोे भनाइ छ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले तरलता समस्या देखाएर उद्योगी–व्यापारीलाई दुःख दिन थालेको चेम्बर पदाधिकारीले गभर्नर अधिकारीसँग गुनासो गरेका थिए । बैंक वित्तीय संस्थाले विभिन्न शीर्षक तथा बेस रेटमै बढी ब्याज असुल्न थालेको उनीहरूको गुनासो थियो । अर्थतन्त्रका अधिकांश सूचकहरू नकारात्मक रहेको अवस्थामा राष्ट्र बैंकले समयमै उपयुक्त व्यवस्था गर्न नसके अर्थतन्त्र जोखिमको बाटोमा जान सक्ने भन्दै अध्यक्ष मल्लले गभर्नर अधिकारीको ध्यानाकर्षण गराएका थिए । 

गभर्नर अधिकारीले भने अर्थतन्त्र जोखिमको अवस्थामा पुगिनसकेको बताए । मुलुकको अर्थतन्त्रमा केही महिना अझै सतर्क भने हुनुपर्ने गभर्नर अधिकारीको भनाइ थियो । अधिल्लो वर्षको तुलनामा आयात तीन खर्ब रुपैयाँले बढ्दा पनि बजारमा तरलतामा चाप परेको गभर्नर अधिकारीको भनाइ थियो । अघिल्लो वर्षको पाँच महिनामा पाँच खर्ब रुपैयाँको आयात हुँदा सोही समयमा अहिले आठ खर्ब रुपैयाँ हाराहारीमा आयात भएकाले तरलतामा चाप परेको गभर्नर अधिकारीले बताए ।