देशभरका ३५ हजार विद्यालयमा १९ दिन बिदा

मंगलबार, २७ पुष, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमण तीव्र रूपले बढ्न थालेपछि शिक्षा मन्त्रालयले विद्यालय तहका शैक्षिक कार्यक्रम बन्द गरी देशभरका करिब ३५ हजार विद्यालयमा बिदा दिने निर्णय गरेको छ । मन्त्रालयले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै १५ माघसम्म बिदा दिने निर्णय गरेको हो । विश्वविद्यालयको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने बताएको छ । 

आइतबार बसेको कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)को सिफारिसअनुसार मन्त्रालयले विद्यालयमा बिदा दिने निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले प्रेस विज्ञप्ति जारी गर्दै २७ पुसदेखि १५ माघसम्म बिदा दिने निर्णय गरेको जनाएका छन् । यही अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा खोप लगाउने कार्यक्रम रहेकाले त्यसमा सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ । 

बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले विश्वविद्यालयका वार्षिक तथा सेमेस्टर प्रणालीका पूर्वनिर्धारित परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गर्न आग्रह गरेको छ । 

शिक्षा मन्त्रालयका सचिव यादव कोइरालाले विश्वविद्यालय स्वायत्त भएकाले उनीहरूको विषयमा मन्त्रालय नबोलेको बताए । ‘विश्वविद्यालय स्वायत्त संस्था भएकाले हामीले निर्णय नगरेको हो, २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने भनेपछि विश्वविद्यालय पनि स्वतः बन्द हुन्छ, एउटा कलेजमा २५ जनाभन्दा पक्कै पनि धेरै हुन्छन्,’ उनले भने । त्रिविका आंगिक क्याम्पसहरूमा भने जाडो बिदा सुरु भएको छ । अधिकांश सामुदायिक तथा निजी क्याम्पसले कक्षा सञ्चालन गरिरहेका थिए । 

दोब्बरले बढ्दै बालबालिकामा संक्रमण
 - दोस्रो लहरपछि दैनिक २५ बालबालिकामा सीमित कोरोना संक्रमण मंगलबारदेखि उकालोतर्फ, सोमबार १८ वर्षमुनिका ११६ बालबालिकामा देखियो संक्रमण

- सरकारले दैनिक पाँच लाख नागरिकलाई खोप लगाउने घोषणा गरेको थियो । तर, सरकारले लिएको लक्ष्यअनुसार खोप अभियान अघि बढ्न सकेको छैन । हरेक दिन खोप लगाउनेको संख्या दुई लाखको हाराहारीमा मात्र देखिएको छ । सोमबार पनि दुई लाख १० हजार पाँच सय ९४ जनाले खोप लगाएका छन् ।

सुझावित समाचार