फेरि बल्झियो विराटनगर–जोगबनी नाकामा मिरगन्ज पुलको सास्ती

पुल फेरि भासियो, व्यवसायीले अर्को रुट प्रयोग गर्नुपर्ने

सोमबार, २६ पुष, २०७८
डिजिटल संस्करण

विराटनगर–जोगबनीनाअन्तर्गत पर्ने भारतको बिहार राज्यको अररिया जिल्लास्थित परमान नदीमा रहेको  मिरगन्ज पुल पुनः भासिएपछि उद्योगी–व्यपारीहरूमा रिरुटको समस्या र आर्थिक भार थपिने भएको छ । जीर्ण रहेको पुरानो पुल बाढीले गर्दा थप जीर्ण भएपछि भारत सरकारले स्तरोन्नति गरेर सञ्चालनमा ल्याएको थियो । तर, पुल पुनः भासिएपछि २३ पुसदेखि भारतले पुलमा बेरियर लगाएर सबैखाले मालवस्तु आवतजावत बन्द गराएको छ । विराटनगर जोगबनीनाअन्तर्गत रहेको मिरगन्ज पुलबाट दैनिक तीन सयभन्दा बढी मालबाहक सवारीसाधन आवतजावत गर्दै आएका थिए । 

भासिएको मिरगन्ज पुल दुई दिनभित्र सञ्चालनमा नआए विराटनगर भन्सारको राजस्व असुलीमा दैनिक ३० करोड प्रभाव पर्नेछ । यसैले वैकल्पिक मार्गबारे खोजी भइरहेको विराटनगर भन्सार प्रमुख नारायण सापकोटाले बताए । उनका अनुसार दुई दिनभित्र पुलबाट मालबाहक सवारी आवतजावत हुन नसकेमा सुनसरीको भन्टावारीस्थित सेतुबन्ध भन्सार वा विराटनगरपूर्वको अररिया जिल्लाको कुर्साकाटा नाका रिरुटका रूपमा प्रयोग गरिनेछ । कुर्साकाटा नाकाबाट  विराटनगर भन्सार १० किमि दूरीमा छ भने सेतुबन्ध भन्सार नाका हुँदै विराटनगर भन्सार डेढ सय किलोमिटरको दूरी तय गर्नुपर्छ । 

पुरानो र जीर्ण फलामे मिरगन्ज पुलकै समस्याका कारण नेपाली उद्योगी–व्यापारीहरूले पटक–पटक सास्ती खेप्दै आएका छन् । कुर्साकाटा नाकाको रुट भारतर्फ पक्की र नेपालतर्फ कच्ची रहेको छ भने भारतको वथनाह हँदै सुपौल जिल्लाको वीरपुर भएर भन्टाबारीस्थित सेतुबन्ध भन्सार नाका भने पक्की नै छ । नेपाल सरकारको आग्रहमा भारतले परवान नदीमा नयाँ पुल बनाउन सुरु गरे पनि अझै निर्माण सम्पन्न भएको छैन । आगामी मार्च महिनासम्ममा पुल निर्माण सम्पन्न हुन सक्ने भारतीय पक्षले बताएको छ । 

भासिएको मिरगन्ज पुल सुचारु नभएमा नेपालमा औद्योगिक कच्चा पदार्थ ल्याउन र उत्पादित वस्तुहरू पठाउन खर्चिलो हुने उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । उनका अनुसार तत्काल भासिएको पुल सुचारु हुन सक्ने अवस्था छैन ।  मिरगन्ज पुल भासिएपछि सयौँ ट्रक–कन्टेनरहरू भारत र नेपालतर्फ अलपत्र परेका छन् । भन्सार प्रमुख सापकोटाका अनुसार वैकल्पिक मार्गबारे निर्णय भएपछि मात्र ठप्प भएका मालबाहक सवारीसाधन सुनसरीको भन्टाबारी वा अन्य नाकाबाट रिरुट हुन थाल्नेछन् ।  ०७४ साउनमा बाढीले क्षति पुर्याएको परमान नदीको फलामे पुल दुई महिनाको मर्मतपछि २३ असोज ०७४ बाट अर्धक्षमतामा सञ्चालनमा आएको थियो । 

सुझावित समाचार