
युनेज स्यान्डो नामका एक किशोर अत्यन्त कमजोर, दुब्ला र रोगी थिए । आफ्ना खराब बानीका कारण उनले बाल्यावस्थामै आफ्नो स्वास्थ्य गम्भीर रूपमा बिगारिसकेका थिए । एक दिन उनी आफ्ना पिताका साथमा कला संग्रहालय हेर्न गएका थिए । संग्रहालयको ग्यालरीमा प्राचीनकालका बलिष्ठ पुरुषहरूका मूर्ति प्रदर्शनीमा राखिएका थिए । उनले रुचिपूर्वक ती मूर्ति अवलोकन गरे । उनलाई कुनै मानिसका पाखुरा यति बलिष्ठ पनि हुन सक्छन् भन्नेमा विश्वास नै भएन । उनले यस संसारमा कुनै मानिस यति बलवान् हुन सक्छ भन्ने सपनामा पनि सोचेका थिएनन् । उनी यी मूर्ति देखेर निकै प्रभावित भए ।
स्यान्डोले आफ्ना पितासित सोधे– बाबा, के यी प्रतिमा काल्पनिक हुन् ? के मानिसको यस्तो अद्भूत स्वास्थ्य सम्भव छ ? छोराको प्रश्न सुनेपछि उनका पिताले आत्मविश्वाससाथ जवाफ दिए– बाबु, यी सबै मूर्ति यथार्थ हुन्, कुनै कल्पना होइनन् । मानिसको यस्तो स्वास्थ्य, यस्तो सुगठित शरीर र मांसल हातपाखुरा सम्भव छ । नियमित व्यायाम गर्यौ, प्रशस्त परिश्रम गर्यौ र खानपिनमा ध्यान दिन सक्यौ भने तिमीले पनि यस्तै स्वास्थ्य प्राप्त गर्न सक्छौ । तिम्रो पनि यस्तै सुगठित शरीर सम्भव छ ।
पिताको जवाफ सुनेपछि स्यान्डो गम्भीर बने । पिताको भनाइ उनको मनमा गढेर बस्यो । त्यसपछिका दिनमा उनी आफ्नो खानपानमा विशेष सचेत हुन थाले । साथै, उनले नियमपूर्वक शारीरिक व्यायाम र कठोर परिश्रम सुरु गरे । परिणामत: उनी एक ख्यातिप्राप्त बलवान्का रूपमा विख्यात भए । उनले शारीरिक व्यायामका अनेक नियम र विधि पत्ता लगाए । आजका दिनमा पनि उनका यी शारीरिक व्यायामका विधिलाई ‘स्यान्डो कला’का नामले चिनिन्छ । आखिर आत्मविश्वास र लगन भयो भने यो संसारमा असम्भव भन्ने के नै छ र ?