Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
उपचारका नाममा माताले त्रिशूलले घोपेका घाउ र कुटपिटबाट बनेका नीलडाम
टेकराज थामी काठमाडाैं
२०७८ पौष २६ सोमबार ०६:१७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

झारफुकको नाममा दिइएको यातनाले राजधानीमै १४ वर्षीया बालिकाको मृत्यु

झारफुकमा संलग्न माता भनिने उमा शाही ठकुरी पक्राउ, बालिकाको शरीरभरि नीलडाम त्रिशूलले रोपेका घाउ

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ पौष २६ सोमबार ०६:१७:००

झारफुकका क्रममा दिएको शारीरिक यातनाका कारण संघीय राजधानी काठमाडौंमै एक बालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका– २ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको हो । प्रहरीले झारफुकमा संलग्न माता भनिने ४८ वर्षीया उमा शाही ठकुरीलाई पक्राउ गरेको छ ।रोशनी शनिबार बिहान ६ बजे बालाजु रानीवन पानीट्यांकीस्थित उमाको झारफुक केन्द्रमा अचेत फेला परेकी थिइन् । त्यसलगत्तै उनलाई परिवारले उपचारका लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल लगेको थियो । मृतक बालिकाका मामा धनबहादुर श्रेष्ठका अनुसार चिकित्सकले चार घन्टाअघि नै रोशनीको मृत्यु भएको बताएका थिए ।

‘भान्जी बेहोस भएको खबर पाउनासाथ बहिनी (रोशनीकी आमा)सहित परिवारका सदस्य शनिबार माताकहाँ पुगे । बेहोस अवस्थामा भेटिएकी भान्जीलाई उपचारका लागि अस्पताल लगियो । डाक्टरले चार घन्टाअघि नै भान्जीको मृत्यु भएको जानकारी दिए,’ धनबहादुरले नयाँ पत्रिकासँग भने ।धनबहादुरका अनुसार मृतक रोशनीको शरीरभरि नीलडाम छ । खुट्टा, पिँडुला र तिघ्रामा त्रिशूलले रोपेका प्वाल छन् । टाउको र अनुहारमा पनि नीलडाम छन् । ‘भान्जीको शव हेरेँ । शरीरभरि नीलडाम छ । एकै ठाउँ तीन–तीनवटा त्रिशूलका प्वाल छन् । अनुहार, टाउको, ढाड, पिँडुला, नितम्ब सबै ठाउँ चोटले भरिएका छन्,’ उनले भने ।

प्रहरीले पनि बालिकाको ढाड, खुट्टा र पिँडुलामा घाउ भएको जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले झारफुककै क्रममा बालिकाको मृत्यु भएको हुन सक्ने बताए । ‘बालिका बेहोस अवस्थामा फेला परेको सूचना आएलगत्तै प्रहरी अनुसन्धानमा खटियो । उनको शरीरमा नीलडाम देखिन्छ । घटना हेर्दा झारफुककै क्रममा अत्यधिक कुटाइबाट उनको ज्यान गएको हो कि जस्तो देखिन्छ । शवको पोस्टमार्टम गर्न पठाएका छौँ । रिपोर्ट आएपछि मात्र थप तथ्य खुल्छ,’ उनले भने ।

मामा धनबहादुरका अनुसार रोशनी भक्तपुरको धुन्चेपाखास्थित गणेश सेकेन्डरी माविमा कक्षा ६ मा अध्ययनरत थिइन् । उनको टाउको दुख्ने समस्या थियो । वेलावेला टाउको दुख्ने भएपछि परिवारका सदस्यले उनलाई उपचारका लागि विभिन्न अस्पताल लगेका थिए । तर, चेकजाँचका क्रममा केही देखिएको थिएन । यही क्रममा रोशनीकी आमा राधिकाले टाउको दुखेको झारफुकबाट निको हुने छिमेकबाट सल्लाह पाइन् । खोज्दै जानेक्रममा बालाजुको रानीवनस्थित माता भनिने उमाको झारफुक केन्द्र पुगिन् । उनले आफ्नो समस्या राखिन् । माताले सबै समस्या झारफुकबाट निको पार्ने आश्वासन दिइन् । ३ पुसमा छोरी रोशनी लिएर राधिका माताकहाँ पुगिन् । झारफुकपछि आमाछोरी घर फर्किए । पुनः आउन माताले भनेपछि उनीहरू फेरि केन्द्र पुगे ।

करिब दुई सातासम्म माताकहाँ आउने–जाने क्रम चलिरह्यो । यही क्रममा माताले छोरीलाई केन्द्रमै छाडिदिन भनिन् । निकै कर गरेपछि एक साताअघि राधिकाले छोरीलाई माताकहाँ छाडिन् । आमा–छोरीबीच बिहीबारसम्म दोहोरो कुराकानी चलिरहेको थियो । यही क्रममा शनिबार बिहान माताकहाँबाट राधिकालाई फोन आयो । ‘छोरी बोल्न छाडिन्, तुरुन्तै आउनुपर्‍यो’ भनेपछि रोशनीकी आमा परिवारका अन्य सदस्यसहित ट्याक्सी चढेर माताकहाँ पुगिन् ।

तर, छोरीलाई उनले केन्द्रमा देखिनन् । माता टहरामै थिइन् । उनीसँगै अन्य सहयोगी पनि थिए । ‘छोरी खोइ’ भन्दा कोही पनि बोलेनन् । निकै जोड गरेपछि मात्रै माताले ‘तिम्रो छोरी बोल्नै छाडिन्’ भन्दै अचेत अवस्थामा ढलेकी रोशनीलाई देखाइन् । परिवारले रोशनीलाई अस्पताल त लगे, तर उनको पहिले नै मृत्यु भइसकेको थियो ।

‘रोशनीका बुबा सात वर्षदेखि मलेसियामा छन् । अहिले सबै शोकमा डुबेका छन् । परिवार सम्हाल्नै मुस्किल भएको छ । हामीले केही सोच्नै सकेका छैनौँ,’ धनबहादुरले भने ।प्रहरीले घटनामा संलग्न उमाविरुद्ध कर्तव्य ज्यानको कसुरअन्तर्गत मुद्दा दर्ता गरेको छ । थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ । घटनामा संलग्न अन्य दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

‘बालिका बेहोस अवस्थामा फेला परेको सूचना आएलगत्तै प्रहरी अनुसन्धानमा खटियो । उनको शरीरमा नीलडाम देखिन्छ । घटना हेर्दा झारफुककै क्रममा अत्यधिक कुटाइबाट उनको ज्यान गएको हो कि जस्तो देखिन्छ । शवको पोस्टमार्टम गर्न पठाएका छौँ । रिपोर्ट आएपछि मात्र थप तथ्य खुल्छ’, काठमाडौं परिसरका प्रवक्ता एसपी मैनालीले भने ।

मृतक बालिकाका मामा धनबहादुर श्रेष्ठ भन्छन्–शरीरभरि नीलडाम छ, त्रिशूलले घोपेका प्वाल छन्
भान्जी बेहोस भएको खबर पाउनासाथ परिवारका सदस्यसहित शनिबार माताकहाँ पुगेँ । छोरी खोइ भन्दा कोही पनि बोलेनन् । निकै जोड गरेपछि बेहोस भएको बताए । त्यसपछि छोरी देखाए । उपचारका लागि अस्पताल लगियो । डाक्टरले चार घन्टाअघि नै भान्जीको मृत्यु भएको जानकारी दिए । भान्जीको शव हेरेँ । शरीरभरि नीलडाम छ । एकै ठाउँ तीन–तीनवटा त्रिशूलका प्वाल छन् । अनुहार, टाउको, ढाड, पिँडुला, नितम्ब सबै ठाउँ चोटले भरिएका छन् ।

झारफुकका क्रममा अत्यधिक कुटपिटबाट ज्यान गएजस्तो देखिन्छ
एसपी दिनेश मैनाली, प्रवक्ता, महानगरीय प्रहरी परिसर काठमाडौं

बालिका बेहोस अवस्थामा फेला परेको सूचना आएलगत्तै प्रहरी अनुसन्धानमा खटियो । उनको शरीरमा नीलडाम देखिन्छ । घटना हेर्दा झारफुककै क्रममा अत्यधिक कुटाइबाट उनको ज्यान गएको हो कि जस्तो देखिन्छ । शवको पोस्टमार्टम गर्न पठाएका छौँ । रिपोर्ट आएपछि मात्र थप तथ्य खुल्छ ।