मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष २५ आइतबार ०७:४१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रदेशस्तरीय खुला आर्चरी सम्पन्न

Read Time : < 1 मिनेट
२०७८ पौष २५ आइतबार ०७:४१:००

गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले हात पारेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरामा आर्चरी प्रतियोगिता आयोजना गरिएको हो । 

कास्की जिल्ला आर्चरी संघको आयोजना तथा नेपाल इन्भेष्टमेन्ट बैंकको मुख्य प्रायोजनमा शनिबार प्रतियोगिता सम्पन्न भएको हो । फाइनलमा म्याग्दीकै उमेश तिलिजालाई ६–२ सेट प्वाइन्टले पराजित गरेका पुनले उपाधिसँगै स्वर्ण पदक र नगद २५ हजार पाएका छन् । यस्तै, हाल बेलायतमा रहेका पूर्व आर्चरी खेलाडी कृष्ण तुलाचनले प्रायोजन गरेको एक लाख रुपैयाँबराबरको रिकभर बो सेट पुरस्कार पाए । उपविजेता तिलिजाले नगद २० हजार पुरस्कार पाए ।

यसैगरी, ६० वर्षमाथिको भेट्रान्सतर्फको खेलमा मार्फा थकाली समाजका हिरामान लालचनले २३३ अंकसहित उपाधि हात पार्दा तीनगाउँले थकाली समाजका बुद्धि थकाली २२५ अंकसहित उपविजेता बने । प्रतियोगितामा कास्की, मुस्ताङ, बाग्लुङ, मनाङ, पर्वत र म्याग्दीका गरी ६९ खेलाडीको सहभागिता थियो । भेट्रान्सतर्फ सातजनाको सहभागिता रहेको थियो ।

आयोजक कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनका अनुसार प्रतियोगिताको सेमिफाइनलमा पुगेका चार खेलाडीसँगै अन्य १२ गरी १६ जनालाई नवौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै बन्द प्रशिक्षणमा राखिने भएको छ ।