१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १२:२१:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रसुवागढी नाकामा चहलपहल घट्दा व्यवसायी मारमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:२१:oo

करिब दुई वर्षअघिसम्म चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सानादेखि ठूला व्यापारीहरूको व्यापार व्यवसाय राम्रै थियो । रसुवागढी नाकानजिकै रहेका होटेल, किराना पसललगायतमा मानिसहरू खचाखच देखिन्थे, कतै चिनियाँ सामान हेरिरहेका,  किनिरहेका त कतै खाना खाइरहेका  । 

बाक्लो चहलपहल रहेको यो नाका, कोरोना भाइरस महामारीका कारण एकाएक बन्द भयो । त्यसयता नाकाबाट हुने सबै व्यवसाय प्रभावित भएको छ । खचाखच हुने व्यवसाय अहिले शून्य भएसँगै ६ वर्षदेखि टिमुरेमा होटेल व्यवसाय गर्दै आएका व्यवसायी काठमाडाैं नागार्जुन– ४ सीतापाइलाका नीरज पौडेलले नयाँ पत्रिकासँग भने, ‘पहिले पहिले आएका ग्राहकलाई पनि राख्न नसकिने अवस्था थियो, फुर्सद हुँदैनथ्यो, तर अहिले ग्राहक कुरेर बसिरहनुपर्ने अवस्था छ ।’ 

नेपाली तथा भारतीय नागरिक  मानसरोवर यात्राका लागि समेत रसुवागढी नाकाको प्रयोग गर्थे । दैनिकजसो सयभन्दा बढी कन्टेनरले चीनबाट सामान आयात निर्यात गर्थे । चिनियाँ सामान लिन जाने तथा केरुङ हेर्न जाउँ भन्नेहरू पनि उत्तिकै हुन्थे । प्रहरीलाई सीमापारिसम्म सामान किन्न जाने बाहिरी जिल्लाका मानिस लान र ल्याउनसमेत भ्याइनभ्याई हुन्थ्यो । त्यस्तै, अध्यागमन कार्यालयमा काम गर्ने कर्मचारीलाई चिनियाँ तथा अन्य देशका नागरिकहरूको अध्यागमन अनुमति दिनसमेत लामो समय लाग्ने गर्दथ्यो । तर, अहिले नाकाको अवस्था कोरोनाका कारण भयावह स्थितिमा छ । व्यवसायबाट राम्रो आम्दानी गर्ने व्यवसायीहरू पनि अहिले चिन्तित हुन थालेका छन् । 

आठ वर्षदेखि टिमुरेमा होटेल व्यवसाय गर्दै आएका नुवाकोटका मुकुन्द खनालले व्यवसाय नचल्दा भाडा तिर्न समस्या हुँदै आएको बताए ।  ‘पहिला त धेरै मान्छे आउँथे, अहिले भने फाट्टफुट्ट मात्र आएका छन्,’ उनले भने, ‘मासिक ५० हजार त भाडा तिर्नुपर्छ, भाडा तिर्न पनि नसक्ने अवस्था छ । पहिलाभन्दा अहिले अवस्था नाजुक छ, यत्तिकै भयो भने अब यहाँ बसेर आफनो खर्च बढाइरहन सक्दैनाैँ,  बिस्तारै छोड्नुपर्छ ।’ 

रसुवागढी नाकानजिकै रहेको टिमुरे बजार र घट्टेखोलामा ३० देखि एक सयजना बस्न मिल्ने क्षमतका १० वटा ठूला होटेल तथा लज रहेका छन् । करिब २० वटा त साना होटेल रहेका छन् भने साना–ठूला गरी करिब १५ वटा खुद्रा पसल रहेका छन् । नाका सहज रूपमा सञ्चालन हुँदा टिमुरेमा रहेका व्यवसायीका पसलहरूमा खानेदेखि लगाउनेसम्मका चिनियाँ सामानले भरिभराउ हुन्थे ।  नाकामा चहलपहल शून्यजस्तै बनेसँगै चिनियाँ सामानले भरिभराउ हुने पसल आजभाेलि रित्तो भएको खुद्रा पसल व्यवसायी इन्द्रबहादुर थापामगरले बताए ।  ‘पहिला त चिनियाँ सामानले पसल भरिएको हुन्थ्यो, अहिले र्‍याक खाली छ, चकलेट, ओखरलगायतका चिनियाँ सामान छ भनेर सोध्न आउँछन्,’ उनले भने, ‘तर, छैन । दुई वर्ष भयो सामान ल्याउन पनि पाएको छैन । बेच्न पनि पाएको छैन ।’

यति मात्र होइन, चिनियाँ सामान नहुँदा केही खुद्रापसलहरूले भने आफ्नो व्यवसाय नै परिवर्तन गरेका छन् । चिनियाँ सामान नभएपछि अहिले व्यवसाय परिवर्तन गरेको टिमुरेकी स्थानीय व्यवसायी रोजिना कार्कीले बताइन् । ‘पहिला त चीनबाटै सामानहरू ल्याएर चिनियाँ सामान बेच्ने गर्थेँ, अहिले त्यस्तो सामान ल्याएर बेच्न पनि पाएका छैनाैँ, खानेकुरादेखि कपडासम्म चिनियाँ सामान थियो,’ उनले भनिन्, ‘पसलमा सामान पनि सकियो, पसल रित्तो भएपछि अहिले चिया पसल खोलेर बसेकी छु ।’ 

दैनिक दुई सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक नाका हेर्नकै लागि आउँथे । कन्टेनरचालक, व्यापारी, मानसरोवर जाने भारतीय पर्यटक, मजदुरलगायतको बाक्लो उपस्थिति हुने यो नाका ०७६ माघ १५ देखि ०७७ जेठ २२ गतेसम्म  बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको छ । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ ।

दुई वर्षदेखि ठप्पजस्तै रहेको नाका पूर्ण रूपमा सञ्चालन गरी व्यवसायीहरूको गुमेको व्यवसाय फर्काउन सरकारले ध्यान दिन जरुरी रहेको व्यवसायीहरू बताउँछन् । 
 
 

ad
ad