Skip This
बालविवाहबारे किशोरी भन्छन्- बुबाआमाले हाम्रो होइन, समाजको कुरा सुन्नुहुन्छ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format ११:४५:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बालविवाहबारे किशोरी भन्छन्- बुबाआमाले हाम्रो होइन, समाजको कुरा सुन्नुहुन्छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४५:oo

सुनिलस्मृति गाउँपालिका– ३ स्थित चन्द्रप्रभा माविमा अध्ययनरत १७ वर्षीया छात्रा हुन् सुस्मा विष्ट। सरकारले सन् २०३० सम्म मुलुकलाई बालविवाहमुक्त घोषणा गर्न लिएको लक्ष्य पछ्याउँदै उनीसहित अन्य किशोरीहरू अभियानमा क्रियाशील छन्। ‘आमाबुवाले पढ्नुभएको छैन, तर छोरीले १२ पास गरोस् भन्नुहुन्छ,’ सुस्मा भन्छिन्, ‘पढाइविनाको जीवन बर्बादी हो भन्ने मैले पनि बुझेको छु।’

रोल्पाको लिबाङमा सञ्चारिका समूह र युएनएफपिएको साझेदारीमा भएको अन्तर्संवादमा किशोरीहरूले समाजले किशोरीहरूलाई निकै साँघुरो सोचले हेर्ने र बुझ्ने गरेको गुनासो गरे। ‘किशोरी परिपक्व नहुँदै समाजले कुरा काट्न थालिहाल्छ,’ सुस्माले भनिन्, ‘किशोरीलाई समाजले मनौवैज्ञानिक टर्चर गरिरहन्छ। बुबाआमाले हाम्रो होइन, समाजको कुरा सुन्नुहुन्छ।’ बालविवाह बढ्नुका धेरै कारणहरू भए पनि अभिभावकले बालबालिकाको मनको कुरा बुझ्न नचाहनु पनि एउटा मुख्य कारण भएको सुस्मा बताउँछिन्। आफूसँगैका दुईजना किशोरीको १५ वर्षमै विवाह भएको भन्दै सुस्माले ‘बालविवाह गरेर गल्ती गरिहाल्यौ, अब अस्थायी साधनको प्रयोग गर। अलि परिपक्व भएपछि मात्र बच्चा पाउनु’ भन्दा नमानेको स्मरण गर्दै उनको अहिले छोरा रहेको र श्रीमानसँग पनि सम्बन्ध राम्रो नभएको बताइन्।

जिल्ला सदरमुकाम लिबाङस्थित बालकल्याण नमुना माविमा नाै कक्षा पढ्दै गरेकी निरु पुनमगरले पनि बालबच्चा कस्तो अवस्थामा छ ? के गरिरहेको छ भन्नेबारेमा अभिभावकले चासो राख्नुपर्ने औँल्याइन्। ‘किशोरीहरूलाई एकहिसाबले बन्धनमा राख्न मात्र खोजिन्छ, तर उसको समस्या र उसको मनको कुरा बुझ्ने कोसिस गरिँदैन,’ निरुले भनिन्। यौन स्वास्थ्य, शारीरिक परिवर्तन, बालविवाह र त्यसले पार्ने नकारात्मक असरको विषयमा परिवारमा खुलेर कुरा गर्नुपर्ने रोल्पा अस्पतालका डा. प्रतिभा सुवेदीले बताइन्। बालअवस्थामै गर्भपतन गराउनेको संख्या बढ्दै गएको भन्दै उनले २० वर्ष नपुग्दै दुई–तीनपटक गर्भपतन गराउने गरेको पनि बताइन्।

‘यौन तथा प्रजनन स्वास्थ्यबारे परिवारमा कुरा हुँदैन’
बालविवाह, आत्महत्याजस्ता अपराध बढ्नुमा अभिभावकको पनि कमजोरी रहेको ज्येष्ठ नागरिक समाजका अध्यक्ष तेजराज आचार्यले बताए। ‘यौन तथा प्रजनन स्वास्थ्य, प्रेमजस्ता कुरामा परिवारमा कहिल्यै कुरा हुँदैन,’ तेजराजले भने, ‘कुरा गर्नुपर्ने त हो, तर अशोभनीय लाग्छ। हुन त यो गलत हो।’ अभिभावक घनश्याम आचार्यले पनि बालबालिकासँग खुलेर शारीरिक परिवर्तन, यौन स्वास्थ्यजस्ता विषयामामा कुरा नहुने बताए। शारीरिक परिवर्तनसम्बन्धी खुलेर कुरा गर्ने अवस्था नभएको उनले स्वीकार गरे।

‘प्रहरीले बालविवाहको प्रमाण ल्याऊ भन्छ’
बालविवाहका घटना निकै बढे पनि त्यसलाई रोक्न जनप्रतिनिधि र प्रहरीले साथ नदिएको किशोरी पुष्पा विश्वकर्माले बताइन्। ‘जनप्रतिनिधि राजनीति, आफन्तको कुराले पन्छिनुहुन्छ। प्रहरीले सिन्दुर हालेको प्रमाण लेऊ भन्छ, प्रमाण कसरी ल्याउनु ?’ पुष्पाले भनिन्, ‘बालविवाहविरुद्धको अभियान जनप्रतिनिधि र प्रहरीको पनि होला नि ?’

रोल्पामा ४४ प्रतिशत मगर समुदायको बसोवास छ। मगर समुदायको विवाह संस्कारमा सिन्दुर हाल्ने चलन छैन। तर, प्रहरीले भने प्रमाणको रूपमा सिन्दुर हालेको फोटो माग्ने गरेको पुष्पा बताउँछिन्। बालविवाह सबैको साझा समस्या भएकाले उजुरी नपरे पनि जानकारीमा आएसम्म जनप्रतिनिधि र प्रहरीले रोक्नुपर्ने सत्प्रयास समूहका अभियन्ता कुलबहादुर डाँगी बताउँछन्।

पुरोहित भन्छन्- बालविवाह गराउन छाडेँ
बालविवाह अपराध हो भन्ने थाहा पाएपछि आफूले यस्ता विवाह रोक्ने गरेको पुरोहित मीनराज आचार्यले बताए। विवाह तिथि हेर्न आउनेलाई पनि पहिले उनीहरूको जन्ममिति सोध्ने गरेको बताउँदै उनले बालविवाह नगराउने भनेर फर्काउने गरेको बताए। ‘बालविवाह गराएपछि मलाई पनि कारबाही हुन्छ, तिमीहरूलाई पनि कारबाही हुन्छ भन्ने गरेको छु,’ पुरोहित मीनराजले भने, ‘बालविवाह अपराध हो भन्ने थाहा पाएदेखि नै मैले रोक्ने गरेको छु ।’ उनले सबै पुरोहितले बालविवाहको अपराध कर्ममा नलागी बरु त्यस्ता विवाह रोक्नुपर्ने बताए।

प्रहरीमा निवेदन आउँछन्, मुद्दा आउँदैनन्
बालविवाह रोक्नका लागि प्रहरीले अग्रसरता देखाउँदै आएको छ। जानकारीमा आएसम्मको बालविवाह रोक्ने गरेको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। गत वर्ष ४३ वटा बालविवाह प्रहरीले रोकेको थियो। जिल्ला प्रहरी कार्यालयको तथ्यांकलाई हेर्ने हो भने आ.व. ०७३/७४ मा बालविवाहसम्बन्धी तीनवटा मात्र मुद्दा दर्ता भएका थिए भने आ.व. ०७४/७५ मा एउटा मात्र मुद्दा दर्ता भएको थियो। त्यसपछि बालविवाहको मुद्दा नै दर्ता भएका छैनन्।

बालविवाहका घटना नै नभएर भन्दा पनि मुद्दाका रूपमा प्रहरीमा नआएको प्रहरीको भनाइ छ। तर, बालविवाहसम्बन्धी निवेदनको संख्या भने बढ्दो मात्रामा छ । जिल्ला प्रहरी कार्यालयमा आ.व. ०७६/७७ मा १८ वटा बालविवाहविरुद्धको निवेदन परेका थिए। आ.व. ०७७/७८ मा ४० वटा र चालू आ.व.मा अहिलेसम्म नाैवटा निवेदन परेको प्रहरीको तथ्यांक छ। फौजदारी आचारसंहिता २०७४ को धारा एक सय ७३ मा २० वर्ष नपुगेर कसैले पनि विवाह गर्न नपाउने, यदि गरिहालेमा स्वतः बदर हुने उल्लेख छ भने गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ।