१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १७ शनिबार
  • Sunday, 11 May, 2025
दिपेश शाही काठमाडाैं
२o७८ पौष १७ शनिबार o६:१o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

माओवादीको आठौँ महाधिवेशन : प्रचण्डको प्रतिवेदन पारित, चुनावपछि विशेष महाधिवेशन

शनिबार विधान पारित भएपछि नेतृत्व चयन

Read Time : > 2 मिनेट
दिपेश शाही, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष १७ शनिबार o६:१o:oo

महाधिवेशनमा उठेका प्रश्नमा प्रचण्डको जवाफ- ‘म बदलिन्छु, बदलिन सक्ने पार्टीमा रहन्छ, नसक्ने रहँदैन’

कतिपयलाई लाग्न सक्छ, प्रचण्ड फेरि रूपान्तरण गर्न सक्ला, फेरि झुपडीमा जान सक्ला, काठमाडौंको यो रमझम छोड्न सक्ला, चिल्लो गाडी छोड्न सक्ला, आफैँ व्यक्तिवादी भइसकेको छ, यसो गर्न सक्ला त ? जसले भन्छन् तिनीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु । जरुरी पर्दा अर्को लडाइँ लड्न पनि तयार, तर प्रतिक्रान्तिकारीलाई छोडिँदैन । जस्तोसुकै त्याग र बलिदान गर्न तयार छु, यो अन्तिम अवसर गुम्न दिनेछैन ।

...                                                         ...

माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पारित गरेको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनको बन्दसत्रले प्रतिवेदनमाथि समूहगत छलफल सकेर निष्कर्ष प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्डले हलमा उठेका प्रश्नहरूको जवाफ दिएसँगै प्रतिवेदन पारित भएको हो । 

हलले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रचण्डले आउँदो आमनिर्वाचनलगत्तै पार्टीको विशेष महाधिवेशन गर्ने र दस्ताबेजलाई थप परिष्कृत गरेर क्रान्तिकारी विचारको निर्माण गर्ने बताए । समूहगत छलफलका लागि २५ वटा समूहमा बाँडिएर भएको छलफलमा अधिकांश प्रतिनिधिले प्रतिवेदनले धेरै विषयको उठान गरे पनि ठोस निष्कर्ष नदिइएको तथा केही महत्वपूर्ण विषय छुटाएको भन्दै असन्तुष्टि जनाएका थिए । 

सोही क्रममा स्थायी कमिटी सदस्य राम कार्कीले पूरक प्रतिवेदन र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फरक मतसमेत राखेका थिए । जवाफ दिने क्रममा प्रचण्डले पूरक प्रतिवेदन र फरक मत भन्दै प्रतिवेदनको मूल प्रवृत्ति सही भनेको र विचार तथा पार्टी रूपान्तरणको स्पिरिटसहितको दस्ताबेजका रूपमा हाउसले स्वीकार गरेको निष्कर्ष सुनाए । ‘तपाईंले यो कसैको करकापमा, आवेशमा वा अन्धभक्तिमा यसो स्वीकार गर्नुभएको होइन,’ उनले भने ।

चुनावपछि विशेष महाधिवेशन
प्रचण्डले संगठनलाई रूपान्तरण र विचारलाई अझ विकसित गर्न विशेष महाधिवेशनमा जाने बताएका छन् । ‘संगठनलाई रूपान्तरण र विचारलाई अझ विकसित गर्न विशेष महाधिवेशनमा जाने भनेका छौँ । विचारको ऐतिहासिक सुरुवात भएको छ । पूर्ण भएको छैन । चुनावपछि विशेष महाधिवेशन गरेर गम्भीर बहससँगै विचारको विकास गर्छौँ,’ महाधिवेशनस्थलबाहिर सञ्चारकर्मीसँग प्रचण्डले भने ।

उनले प्रतिनिधिले उठाएका सबै सुझावलाई मिहीन ढंगले अध्ययन गरेको भन्दै चुनावपश्चात् विशेष महाधिवेशन गरेर यही दस्ताबेजमा समेटेर ल्याउने बताए । ‘कुनै पनि दस्ताबेज आफैँमा पूर्ण भन्ने हुँदैन । चाहे त्यो मार्क्सले लेखेको होस्, चाहे लेनिनले लेखेको । तर, त्यसको सार के हो भन्ने महत्वपूर्ण हुन्छ,’ प्रचण्डले भने, ‘त्यसैले अहिले तपाईंले दिएका सबै सुझावले पार्टी र पार्टीको कार्यदिशालाई थप बलियो बनाउनेछ भन्ने मेरो विश्वास छ । अब चुनाव सुरु हुन लागेको छ । राष्ट्रिय सभा हुँदै स्थानीय र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि विशेष महाधिवेशन गरेर त्यसबाट दस्ताबेजमा समेट्ने हो ।’ 

शनिबार विधान पारित भएपछि नेतृत्व चयन
आठौँ राष्ट्रिय महाधिवेशन आइतबारसम्म लम्बिने भएको छ । ११ पुसबाट सुरु भएको महाधिवेशन १५ पुस अर्थात् बिहीबारसम्म चल्ने कार्यसूची थियो । तर, शुक्रबार पनि विधान मस्यौदा पारित नभएपछि महाधिवेशन आइतबारसम्म लम्बिने संकेत देखिएको छ । विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले शनिबार जवाफ दिने कार्यक्रम छ । 

शनिबार बिहान ११ बजे बन्दसत्र सुरु हुनेछ । समानुपातिक कोटामाथि विधानमा धेरै काम भएकाले यसमाथि छलफलको सम्भावना रहेको नेताहरूले बताएका छन् । शनिबार विधान पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले बताए । विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ । 

माओवादीले १५ सदस्यीय पदाधिकारी र दुई सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी छ । दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी छ । पार्टीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया सुरु हुने बताए ।