१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ ४ शुक्रबार o६:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सामाजिक संस्थाको आवरणमा धर्म प्रचार र व्यापार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:५८:oo

बुद्धिस्टहरूलाई क्रिस्चियन बनाउने ललितपुरको माउन्टेन चाइल्डलाई कारबाही गर्न महिला तथा बालबालिका मन्त्रालय तथा अध्यागमन विभागलाई पत्राचार 

बालबालिकालाई सहयोग गर्ने नाममा स्थापना भएको एक संस्थाले नेपालमा धर्म परिवर्तन तथा व्यापारको काम गरेको पाइएपछि गृह मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको छ । ललितपुरमा रहेको माउन्टेन चाइल्ड नामक संस्थाका सञ्चालकले सामाजिक सेवाको नाममा गैरकानुनी काम गरेको भन्दै गृहले कारबाही प्रक्रिया अघि बढाएको हो ।

गृह मन्त्रालयले माउन्टेन चाइल्डमाथि अनुसन्धान गरी कारबाही गर्न महिला तथा बालबालिका मन्त्रालय तथा अध्यागमन विभागलाई पत्राचार गरेको छ । महिला मन्त्रालयले संस्थालाई कारबाही गर्न समाज कल्याण परिषद्लाई भनेको छ । गृहको प्रतिवेदनमा टेकेर समाज कल्याणले थप छानबिन थालेको छ । समाज कल्याण परिषद्का सदस्य–सचिव मनोज भट्टका अनुसार गृहबाट आएको छानबिन प्रतिवेदनमा सो संस्थाले बुद्धिस्टहरूलाई क्रिस्चियन बनाएको भन्ने उल्लेख छ । ‘तर, सम्बन्धित व्यक्तिहरू हामीलाई क्रिस्चियन बनाएको होइन भनेर आउनुभएको छ,’ भट्टले भने, ‘त्यो विषयमा मैले पनि विस्तृत बुझ्न पाएको छैन ।’ 

भिसाको दुरुपयोगसम्बन्धी अपराधमा अध्यागमन विभागले कारबाहीको तयारी गरेको छ । ‘गृहबाट पत्र आएको छ, त्यस विषयमा थप बुझ्दै छौँ,’ विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने । 

अमेरिकाको माउन्टेन चाइल्ड नामक संस्थामार्फत सहयोग लिएर नेपालमा माउन्टेन चाइल्ड इन्क नेपाल संस्था सञ्चालन हुँदै आएको छ । सोही संस्थाका सञ्चालकहरूले माउन्टेन चाइल्ड गेस्ट हाउस, माउन्टेन चाइल्ड एडभेन्चर ट्राभल एन्ड ट्रेकिङ, एभ्रिडे हिमालय, धार्चाेक रिट्रिट सेन्टर, बौद्ध होस्टेल र स्टारलाइट फाउन्डेसनजस्ता संस्था सञ्चालन गर्दै आएका छन् । सबै संस्थाका मुख्य मालिक अमेरिकी नागरिक ज्याक हुड रेड हुन् । 

अमेरिकाका क्रिस्चियन मिसनरीमार्फत रकम ल्याएर नेपालमा लगानी
नेपाली मूलका अमेरिकी नागरिक सुजन घिमिरेसँग मिलेर एनजिओको नाममा धर्म र व्यापार गरेको गृहको छानबिन रिपोर्टमा उल्लेख छ । सो संस्थामार्फत उनीहरूले हिमाली जिल्लाका दुर्गम गाउँमा स्कुल खोल्न भनेर सामाजिक कल्याण परिषद्बाट स्वीकृति लिएका थिए, जसले गोरखाको नुर्बुलगायत ठाउँमा स्कुल पनि खोल्यो । शिक्षा दिनुभन्दा त्यसको उद्देश्य धर्म परिवर्तन भएको खुलेपछि परिषद्ले सो संस्थाको प्रोजेक्ट नै रद्द गरेको थियो । बुद्धिस्ट बालबालिकालाई उनीहरूले क्रिस्चियन धर्ममा लगाएको पुष्टि भएपछि परिषद्ले कारबाही गरेको थियो । छानबिनका क्रममा दुर्गम गाउँमा उनीहरूले क्रिस्चियन स्कुलसमेत चलाएको पाइएको थियो । अहिले फेरि सो संस्थाका सञ्चालकहरूले स्टारलाइट फाउन्डेसनमार्फत त्यस्तै काम गरेको खुलेपछि छानबिन र कारबाही हुन लागेको हो । 

संस्थाले अमेरिकाका क्रिस्चियन मिसनरीमार्फत ठूलो रकम ल्याएर नेपालमा खर्च गर्दै आएको छ । सो संस्थाको अध्यक्ष माउन्टेन चाल्इडकै सुजन घिमिरे छन् । संस्थाले सामाजिक सेवाको नाममा धर्म परिवर्तनमा पैसा खर्च गर्ने गरेको र केही सञ्चालकले अनुदान रकम नै आफ्नो नाममा कम्पनी खोलेर व्यापारमा लगाएको गृहको छानबिनबाट पुष्टि भएको हो । गृहले यस्तो गतिविधिमा संलग्न विदेशीलाई कानुनी कारबाही गरी निष्कासन गर्न निर्देशन दिएको छ । सोही आधारमा संस्थाका सञ्चालक ज्याक रेड, स्कट निकोलस स्मिथ, क्रिस्टोफर चार्ल्स रिचर्डसन, सुजन घिमिरे, सारा डुइट घिमिरेमाथि छानबिन थालेको हो । 

ad
ad