१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
मञ्जु टेलर काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o८:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

नेपालमा थप एकजनामा ‘ओमिक्रोन’ पुष्टि, तत्काल समुदायमा फैलिने सम्भावना कम

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:१o:oo

चिकित्सकहरू भन्छन्– ओमिक्रोन शंका गरिने एस जिन परीक्षणमा न्यून नमुना भेटिएकाले तत्काल समुदायमा फैलिने सम्भावना कम छ

नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार ५८ वर्षीय पुरुषमा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि भएको हो । मन्त्रालयले हाल उनी होम आइसोलेसनमा रहेको र उनको सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङ थालिएको जनाएको छ । उनीसँगै जिन सिक्वेन्सिङ गरिएका अन्य २२ जनामा भने डेल्टा भेरियन्ट देखिएको छ । 

योसँगै नेपालमा ‘ओमिक्रोन’ संक्रमितको संख्या तीन पुगेको छ । यसअघि २० मंसिरमा दुईजना विदेशी नागरिकमा पहिलोपटक ‘ओमिक्रोन’ पुष्टि भएको थियो । पहिलोपटक भेरियन्ट देखापरेको १६ दिनपछि ‘ओमिक्रोन’ पुष्टि भएसँगै समुदायमा संक्रमण फैलिएको हुन सक्ने जोखिम बढेको चिकित्सकहरूले बताएका छन् । तर, ‘ओमिक्रोन’ शंका गरिने एस जिन परीक्षणमा न्यून नमुना फेला परिरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन् ।

डा. रुना झा, निर्देशक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

विश्वभर तीनजना ओमिक्रोन संक्रमितमा मात्र एस जिन फेलियर नभएको पाइएको छ, जुन अपवादको रूपमा लिन सकिन्छ । यसर्थ एस जिनको मात्रै जाँच गर्‍यो भने ओमिक्रोन शंका गर्न सकिन्छ । अहिले नेपालमा नेगेटिभ नमुना निकै न्यून भएकाले जिन सिक्वेन्सिङ पनि ढिला गरिरहेका छौँ ।
 

उनका अनुसार ओमिक्रोन देखिएयता साढे दुई हजार नमुनामा एस जिन टार्गेट फेलियर परीक्षण गरिएको छ । टार्गेट फेलियर देखिएका तीनैजनामा ओमिक्रोन पुष्टि भएको हो । ‘जिन सिक्वेन्सिङ नियमित सम्भव हुँदैन, ओमिक्रोन भेरियन्ट पुष्टिका लागि एस जिन परीक्षण नियमित भइरहेका छन् । एस जिन टार्गेट फेलियर देखिएका नमुनामा मात्रै जिन सिक्वेन्सिङ गरिन्छ । यस्ता नमुना एकदमै न्यून छन्,’ झाले भनिन् । वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा एस जिन परीक्षण भइरहेको राष्ट्रिय प्रयोगशालाले जनाएको छ । 

हालसम्म ओमिक्रोन पजिटिभ देखिएका संक्रमितमा एस जिन नेगेटिभ देखिएका कारण एस जिन परीक्षणमा तीव्रता दिइएको बताउँछिन् डा.झा । ‘विश्वभर तीनजना ओमिक्रोन संक्रमितमा एस जिन फेलियर नभएको पाइएको छ, जुन अपवादको रूपमा लिन सकिन्छ । यसर्थ एस जिनको मात्रै जाँच गर्‍यो भने ओमिक्रोन शंका गर्न सकिन्छ । अहिले नेगेटिभ नमुना निकै न्यून भएकाले जिन सिक्वेन्सिङ पनि ढिला गरिरहेका छौँ,’ उनले भनिन् । यद्यपि एस जिन नेगेटिभ देखिने सबै नमुनामा ओमिक्रोन पजिटिभ नहुन सक्छ । अध्ययनहरूले अल्फा र न्यून मात्रामा डेल्टा भेरियन्टका संक्रमितमा पनि एस जिन नेगेटिभ भेटिएको जनाएका छन् ।

जुनसुकै कोभिड संक्रमितमा पनि ओमिक्रोन हुन सक्ने भएकाले लक्षण देखिएसँगै अनिवार्य परीक्षण गराउनुपर्ने भाइरोलोजिस्ट डा.शेरबहादुर पुन बताउँछन् । ‘ओमिक्रोन संक्रमणको असरबारे अझैसम्म पनि पर्याप्त जानकारी नभएकाले संक्रमणलाई बेवास्ता गरिनुहुँदैन । डेल्टा र अन्य भेरियन्ट नै भए पनि गम्भीर समस्या निम्त्याउने जोखिम उस्तै छ । खोप लगाउने, स्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र लक्षण देखिएमा परीक्षण गराउनेजस्ता कार्यलाई निरन्तरता दिनु झन् आवश्यक देखिएको छ,’ उनले भने ।

कुनै विशेष तह वा क्षेत्रको प्रतिकार्यले मात्रै कोभिड–१९ को रोकथाम र नियन्त्रण सम्भव नहुने भएकाले यसविरुद्ध सबै क्षेत्र, वर्ग र तह तप्का लाग्नु आवश्यक रहेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताउँदै आएका छन् । ओमिक्रोन नामक नयाँ लहर सिर्जना भएकाले थप सजगताका साथ पूर्वतयारी गर्नुपर्ने आवश्यकता आइपरेको उनको भनाइ छ ।

भारतमा ओमिक्रोन संक्रमण तीव्र
भारतमा ओमिक्रोन संक्रमण तीव्र रूपमा फैलिरहेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको विवरणअनुसार बुधबारसम्म दुई सय १३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । महाराष्ट्र र दिल्लीमा संक्रमितको संख्या दिनानुदिन बढिरहेकाले कडाइ गर्नसमेत सरकारले निर्देशन दिएको छ । बुधबारसम्म दिल्लीमा ५७ र महाराष्ट्रमा ६५ जनामा संक्रमण देखिएको छ । अन्य प्रान्तमा समेत ओमिक्रोन संक्रमण बढ्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हालसम्म ९४ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । 

ओमिक्रोन संक्रमण डेल्टाको तुलनामा तीन गुणा बढी संक्रामक रहेको र सबैजसो प्रान्तमा फैलिएको भन्दै भारतीय स्वास्थ्य मन्त्रालयले स्थानीय र जिल्लास्तरमा कडाइ गर्नसमेत निर्देशन दिएको छ । डेल्टा संक्रमणसमेत पछिल्लो साताको तुलनामा बढ्दै गएको छ । भारतमा कोरोना संक्रमण पछिल्लो दिनको तुलनामा १८ दशमलव ६ प्रतिशतले बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

ओमिक्रोनविरुद्ध खोप बनाउने तयारीमा एस्ट्राजेनेका कम्पनी
हाल प्रयोगमा आइरहेको खोपको प्रभावकारिता घट्दै गएको भन्दै एस्ट्राजेनेका कम्पनीले ओमिक्रोन भेरियन्टलाई लक्षित गरी नयाँ खोप निर्माणको तयारी थालेको जनाएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै अक्सफोर्ड विश्वविद्यालयको सहयोगमा खोप परीक्षण थालेको बताएको हो । एडिनो भाइरसमा आधारित खोपमा कुनै पनि नयाँ भेरियन्टविरुद्ध प्रभावकारी बनाउन सकिने भन्दै कम्पनीले परीक्षण थालेको छ । गत साता गरिएको क्लिनिकल परीक्षणमा खोप ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको पाइएको छ । ओमिक्रोन तीव्र फैलिएपछि फाइजर र मोडेर्नाले यसअघि नै खोप विकासमा काम गरिरहेको बताएका छन् ।

युरोपमा संक्रमण नियन्त्रणका लागि प्रतिबन्धमा कडाइ
युरोपमा ओमिक्रोन संक्रमण नियन्त्रणका लागि प्रतिबन्धमा कडाइ थालिएको छ । जर्मनी र पोर्चुगलले क्रिसमसको अवसरमा सामाजिक दूरी कायम राख्ने र भिडभाडमा पूर्णतया प्रतिबन्ध लगाएका छन् । स्पेनले महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमित भेटिएको जनाएको छ । फ्रान्सले भिडभाड नरोकिएमा दैनिक एक लाख संक्रमित बढ्ने चेतावनी दिएको छ । फ्रान्सेली स्वास्थ्यमन्त्री ओलिभियर भेरानले भनेका छन्, ‘ओमिक्रोनका कारण हाल दैनिक संक्रमण लगभग ७० हजारको हाराहारीमा छ, जुन जनवरीको सुरुवातमा महामारीको कारण बन्न सक्छ ।’ विश्व स्वास्थ्य संगठनले युरोपमा बढ्दै गएको संक्रमण चिन्ताजनक भएको बताएको छ । 

ad
ad