निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १३ शुक्रबार
  • Friday, 27 May, 2022
२०७८ पौष ७ बुधबार ०७:५७:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

एक दशकपछि गुरुकुल फेरि सुरु हुँदै, पहिलाको जस्तो गल्ती दोहोर्‍याउने छैन : सुनील पोखरेल

Read Time : > 3 मिनेट
२०७८ पौष ७ बुधबार ०७:५७:००

नेपाली रंगमञ्चका सुनील पोखरेल निपुण कलाकार, निर्देशक तथा शिक्षकका रूपमा चिनिन्छन् । नेपाली रंगमञ्चले हालको उचाइ कायम गर्न उनले महत्वपूर्ण योगदान गरेका छन् । उनले काठमाडौंको बानेश्वरमा खोलेको गुरुकुल थियटर ब्रान्डका रूपमा स्थापित भएको थियो । तर, सन् २०११ मा यो बन्द भयो । गुरुकुल बन्द भएसँगै उनी केही वर्ष गुमनामजस्तै बने । यद्यपि, उनी निरन्तर कला साधनामै रहे । साथै गुरुकुल खुलाउन निरन्तर जग्गाको खोजीमा पनि रहे । तर, जग्गा फेला पार्न सकेनन् ।

खुसीको कुरा एक दशकअघि बन्द भएको गुरुकुल अब पुनः सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाले एक वर्षको भाडा बेहोर्ने भएपछि थापागाउँस्थित गुञ्ज थिएटरको एउटा हल एक वर्षका लागि गुरुकुलका नाममा सञ्चालन हुने सम्झौता भएको छ । यही ३० पुसदेखि औपचारिक रूपमा गुरुकुल टिम नाटक मञ्चन लागि जुटेको छ । यसै सन्दर्भमा गुरुकुलका संस्थापक सुनील पोखरेलसँग गुरुकुलको पुनरागमन, विगत र गुरुकुलको भविष्यबारे नयाँ पत्रिकाका पवन बराइलीले गरेको संवाद :

दशकपछि गुरुकुलको पुनरागमन हुँदै छ । तपाईं आफैँलाई चाहिँ कस्तो महसुस भइरहेको छ ?
उत्साहित छु । सँगै डर पनि लागिरहेको छ । यो उमेरमा आएर फेरि बिहान–बेलुकै दुःख गर्न खोजिरहेको छु । म १४ वर्षको उमेरदेखि पहिचानको खोजीमा नाटकमा लागे । त्यतिवेला खोजेको पहिचान अब आएर महत्वपूर्ण रहेन । मेरो नाम पनि महत्वपूर्ण रहेन । अहिले आएर मैले जे खाजिरहेको छु त्योचाहिँ महत्वपूर्ण रहेछ । नाम जसको भए पनि मलाई फरक पर्दैन । विगत सम्झिँदा लाग्छ म जीवनको अर्थ खोजिरहेको रहेछु । त्यो पनि नबुझेरै । अहिले बुझेर जीवनको अर्थ खोजेको छु ।

गुरुकुल आफैँमा ब्रान्ड हो । पुनरागमनमा किन धेरै समय लाग्यो ?
गुरुकुललाई पुनः सञ्चालन गर्ने पहिलेदेखि नै मन थियो । तर, हामीसँग पैसा र स्थान थिएन । अहिले काठमाडौं महानगरपालिकाले भाडा तिर्ने भनेपछि हामीले एक वर्षका लागि सम्झौता गरेका छौँ । दीर्घकालीन गुरुकुलका लागि आफ्नै जग्गा भेटिएको छैन । विराटनगरमा भने गुरुकुलको आफ्नै जग्गा छ । यो बीचमा सरकारले भाडा जग्गा मिलाइदिने आश्वासन पनि दिएको हो । तर, त्यो त्यसै हरायो ।

‘गुरुकुल’का हिजोका दिन कसरी सम्झनुहुन्छ ?
गुरुकुल स्थापना गर्दा मेरो जीवन उत्कर्षमा थियो । मेरो लागि जीवनको ऊर्जाशील समय थियो । मैले आफ्नो सीप, श्रम र ऊर्जा समर्पण गरेको थिएँ । अब त्यति नै ऊर्जा, श्रम र सीप दिन सक्छु कि सक्दिन मलाई थाहा छैन । तर, अन्तिमसम्म कोसिस गर्छु । मेरो ‘इनर्जी’ उस्तै छ जस्तो लाग्छ । तर, गुरुकुलको सुरुवात गर्दाको जस्तै छ वा छैन थाहा छैन । त्यतिवेला पनि हामी दुई वर्ष यसैमा जीवन लगाउने भनेर लागेका थियौँ ।

फेरि अहिले गुरुकुल सुरु हुन लागेको छ, यो मेरो जीवनको निभ्न लागेको बत्ती हो । बत्ती निभ्नुअघि चहकिलो हुन्छ रे । यो चहकिलो पनि निभ्नका लागि हो कि भन्ने डर पनि लाग्छ । तर, त्यस्तो नभइदिओस् । त्यो वेला पनि जीवनलाई माया मारेर लागेका थियौँ । अहिले पनि जीवनलाई माया मारेर लागेका छौँ । तर, त्यतिवेला मबाटै केही गल्ती भएको हो ।

ती गल्तीहरूलाई अहिले कसरी समीक्षा गर्नुहुन्छ ? त्यस्ता गल्ती फेरि दोहोरिने सम्भावना कति छ ?
मैले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । ‘गुरुकुल’ बन्द हुनुको पछाडि मेरै गल्ती थियो । त्योवेला मैले भविष्य सोचिनँ । यसैगरी चल्दै जान्छ, जे भइरहेको छ त्यो ठिकै छ जस्तो लाग्यो । मैले वर्तमानलाई मात्रै सोचेछु, भविष्यका बारेमा सोचिनछु ।

गुरुकुलको भविष्यबारे त्यतिवेला सोचेको भए (११ वर्षअघि) सायद अर्कै अवस्था हुन्थ्यो । त्यतिवेला मेरो ध्यान नयाँ नाटक मात्रै गर्नुपर्छ भन्ने थियो । अर्काे विषय मैले व्यवस्थापनमा पनि चासो दिएँछु । त्यसो गर्नु नहुने रहेछ । हिजोका गल्ती र कमजोरीलाई मैले समीक्षा गरिसकेको छु । अब त्यस्ता गल्ती दोहोर्‍याउने छैन । किनभने मैले आफ्नो सीमा थाहा पाइसकेको छु । मेरो काम नाटक गर्नेे मात्रै हो । टिकट कति बिक्री भइरहेको छ ? अरू के–के भइरहेको छ चासो राख्ने मेरो काम होइन ।

तपाईंका विद्यार्थी अहिले सिनेमा र नाटकमा स्थापित छन् । गुरुकुल फेरि सञ्चालन गरेर रंगमञ्च ‘कल्चर’लाई पुनजीर्वित गर्न खोज्नुभएको हो ?
व्यक्तिगत जीवनको छनोट गर्न सबैले पाउनुपर्छ । सबैले आ–आफ्नो कर्म गर्ने हो । मेरा विद्यार्थी जहाँ छन्, त्यहाँ उनीहरू कर्म गरिहेका छन् । म त्यसैमा खुसी छु । अहिले उनीहरू पनि व्यस्त छन् । व्यस्तताको बीच पनि निरन्तर छलफल भइरहेको छ ।

भविष्य कसैले देखेको हुँदैन । मैले जे गर्न खोजिरहेको छु त्यो आजै भन्न सक्दिनँ । मैले मेरो जीवनको निभ्न लागेको बत्ती बाल्न खोजेको हो । अहिले म ५९ वर्षको भए । कस्सिएर रंगमञ्चमा काम गरेँ भने अब बढीमा १० वर्ष गर्न सक्छु । त्यसपछि कसैलाई ‘लिगेसी’ हस्तान्तरण गर्नुपर्छ । त्यसका लागि पनि गुरुकुलको पुनःजन्म भएको हो । त्यसको अभ्यास पनि हुनेछ ।

गुरुकुलमा अब कस्ता नाटक मञ्चन हुन्छन् ?
यही १० पुसदेखि नाटकको रिहर्सल सुरु हुँदै छ । अहिले कार्यालय निर्माण भइरहेको छ । हल सेट अफ्को पनि भइरहेको छ । पुराना पाँचवटा नाटकको तयारीमा छौँ । किनभने नयाँ पुस्ताले गुरुकुलको पुराना नाटक हेर्न पाएका छैनन् । असार मसान्तसम्म पाँचवटा पुरानै नाटक मञ्चन हुन्छन् । गुरुकुलका पुराना नाटक ‘डल्स हाउस’, ‘ताराबाजी लै लैै’,‘जात सोध्नु जोगीको’, ‘अग्निको कथा’ र एउटा नयाँ नाटक मञ्चन गरिनेछ । कलाकारका रूपमा पुराना विद्यार्थीसँग पनि छलफल भइरहेको छ । केही नयाँ कलाकार पनि हुन्छन् ।

नाटकसँग जीवन कसरी जोड्नुहुन्छ ?
मेरो लागि दुवै मिश्रित छन् । नाटकमा खेलेको र निर्देशन गरेको चरित्रले जीवनमा फर्किएर आएर लात्ताले हान्छन् । यस्तै जीवनका अनेक अनुभव नाटकमा मिसिन्छन् । त्यसकारण म नाटक र वास्तविक जीवनमा खासै फरक देख्दिनँ । जीवन नाटकमा आउँछ, नाटक जीवनमा जान्छ । मेरो लागि नाटक ‘अध्यात्म’ हो । मेरो लागि नाटक जीवनको अर्थ खोज्ने बाटो हो । सबैले आफ्नै कर्मबाट जीवनको अर्थ खोज्लान् मैले नाटकबाट जीवनको अर्थ खोजिरहेको छु ।

अहिलेको अवस्थामा एउटा स्वतन्त्र रंगकर्मी जीवन कसरी चल्छ ?
जीवन सजिलोसँग बाँच्ने कि अप्ठ्यारोसँग बाँच्ने तपाईंको रोजाइ हो । त्यो महत्वपूर्ण हुन्छ र तपाईंमै भर पर्छ । हो, नाटकमा धेरै कमाइ छैन । तर, नाटकै गरेर जीवन चलाउन सक्ने मान्छे पनि त छन् । सबैले जीवन चलाउन सक्छन् पनि भन्न सक्दिनँ । जीवन कसरी चलाउने ? खान र बस्न मात्रै जीवन हो वा त्योभन्दा अरू पनि जीवन हो ? योचाहिँ महत्वपूर्ण हो । सजिलो जीवन बाँच्ने हो भने हामी दुःख–सुख नाटकमै बाँचिरहेका छौँ । आफ्नो जीवन कसैको जीवनसँग तुलना गर्नुहुँदैन ।