१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:o७:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

धर्नास्थलमै पढ्न र लेख्न सिक्दै

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:o७:oo

बाँकेमा मारिएकी नकुन्नी धोबी र बेपत्ता पारिएकी निर्मला कुर्मीको न्यायका लागि नेपालगन्जबाट आएर काठमाडौंमा धर्ना दिइरहेका निरक्षर अधिकारकर्मीहरूले २४ दिनमा पढ्न र लेख्न पनि सिक्दै छन्

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

सहेदा दर्जीले बाँकेका दुई महिला नकुन्नी धोबी (मारिएकी) र निर्मला कुर्मी (बेपत्ता पारिएकी)को न्यायका लागि नेपालगन्जबाट आएर काठमाडौंमा धर्ना दिएको २६ दिन भयो । उनले हरेक दिन माइतीघरको चिसोमा बसेर सिंहदरबारलाई ब्युँझाउने कोसिस मात्रै गरेकी छैनन्, धर्नास्थलबाटै आफूलाई साक्षर नागरिकमा बदल्न सफल भएकी छिन् । 

बाँके परसपुरकी ३५ वर्षीया दर्जी घरबाट काठमाडौं निस्किँदा आफ्नो नाम पनि लेख्न जान्दैनथिन् । अहिले ‘माइन्युट’मा आफैँ हस्ताक्षर गर्न सक्ने भएकी छिन् । आफ्नो मात्र होइन, श्रीमान्, छोराछोरीसहित परिवारका अन्य सदस्यको नामसमेत प्रस्टसँग लेख्न सक्छिन् । आन्दोलनमा सहभागी हुन उनी कहिल्यै रित्तो आइनन्, हरेक दिन झोलामा किताब, कापी र कलम ल्याइन् । दिनभर आन्दोलनस्थलमै ‘साँवा’ अक्षर चिन्ने र लेख्ने कोसिस गरिन् जसले उनलाई साक्षर बनायो । थप सिक्ने प्रयास जारी छ । 

सोमबार माइतीघर मण्डलाको आन्दोलनस्थलमा भेटिएकी उनले मुस्कुराउँदै भनिन्, ‘हामी १० बजेबाट आन्दोलनमा सहभागी हुन्छौँ । कापी, किताब र डटपेन पनि सँगै ल्याउँछौँ । दिनभर यहीँ पढ्छौँ । मैले त आफ्नो मात्रै होइन, परिवारका सबैको नाम लेख्न जानिसकेँ ।’

नेपालगन्जकै ३० वर्षीया रिना चमारको घरमा पढेका कोही छैनन् । उनी पनि अक्षर चिन्दिनथिन् । तर, धर्नाका २४ दिनले उनको विगत नै बदलिएको छ । उनलाई अहिले आफ्नो र परिवारका सदस्यको मात्रै होइन, जन्मेको गाउँको नामसमेत लेख्न आउँछ । कलंकी बस्ने उनी आन्दोलनमा आउँदा झोलामा कापी र कलम हाल्न छुटाउँदिनन् । 

‘घरमा पढेलिखा कोही नाइँ । तर, अब मलाई लेख्न आउँछ । यहीँ सबै सिकिसकेँ । अब माइन्युटमा आफैँ हस्ताक्षर गर्छु । घर पुगेर श्रीमान्लाई पनि मैले जानेको सिकाउँछु,’ उनले सुनाइन् । 

आन्दोलनमा सहभागी बाँकेकी ४० वर्षीया मुन्नी हलुवाईलाई अचेल मइतीघरको आन्दोलनस्थल विद्यालयजस्तै भएको छ । कक्षाकोठामा शिक्षकले विद्यार्थीलाई सिकाएजस्तै धर्नास्थलमै सहभागी स्वयंसेवी शिक्षकले उनलाई हात समाएर ‘क’ लेख्न सिकाए । शिक्षकले धर्नास्थलमै अभ्यास गर्न लगाए । झोलामा कापी–कलम ल्याए–नल्याएको निगरानी गरे । कलम कहिल्यै नसमातेकी उनी हेर्दाहेर्दै ‘कलम’ लेख्न सक्ने भइन् । ए, बी, सी, डीसमेत लेख्न सक्ने भएकी छिन् । 

अवधीमा बोल्ने उनको आशय उल्था गर्दै आन्दोलनकी अगुवा रुवि खानले भनिन्, ‘यिनलाई पनि लेख्न, पढ्न आउँदैनथ्यो । आन्दोलनकै मैदानमा बाह्रखरी र ए, बी, सी, डी जानिन् । अहिले यिनी पनि माइन्युट बुकमा ल्याप्चे होइन, हस्ताक्षर नै गर्छिन् । खुब खुसी छिन् ।’ 

सानोमा हल्काफुल्का सिके पनि भुलिसकेका नेपाली वाक्य गठन गर्न सिकिन् नेपालगन्ज रामनगरकी ४० वर्षीया निशा कुरेसीले । नकुन्नी र निर्मलाको न्यायका लागि चलिरहेको आन्दोलनका लागि आवश्यक नारा अहिले उनै कोर्छिन् । पटक–पटकको लेखन अध्यासले उनको ‘ह्यान्डराइटिङ’ पनि सुधार भएका छन् । यो क्रमलाई आन्दोलनभर निरन्तरता दिने योजनामा छिन् उनी । 

‘मलाई अलिअलि पढ्न–लेख्न आउँथ्यो । तर, वाक्यगठनमा कठिनाइ थियो । अहिले आन्दोलनकै क्रममा मैले ती सबै जानेँ । अहिले त आन्दोलनका लागि आवश्यक नारासमेत मै लेख्छु,’ उनले सुनाइन् ।

बाँके जानकी गाउँपालिका– २ नेवाज गाउँकी धोबी ५ साउनमा घरमै झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । घरेलु हिंसामा परेकी नकुन्नीको मृत्यु शंकास्पद लागेपछि स्थानीयले अनुसन्धान गर्न प्रहरीसँग आग्रह गरेका थिए । प्रहरीले उनको हत्या भएको निष्कर्षसहित मुद्दा अभियोजन गरेको छ ।

त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरकी कुर्मी १४ पुस ०७७ दिनदेखि बेपत्ता छिन् । उनका श्रीमान् महालु कुर्मीको ०६२ मै मृत्यु भएको थियो । त्यसको चार वर्षपछि उनका नाबालक दुई छोराको १५ दिनको अन्तरमा अस्वाभाविक ढंगबाट मृत्यु भएको थियो । निर्मलाको अपहरणपछि उनको हत्या गरिएको भन्दै आफन्तले बाँके प्रहरीमा १६ मंसिर ०६७ मै १२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । यसमा कांग्रेसका तर्फबाट पहिलो संविधानसभा सदस्य बनेका बादशाह कुर्मीको प्रमुख हात रहेको अधिकारकर्मीहरू बताउँछन् । 

दुवै घटना छानबिन गर्न गत २ कात्तिकमा रुवि खान नेतृत्वको अधिकारकर्मी समूह र सरकारबीच सम्झौता भएको थियो । सम्झौताकै आधारमा सरकारले छानबिन समिति गठन गरेर प्रतिवेदन पनि तयार ग¥यो । तर, न सरकारले प्रतिवेदन सार्वजनिक ग-यो, न दोषीविरुद्ध छानबिन नै भयो । बरु पक्राउ परेका आरोपीहरूलाई पनि थुनामुक्त गरियो । छानबिन समितिले रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बब्बन सिंह ठाकुरको भूमिका शंकास्पद रहेको बताएपछि बाँके प्रहरीले सबैलाई पक्राउ गरेको थियो । तर, धरौटीमा छाड्यो । यसैको विरोधमा पीडित ९ मंसिरदेखि पुनः माइतीघर मण्डलामा धर्नामा छन् । धर्ना सुरु भएको २६ दिन बित्यो । तर, सुनुवाइ हुने कुनै छाँट छैन । 

सरकारको बेवास्ताले आन्दोलनकी अगुवा रुवि दु:खी छिन्, तर साँवा अक्षर नचिन्ने सहयोद्धा आन्दोलनस्थलमै साक्षर बनेकोमा उत्साहित पनि छिन् । उनी भन्छिन्, ‘आन्दोलन चलिरहने प्रक्रिया हो । यसले अझै कति र कस्तो रूप लिन्छ ठेगान छैन । तर, मेरा सहयोद्धाहरू अहिले आन्दोलनस्थलमै लेख्न जान्ने भएका छन् । धर्नामा सहभागी उनीहरू दिनभर शिक्षकसँग पढ्छन् । डेरा पुगेर दोहो-याउँछन् । ल्याप्चेको ठाउँमा हस्ताक्षर देख्दा अत्यन्तै खुसी लागेको छ ।’

धर्ना न्यायसँग सम्बन्धित थियो । सुरु भएकै दिनबाट धर्नास्थलमा विभिन्न तहका व्यक्ति सहभागी हुनु स्वाभाविक थियो । यही क्रममा रुविलाई सहभागीमध्ये कसैले भनिदिए, ‘यी दिदीहरूलाई यहीँ पढाउँदा कसो होला ?’ रुविलाई यो प्रस्ताव ठीकै लाग्यो । अनि आन्दोलन सुरु भएको पर्सिपल्ट ११ मंसिरदेखि धर्नास्थलमा पढाइ सुरु भयो । कलेजका स्वयंसेवी विद्यार्थीमध्येकी अनिता पण्डित र अप्सरा केसीले किताब, कापी र कलम ल्याइदिए । गोविन्द भण्डारी, नविक कोइरालालगायतको टिमले आलोपालो गरी पढाउन थाल्यो । 

धर्नास्थलमा पढाइ सुरु भएको सोमबार २४ दिन पुग्यो । प्रत्येक दिन बिहान ११ बजेबाट पढाइ सुरु हुन्छ । अपराह्न ४ बजे सकिन्छ । यो क्रम आन्दोलन अवधिभर चल्ने स्वयंसेवीमध्येका विद्यार्थी मिर्ग नवीनले बताए । उनले भने, ‘धर्नास्थलमा सहभागी दिदीहरूलाई यही कक्षा लिँदा कसो होला भन्ने विषय सिर्जनात्मक थियो । साथीभाइबीच छलफल भयो । नयाँ प्रयोग गर्न सबै सहमत भयौँ । लगत्तै पढाइ सुरु गरियो । अहिले दिदीहरू लेख्न र पढ्न सक्ने हुनुभएको छ ।’ 
 

ad
ad