१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टेकराज थामी काठमाडौँ
२०७८ पौष ५ सोमबार ०६:०३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

इच्छाराजकी श्रीमती सिर्जनाको नाममा अस्वाभाविक सम्पत्ति

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौँ
२०७८ पौष ५ सोमबार ०६:०३:००

सिभिल सहकारी ठगीको मुख्य योजनाकार इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङले सरकारी जागिर अवधिभर ३२ लाख रुपैयाँ मात्रै कमाइन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको प्रतिवेदनमा उनको नाममा अर्बभन्दा धेरै सम्पत्ति रहेको खुलेको छ । 

सिआइबीका अनुसार सिर्जना नेपाल सरकारको ओभरसियर हुन् । उनले २१ भदौ ०४६ मा सरकारी सेवामा प्रवेश गरी १७ वैशाख ०७४ मा स्वेच्छिक अवकाश लिएकी थिइन् । विभिन्न सरकारी कार्यालयमा रहेर काम गरेकी उनले जागिरे अवधिभर ३२ लाख रुपैयाँ मात्रै कमाइ गरेकी थिइन् । तर, उनको नाममा अहिले अस्वाभाविक रूपमा सम्पत्ति फेला परेको ब्युरो प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताए । सिंहका अनुसार सिर्जनाको सम्पत्ति सेयर, जग्गा र लक्जरी गाडी हुन् । 

सिआइबीको प्रतिवेदनअनुसार सिर्जनाको नाममा विभिन्न कम्पनीमा संस्थापक सेयर १७ करोड ७२ लाख ५४ हजार तीन सय रुपैयाँको छ । यसबाहेक विभिन्न कम्पनीमा तीन करोड २९ लाख २६ हजार रुपैयाँको साधारण सेयर उनको नाममा भेटिएको छ । सिभिल सहकारीमा उनको १२ करोड ५६ लाख ५१ हजार पाँच सय मूल्यबराबराको सेयर छ । 

सिभिल सहकारीमै इच्छाराज र उनको संयुक्त खातामा उनले २३ मे ०१९ देखि ३० जुन ०१९ सम्म १७ पटक गरी ११ करोड ३५ लाख रुपैयाँ जम्मा गरेकी थिइन् । सिभिल सहकारीमै रहेको उनको व्यक्तिगत खातामा उनले २९ पुस ०७६ मा २९ करोड ७१ लाख दुई सय ४१ रुपैयाँ जम्मा गरेकी थिइन् । 

यसबाहेक उनको नाममा बा.९च २८१७ नम्बरको टोयटा रेभ–४ गाडी छ । बजार मूल्य ७७ लाख रुपैयाँ रहेको यो गाडी उनले १३ असोज ०६८ मा फ्युचर बी लाइन नेपालबाट खरिद गरेकी थिइन् । उनको नाममा कीर्तिपुर नपा– १ स्थित ट्याङ्ला फाँटमा ४२८९. २९ वर्गमिटर क्षेत्रफल जग्गा छ । सरकारी जागरे रहेकै वेला उनले २३ माघ ०६३ देखि ५ पुस ०६७ सम्म १६ करोड ३३ लाख ८७ हजार चार सय ३५ रुपैयाँको जग्गा खरिद गरेको भेटिएको छ ।

सिआइबी प्रमुख डिआइजी सिंहले योजना मुताविक नै इच्छाराजले ठगी गरेको सम्पत्ति लुकाउन श्रीमती सिर्जना प्रयोग गरेको देखिने बताए । उनले भने, ‘इच्छाराजले योजनाअनुसार नै ठगी गरेको सम्पत्ति लुकाउन श्रीमती प्रयोग गरेको देखिन्छ । यस सम्बन्धमा थप अनुसन्धान हुँदै छ । लुकाइएका सम्पत्ति अझ खुल्दै जालान् ।’

इच्छाराजविरुद्ध थुनछेकको बहस अदालतमा जारी 

ठगी मुद्दाका मुख्य योजनाकार इच्छाराजसहित ३२ अभियुक्तविरुद्धको थुनछेक बहस जिल्ला अदालत काठमाडौंमा जारी छ । उनीहरूविरुद्धको थुनछेक बहस २९ मंसिरबाट सुरु भएको थियो । बहसमा सरकारी वकिलतर्फबाट अधिवक्ता प्रेमराज पौडेल, सुदीप दंगाल, भीमप्रसाद पौडेल र लक्ष्मण उपाध्याय घिमिरे सहभागी छन् । त्यसबाहेक बहसमा पीडितको पक्षबाट पूर्वजिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेल, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डरी, रमेश बडाल र बालकृष्ण न्यौपाने सहभागी छन् । 

सरकारी वलिक वरिष्ठ अधिवक्ता डा. भण्डारीले पहिलो चरणको सकिएको हुँदा अब विपक्षीतर्फबाट बहस हुने बताए । उनले भने, ‘पहिलो चरणको बहस सकिएको छ । अब विपक्षीतर्फबाट बहस हुनेछ । त्यसपछि पनि हामी बहसमा उत्रिनेछौँ । यसले केही समय पक्कै लेला । त्यसो हुँदा अदालतको आदेश आउन केही अवधि लाग्ला ।’ विपक्षीतर्फका वरिष्ठ अधिवक्ता शम्भु थापा, डा. कुन्साङ लामा, डम्बर श्रेष्ठलगायत १५ अधिवक्ता सहभागी हुने बताइएको छ । 

छोरी प्रतीक्षाको नाममा मात्रै साढे ३९ लाखको सेयर 

इच्छाराजको दुई छोरीमध्ये एक हुन् प्रतीक्षा तामाङ । उनी विद्यार्थी हुन् । उनको नाममा मात्रै विभिन्न कम्पनी, बैंक र वित्तीय संस्थामा संस्थापक र साधारण गरी ३९ लाख ५९ हजार नौ सय रुपैयाँ मूल्यबराबरको लगानी छ । जसमध्ये संस्थापक सेयर २२ लाख ५० हजार मूल्यबराबरको हो । १७ लाख नौ हजार नौ सय मूल्यबराबरको साधारण सेयर छ ।