१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १९:३२:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ए डिभिजन लिग : घरेलु मैदानमा जितसँगै मनाङ लिगको शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३२:oo

घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। लिगको पाँचौँ चरणअन्तर्गत पोखरा रंगशालामा शनिबार भएको खेलमा जित हात पार्दै मनाङ अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो। मनाङले नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। 

खेलको पहिलो हाफमा दुवै टोलीले एक–एक गोल गरेका थिए। पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा मनाङले थप दुई गोल गर्न सफल भयो। 

मनाङको जितमा खेलको दशौँ मिनेटमा कप्तान अञ्जन विष्टले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दिनेश राजवंशीले पोस्टतर्फ गरेको लामो प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले डिबक्सभित्रबाट बचाउ गर्ने क्रममा बाउन्स भएको बललाई उपयोग गर्दै खाली पोस्टमा विष्टले पेनाल्टी क्षेत्रबाट हानेको बलले जाली चुमेको थियो।
पुलिसका सुमन लामाले खेलको ३५औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए। मनाङ डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका नीरकुमार राईमाथि फल गरेपछि खेलका मुख्य रेफ्री प्रकाशनाथ श्रेष्ठले पुलिसलाई पेनाल्टी हान्न दिएका थिए। लामाले पेनाल्टी उपयोग गर्दै खेललाई बराबरीमा पुर्याएका थिए। 
खेलको ७३औँ मिनेटमा मनाङका विष्टले टोलीका लागि दोस्रो गोल गरे। ८३औँ मिनेटमा मनाङका निशान लिम्बूले गोल गर्दै टोलीलाई ३–१ को अवस्थामा पुर्याए। 

जारी लिगअन्तर्गत काठमाडौंबाहिर भएको यो पहिलो खेल हो। मनाङले पोखरालाई आफ्नो होम ग्राउन्डको रूपमा प्रयोग गर्ने निर्णयसँगै आधिकारिक निकायबाट त्यसको अनुमति पाएको थियो। 
मनाङकै आग्रहमा एन्फाले जारी लिगका तीन खेल पोखरामा सञ्चालन गर्ने निर्णय गरेको हो। होम एन्ड अवे अवधारणालाई परीक्षण गर्न एवं लिगलाई देशव्यापी बनाउन एन्फाले अभ्यासका रूपमा पोखरामा खेल आयोजना गर्न लागेको हो।
शनिबार पुलिससँग खेलेको मनाङले जारी लिगको सातौँ चरणअन्तर्गत १७ पुसमा च्यासल युथ क्लब र आठौँ चरणअन्तर्गत २४ पुसमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी)सँग गरी मनाङले तीन खेल पोखरामा खेल्नेछ। मनाङको आग्रहमा ती तीन क्लब पोखरामा खेल्न तयार भएका हुन्। 

पोखरामा हुने तीन खेलको सम्पूर्ण खर्च मनाङले व्यहोर्ने भएको छ । प्रतिस्पर्धी टोलीसँगै रेफ्री, अफिसियल, खेल व्यवस्थापन, यातायात, आवासलगायत सबै खर्च मनाङले व्यहोर्नेछ । दर्शकका लागि एक सय र तीन सयको टिकटको व्यवस्था गरिएको छ। टिकट बिक्रीबाट आउने सम्पूर्ण रकम भने मनाङले लिनेछ।