मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हिमाल पौडेल काठमाडाैं
२०७८ पौष ३ शनिबार ०६:३०:००
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पदाधिकारीमा सन्तुलित टिम

Read Time : > 7 मिनेट
२०७८ पौष ३ शनिबार ०६:३०:००

निर्वाचित १३ सदस्यीय कांग्रेस पदाधिकारी समावेशी मात्रै नभएर गुट र उमेरका हिसाबले पनि सन्तुलित छ । सभापति देउवा र उपसभापति खड्काबाहेक नयाँ अनुहार छन् । आठजना त ५५ वर्षमुनिका छन् । समन्वय गरेर आगामी तीनै तहको चुनावको तयारी गर्न सके देउवाका लागि पदाधिकारी शक्ति र नसके चुनौती बन्न सक्छन् । 

कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित १३ सदस्यीय पदाधिकारीमा समूहगत, उमेरगत र समावेशी तीनै कोणबाट सन्तुलन मिलेको छ । उपसभापति पूर्णबहादुर खड्काबाहेक पदाधिकारीमा सबै नयाँ अनुहार छन्, बहुमत पदाधिकारी ५५ वर्षमुनिका छन् । 

आगामी तीनै तहको चुनावी तयारीका लागि सभापति शेरबहादुर देउवाले समन्वयकारी भूमिका खेलेर अगाडि बढे पदाधिकारी सहयोगी र मिलाउन नसके चुनौती बन्ने सम्भावना छ । महाधिवेशन प्रतिनिधिले पार्टीभित्रको शक्ति सन्तुलन सम्बोधन गर्ने पदाधिकारी चयन गरेका छन् । यसले सिंगो कांग्रेसको प्रतिनिधित्व गर्ने अवस्था छ, तर समग्र पार्टी परिचालनको जिम्मा देउवाको काँधमा छ ।

महाधिवेशनमा पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणको मुद्दा जोडदार रूपमा उठेको थियो । इतर समूहका नेताहरूले सहयोग र संघर्षको नीति लिने बताइसकेका छन् । पार्टीलाई राम्रो बनाउने तथा गुटबन्दी भत्काउन सभापति देउवालाई निःसर्त सहयोग गर्ने र मनोमानी गरे संघर्ष गर्ने इतर समूहबाट पदाधिकारी निर्वाचित नेताहरूले बताएका छन् । 

विधानअनुसार कांग्रेसमा १४ पदाधिकारी हुन्छन् । कोषाध्यक्ष भने केन्द्रीय कार्यसमितिबाट चयन हुने व्यवस्था छ । देउवास“ग सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव नरहेको बताएका छन् । आफूहरूले त्यसैअनुसार अघि बढ्ने उनको भनाइ छ । 

‘कांग्रेस परिवर्तनको पक्षमा उभिने हामी मतपरिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुनेछैनौँ । पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रूपमा लिँदै कांग्रेस रूपान्तरणको एजेन्डामा निरन्तर क्रियाशील हुनेछौँ,’ शुक्रबार विज्ञप्ति निकाल्दै कोइरालाले भनेका छन्, ‘मेरो उम्मेदवारीले पार्टीलाई रूपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । मलगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ– हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रूपमा सञ्चालन गर्न जागृत रहनेछौँ ।’

बिहीबार नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा विधि, पद्धति, विधान मिचिन थालियो भने सभापति देउवासँग संघर्ष हुने बताएका उपसभापति धनराज गुरुङले शुक्रबार भने, ‘हामी पनि अब निर्णायक ठाउँमा पुगेका छौँ । 

विधि, पद्धतिबाट चल्ने पार्टी हामी बनाउँछौँ । विधिबमोजिम चल्ने पार्टी बनाउँछौँ । विधानबमोजिम चल्ने पार्टी बनाउँछौ“ । रूपान्तरित भनेको यही हो, हामी यसैका लागि काम गर्छौँ ।’

शेखर स्वतः केन्द्रीय सदस्य 
केन्द्रीय सभापतिमा पराजित भए पनि डा. शेखर कोइराला भने स्वतः केन्द्रीय सदस्य बन्नेछन् । विधानको दफा ६५ मा ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ’ भन्ने व्यवस्था छ । जसकारण कोइराला स्वतः केन्द्रीय सदस्य हुनेछन् । 

चार केन्द्रीय सदस्य निर्वाचित, आज खुलातर्फको गणना
कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत शुक्रबारबाट सुरु भएको केन्द्रीय सदस्यको मतगणनामा दुईजना विजयी भएका छन् । प्रदेश २ महिला कोटाबाट चित्रलेखा यादव र पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह विजयी भएका छन् ।

केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार प्रदेश २ केन्द्रीय सदस्य (महिला) १ तर्फ यादव २,७३१ मत ल्याएर निर्वाचित भइन् । उनकी प्रतिद्वन्द्वी गीता चौधरीले १,८८५ मत प्राप्त गरिन् ।

प्रदेश २ महिलातर्फ ४,६६२ खसेको मतमध्ये ४६ मत बदर भएको समितिले जनाएको छ । पिछडिएको क्षेत्र (खुला) १ पदमा सिंहले २,५७७ र उनका प्रतिद्वन्द्वी दीपकजंग शाहले २,०५६ मत पाए । पिछडिएको क्षेत्र (खुला)तर्फ ४,६६२ मत खसेकोमा ३९ मत बदर भए । महाधिवेशन केन्द्रीय सदस्यमा दुईजना भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेश २ बाट केन्द्रीय सदस्य (खुला) २ पदमा रमेश रिजाल र आनन्द ढुंगाना निर्विरोध चयन भएका हुन् ।

निर्वाचन समितिले २६ मंसिरमा अन्तिम नामावली प्रकाशन गरेसँगै दुई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना हुनेछ । 

गुटगत सन्तुलन 

कांग्रेसको निर्वाचित १३ सदस्यीय पदाधिकारीमा गुटगत सन्तुलन मिलेको छ । सभापति शेरबहादुर देउवाले आफ्नो समूहका पूर्णबहादुर खड्का र डा. शेखर कोइराला समूहका धनराज गुरुङलाई उपसभापतिका रूपमा पाएका छन् । कोइराला समूहबाटै चुनाव लडेका गगन थापा र प्रकाशमान सिंह समूहबाट लडेका विश्वप्रकाश शर्मा महामन्त्री चुनिएका छन् । आठ सहमहामन्त्रीमा देउवा समूहका भीष्म आङ्देम्बे, महालक्ष्मी उपाध्याय (डिना), किशोरसिंह राठौर, फर्मुल्लाह मन्सुर र महेन्द्र यादवले जितेका छन् । त्यस्तै, शेखर कोइराला समूहबाट जीवन परियार र बद्री पाण्डे निर्वाचित भएका छन् । देउवासँग सहकार्य गरेका कृष्ण सिटौलाको समूहबाट उमाकान्त चौधरी विजयी भएका छन् । 

पदाधिकारीमा ४५ वर्षदेखिका नेता
निर्वाचित पदाधिकारीमा उमेरगत सन्तुलन पनि झल्किएको छ । ७५ वर्षका देउवा सभापति भएका छन् भने ४५ वर्षका युवा नेता गगन थापा र ४९ वर्षीय विश्वप्रकाश शर्मा महामन्त्री बनेका छन् । त्यस्तै, उपसभापतिमा ६७ वर्षीय पूर्णबहादुर खड्का र ५६ वर्षीय धनराज गुरुङ निर्वाचित भएका छन् । सहमहामन्त्रीमा निर्वाचित परियार ४६, पाण्डे ४७, राठौर र चौधरी ५२, डिना ५३, आङ्देम्बे ५५, यादव ५८ र मन्सुर ६८ वर्षका छन् । अनुभवी पाका नेता र जोसिला युवाहरूसहितको सन्तुलन मिलेको पदाधिकारी देउवाका लागि अनुकूल बन्न सक्छ ।

समावेशी छन् पदाधिकारी
समावेशीको कोणबाट पनि कांग्रेस पदाधिकारी सन्तुलन मिलेको छ । विभिन्न आठ क्लस्टरबाट आएका सहमहामन्त्रीले पदाधिकारीलाई सन्तुलित बनाउन मद्दत गरेका छन् । सहमहामन्त्रीमा महिला, दलित, आदिवासी–जनजाति, खस–आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्र समेटिएको छ । कांग्रेस पदाधिकारी यति धेरै समावेशी बनेको पहिलोपटक हो । त्यसबाहेक उपसभापतिमा जनजाति समुदायका गुरुङ विजयी बनेका छन् ।

देउवालाई बहुमत जुटाउन अनुकूल
पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापतिलाई बहुमत जुटाउन विधानले पनि अनुकूल बनाइदिएको छ । महाधिवेशनबाट खुला ३५, महिला नौ, प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य निर्वाचित हुन्छन् ।

थप ३३ जना सभापतिले मनोनीत गर्न पाउने विधानको व्यवस्था छ । यही व्यवस्थाले सभापतिलाई केन्द्रीय कार्यसमितिमा बहुमतमा रहन सहज बनाइदिन्छ । त्यस्तै, सभापतिको निकटतम प्रतिद्वन्द्वी रहेका व्यक्ति स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था छ । केन्द्रीय सदस्य नरहेको व्यक्ति संसदीय दलको नेता निर्वाचित भएमा ऊ पनि पदेन सदस्य हुने विधानको व्यवस्था छ । यसअनुसार केन्द्रीय कार्यसमिति एक सय ६९ सदस्यीय पनि हुन सक्छ । 

सभापति देउवालाई शेखरको सन्देश : कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन 

- कांग्रेसको परिवर्तनमा उभिने हामी मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुनेछैनौँ । पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रूपमा लिँदै कांग्रेस रूपान्तरणको एजेन्डामा निरन्तर क्रियाशील हुनेछौँ । केही मतबाट पराजित भए पनि प्रतिनिधि साथीहरू र लोकतन्त्रवादीहरूको ‘मन’ जित्न सफल भएका छौँ । 

- पार्टीभित्र मात्र होइन, पार्टीबाहिरका आमलोकतन्त्रवादीहरूबीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौँ । मलाई प्राप्त ४० प्रतिशत मतले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ । 

- मेरो उम्मेदवारीले पार्टीलाई रूपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रूपमा सञ्चालन गर्न जागृत रहनेछौँ ।

- पार्टीभित्र रूपान्तरण र परिवर्तनको यो लडाइँ हामीलाई सहज थिएन । वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौँ । पार्टीभित्र हुर्केको र झ्यांगिएको अराजनीतिक प्रवृत्ति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौँ– पार्टीभित्र गुट र भागबन्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधानविपरीत हुने निर्णयविरुद्ध । तैपनि हामी लड्यौँ र राजनीति जित्यौँ ।

- प्रतिस्पर्धा पार्टीभित्र यथास्थितिवादी र परिवर्तनकारीबीच थियो । हामी परिवर्तनकारी शक्ति थियौँ । हामीसँग निष्ठावान कार्यकर्ताको भरोसा र विश्वास थियो । हामीसँग हाम्रा अग्रज मूर्धन्य नेताहरूको प्रेरणा थियो । जसलाई हामीले छातीमा राखेर कांग्रेसमा परिवर्तनका लागि नेपालका गाउँ, सहर, हिमाल, पहाड र तराई–मधेस गयौँ ।

- परिणामको महत्व आफ्नो ठाउँमा छ, तर हामीले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश कांग्रेसजनमा मात्र होइन, आमनेपालीको घरदैलोमा पुर्‍याएका छौँ । पार्टीको १४औँ महाधिवेशनको मतपरिणामपछिका दिन राष्ट्रिय निर्वाचनको चहलपहल सुरु हुनेछ । कांग्रेसलाई एकढिक्का बनाएर मात्र हामी फेरि कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सक्छौँ । कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी फेरि तपाईंहरूको घरदैलोमा तथा हिमाल, पहाड र तराई–मधेस आउने नै छौँ । 

पार्टीलाई एकढिक्का र लोकप्रिय बनाउने प्रमुख जिम्मेवारी सभापतिमा छ : फर्मुल्लाह मन्सुर नवनिर्वाचित सहमहामन्त्री

अन्तर्वार्ता

१४औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय पदाधिकारीको टिम कस्तो बन्यो ?
शेरबहादुर देउवाको नेतृत्वमा हामी चुनाव लडेका थियौँ । सभापतिजीलाई जिताउन पूरा सहयोग भयो । धेरै साथीको सहयोग पनि मिल्यो । धेरै साथीको व्यवस्थापन पनि गर्नुपर्ने भयो । त्यसैले अपेक्षा गरेअनुसारको नतिजा आएन । शेरबहादुरलाई पहिलो चरणमै चुनाव जिताउने योजना थियो । तर, त्यो सम्भव भएन । प्रचार–प्रसार उहाँमा केन्द्रित भयो, त्यसैले चाहेअनुसारको परिणाम निकाल्न सकेनौँ । आन्तरिक प्रतिस्पर्धामा जो–जो साथी आउनुभएको छ, राम्रो टिम बन्यो । 

टिमको नेतृत्वको हैसियतले सभापतिले कसरी पार्टी चलाउनुहुन्छ ? 
शेरबहादुर देउवाले १३औँ महाधिवेशनमा उहाँसँग पराजित भएका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला र उहाँको टिमबाट चुनाव लडेर पराजित भएका गगन थापा र उमाकान्त चौधरीलगायतका नेतालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्नुभयो । पार्टीको ९९ प्रतिशत निर्णय सहमति र उहाँहरूको सल्लाहमा भयो । पार्टीलाई एकढिक्का बनाउनुभयो । पार्टीलाई एकढिक्का राख्ने सभापतिमा क्षमता छ, त्यसैले अहिले पदाधिकारीमा जसले जहा“बाट जिते पनि केही फरक पार्दैन । सभापति देउवाको नेतृत्वलाई मानेर सबैजना हिँड्नुहुन्छ र सबैलाई सम्मानका साथ समेटेर सभापति अगाडि बढ्नुहुन्छ । १३औँ महाधिवेशनदेखि १४औँ महाधिवेशनसम्म उहाँको कार्यपद्धति पनि त्यही देखिन्छ । आन्तरिक चुनावका वेलामा एक–अर्काको विरोध हुनु स्वाभाविक हो । तर, पार्टी एकढिक्का भएर अगाडि जान्छ । 

कांग्रेस अब कस्तो बन्छ र कसरी चल्छ ? 
केन्द्रीय कार्यसमितिमा शेरबहादुर देउवाको पूर्ण बहुमत आउँछ । तैपनि, पार्टीका सबै साथीलाई मिलाएर लैजानुपर्ने हुन्छ । कांग्रेस पार्टीको विशेषता भनेको सबैलाई महत्व दिएर लैजाने हो । कसैलाई स्पेस दिइएन भने पार्र्टी एकढिक्का बनाउन सकिँदैन नि । अर्कोलाई सम्मान र अवसर दिएर मिलाएर जाँदा पनि भागबन्डा भयो भन्छन् । अर्कोतिर स्वेच्छाचारी भयो पनि भन्छन् । सबैलाई मिलाएर लाँदा भागबन्डा भयो भन्न मिल्दैन । 

अब सभापतिका चुनौती के–के हुन सक्छन् ? 
चुनौती त म भन्दिनँ । उहाँलाई जिम्मेवारी थपिएको छ । देशभरिका कार्यकर्ताले व्यापक रूपमा रूपान्तरण र पुस्तान्तरणको विषय उठाएका थिए । पार्टीबाहिर पनि उस्तै मुद्दा थियो । पार्टी ठीक ढंगले चलेन भनिएको थियो । तैपनि, देशभरिका कार्यकर्ताले देउवाले नै सबैलाई मिलाएर लान सक्छन् भन्ने विश्वास गरे । १३औँ महाधिवेशनदेखि १४औँ महाधिवेशनमा उहाँले पार्टीलाई जुन किसिमबाट अगाडि बढाउनुभयो, त्यसको प्रभाव होला । तपाईंको भाषामा चुनौती होला । मेरो भाषामा त्यो जिम्मेवारी हो ।

पार्टीलाई एकढिक्कासहित गतिशील बनाउने, बढीभन्दा बढी जनतामा पार्टीलाई लोकप्रिय बनाउने र कांग्रेससँग धेरै जनता जोड्ने उहाँको प्रमुख जिम्मेवारी छ । अर्कोतिर तीनै तहको आगामी निर्वाचनमा कांग्रेसको वर्चस्व कायम गर्ने र सरकार बनाउने हो । यो दुईवटा जिम्मेवारी उहाँमा आएको छ । ओली सरकारले लोकतान्त्रिक मूल्य र मान्यतामाथि घात गरेको थियो । एमालेले अहिले पनि संसद्लाई अवरुद्ध गरेर लोकतान्त्रिक मूल्य–मान्यताको खिलाफमा काम गरेको छ । यस्तोमा लोकतान्त्रिक शक्तिलाई एकढिक्का गराएर त्यस्तो प्रवृत्तिविरुद्ध लड्नुपर्ने अर्को जिम्मेवारी छ । 

निर्वाचनमा देशलाई लगेर निर्वाचन सम्पन्न गराउनुपर्नेछ । विगतमा कांग्रेसको नेतृत्वमा पनि संविधान बन्यो । त्यसपछि केपी ओलीको सरकार बन्यो, निर्वाचन गराउन एक वर्षमा एउटा पनि कानुन बनाउन सकेन । देउवाको सक्षमताले प्रचण्डजीलाई यता ल्याएर सरकार बनाइयो र तीन तहको निर्वाचन गराइयो र संविधानको कार्यान्वयन सुरु भयो । त्यो क्षमता देउवामा छ । सबैलाई मिलाएर लोकतन्त्रलाई बलियो बनाउँदै निर्वाचन गराएर लोकतन्त्रलाई लिकमा ल्याउने जिम्मेवारी पनि सभापतिको काँधमा छ । चुनौतीका रूपमा भन्दा पनि यसलाई जिम्मेवारीका रूपमा हेर्नुपर्छ ।  

कांग्रेसमा हिजोजस्तै प्रश्न उठ्ने ठाउँ नहोस् : प्रदीप पौडेल

१४औँ महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेका युवा नेता प्रदीप पौडेलले आफू पराजित भए पनि आफ्नो पुस्ताले जितेको बताएका छन् । लैनचौर बैंक्वेटमा महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन परिणामलाई स्वाभाविक रूपमा लिएको बताए । उनले आफू पराजित भए पनि आफ्नो पुस्ता कार्यकारी भूमिकामा पुगेकोमा कांग्रेसमा सुधारको विश्वास रहेको बताए ।

‘हामीले सँगै पार्टीका कमजोरीमाथि प्रश्न उठाएका थियौंँ । म पनि उत्तर दिने ठाउँमा जान चाहन्थो । तर, सफल हुँन सकिनँ,’ उनले भने, ‘साथीहरू पुग्नुभएको छ । फेरि हिजोजस्तै प्रश्न उड्ने ठाउँ नहोस् । हाम्रो पुस्तामा धेरै आशा छ, भरोशा जोडिएको छ, यसलाई निराश बनाउने काम नहोस् ।’

उनले जिम्मेवारीमा पुगेकाहरूले फरक कार्यशैलीका साथ काम गर्नुपर्ने बताए । आफैँ व्यवस्थित हुन सके मात्रै हामीले देशलाई व्यवस्थित गर्न सकिनेमा उनको जोड थियो । ‘मैले जितिनँ, तर मेरो पुस्ताले जितेको छ । मेरो पुस्ता कार्यकारी भूमिकामा पुगेको छ,’ पौडेलले भने, ‘अहिले चुनाव जित्नु र हार्नु महत्वपूर्ण होइन । अबको निर्वाचन जित्ने महत्वपूर्ण हो ।’ 

उनले आन्तरिक प्रतिस्पर्धाको विधि पनि बदल्नु आवश्यक रहेको बताएका थिए । नीतिसहितको नेतृत्व आउने व्यवस्थाबाट सही नेतृत्व अगाडि आउने उनको भनाइ थियो । ‘म १४औँ महाधिवेशनमा लडेको थिएँ भन्ने मनोविज्ञान बोकेर काम गर्नेछैन । पार्टी निर्माणको एजेन्डामा म सधैँ नेतृत्वलाई सहयोग गर्नेछु,’ पौडेलले भने ।