मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हिमाल पौडेल काठमाडाैं
२०७८ मङ्सिर २८ मंगलबार ०९:१२:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अबको कांग्रेसमा महिलाको भविष्य कस्तो होला ? 

Read Time : > 3 मिनेट
हिमाल पौडेल, काठमाडाैं
२०७८ मङ्सिर २८ मंगलबार ०९:१२:००

कांग्रेसको १४औँ महाधिवेशनमा देशभरबाट महिलाको ठूलो सहभागिता छ । कांग्रेसले पार्टीमा महिला सहभागिता सुनिश्चित गर्ने गरी विधानमै व्यवस्था गरेकाले पनि अघिल्ला महाधिवेशनमा भन्दा यसपटक महिलाको सहभागिता बढेको हो । यतिवेला महिलाहरू नेतृत्व चयनका लागि मतदाता मात्र होइनन्, केन्द्रीय कार्यसमितिमा धेरै आफैँ पनि उम्मेदवार छन् । तर, मुख्य पदाधिकारीमा महिलाको सहभागिता सुनिश्चित नगरिएकोमा गुनासो पनि सुनिन्छ । यसै क्रममा महाधिवेशनअन्तर्गत आगामी नेतृत्वका लागि मतदान चलिरहँदा सोमबार नयाँ पत्रिकाले महिला प्रतिनिधिहरूलाई अबको कांग्रेसमा महिलाको भविष्य कस्तो देख्नुभएको छ भनेर सोधेको छ ।

केन्द्रीय समितिमा सक्षम महिला आउँदै हुनुहुन्छ : गंगालक्ष्मी अवाल (४८), भक्तपुर
पार्टीको विधानले नै महिला सहभागितालाई सुनिश्चित गरेको छ । विधानले व्यवस्था गरेअनुसार यसपालि धेरै सक्षम महिलाहरू केन्द्रीय समितिमा आउँदै हुनुहुन्छ । यसले स्वाभाविक रूपमा भविष्यका लागि सकारात्मक प्रभाव पर्नेछ । 

अर्थपूर्ण सहभागिता अझै भएको छैन : पवित्राकुमारी अर्याल (४३), बर्दिया 
नेतृत्व परिवर्तन हुन नसकेकाले पार्टीभित्र पनि परिवर्तन हुन सकेको छैन । त्यसैले अहिलेको नेतृत्व कस्तो खालको आउँछ भन्ने विषयमा पनि भर पर्छ । पहिलेको तुलनामा महिला सहभागिता बढेर गएको छ । तर, अर्थपूर्ण सहभागिता भने भएको छैन । संविधानले गरेको व्यवस्थालाई बाध्यात्मक ढंगले मात्र लिइयो । जस्तो, खुला कोटामा एउटा पनि महिलाको उम्मेदवारी परेको छैन । महिलाले महिला खुलामा मात्र प्रतिस्पर्धा गरिरहेका छन् । पार्टीभित्र महिलाहरूको राय, सल्लाह, सुझाबलाई सुन्ने संस्कृति छैन । 

नेतृत्वमा पुग्ने सम्भावना बढेको छ : दिलमाया डाँगी (५९), सुनसरी 
विधानमा व्यवस्था भएअनुसार महिलाहरू नेतृत्वमा आउनैपर्छ । जात–जाति, भाषा–भाषी, महिला, दलित, मधेसी सबैको प्रतिनिधित्व सुनिश्चित भएको छ । त्यसका आधारमा भन्नुपर्दा कांग्रेसमा महिलाहरूको सहभागिता बढेर जाने पक्का छ । सहभागिता बढेपछि नेतृत्वमा पुग्ने सम्भावना पनि बढ्छ । आशावादी छु । 

महिलाको नेतृत्व क्षमता पनि बढ्छ : सरिता गुरुङ (५०), तनहुँ 
महिलाहरू अब अगाडि आउँछन् । अधिकार मागेर मात्र होइन, खोसेर लिन पनि महिलाले सक्नुपर्छ । विधान एकदमै समावेशी छ । महिला नेतृत्वको क्षमता पनि बढेर गएको देखिन्छ । महिला प्रतिनिधित्वका लागि हामी लडिरहेका पनि छौँ, लडिरहनुपर्छ । 

१५औँ महाधिवेशनमा अझ बढी दाबी रहनेछ : कमला हमाल (२५), बाँके 
विधानले प्रस्ट रूपमा महिला सहभागितालाई सुनिश्चित गरेको छ । पहिले कोषाध्यक्षसम्म मात्र महिला आउने वातावरण थियो । तर, अहिले सहमहामन्त्रीमा महिला आउने भएका छन् । १५औँ महाधिवेशनसम्ममा महामन्त्री र उपसभापतिमा एकजना महिला आउने वातावरण बनाउन हामी लाग्नुपर्ने देखिन्छ । 

पूर्ण अधिकार नपाउँदासम्म आवाज बुलन्द पार्छौं : शान्ति परियार विक (४३), चितवन
कांग्रेसमा अब महिलाको भविष्य सुरक्षित हुँदै गएको छ । महिलाहरूलाई स्थापित गर्नका लागि हामीले ठूलो संघर्ष गरेका छौँ । दलित महिला भएकाले मैले पनि छुट्टै खालको संघर्ष गरेको छु । महामन्त्री र उपसभापतिमा एकजना महिला अनिवार्य गर्नुपर्छ भन्ने हाम्रो माग हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । यो महाधिवेशनले महिलाको सहभागिता बढाउने पक्का छ । तर, पूर्ण रूपमा अधिकार नपाउँदासम्म आवाज बुलन्द पारिरहनुपर्छ । 

पार्टीभित्र गणतन्त्रको अनुभव गर्न पाएका छौँ : कलावतीदेवी बोहरा (५६), डडेल्धुरा 
कांग्रेसमा अब महिलाको भविष्य राम्रो छ । लोकतन्त्रमा सबैले आफ्नो अधिकारका लागि लड्न पाउँछन् । पुरुषसरह अधिकार प्राप्त गर्नका लागि हामीले गणतन्त्र ल्याएका हौँ । यो कुरा सबै महिलाले बुझ्न जरुरी छ । १५औँ महाधिवेशनसम्ममा विधान संशोधन गरेर भए पनि महामन्त्री र उपसभापतिमा कम्तीमा एकजना महिलाको सहभागितालाई सुनिश्चित गर्नुपर्छ । 

सहभागिता बढाउन संघर्ष जारी राख्नुपर्नेछ : मुक्ताकुमारी यादव (४४), धनुषा
वडादेखि नै समावेशी समिति बनेको छ । यसको प्रभाव त अवश्य पनि आगामी दिनमा देखिन्छ । सभामुख र उपसभामुख तथा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने जस्तो व्यवस्था पार्टीमा पनि हुनुपर्छ । हाम्रो लडाइँ अब त्यसका लागि हो । आगामी महाधिवेशनमा त्यस्तो व्यवस्था हुन्छ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु । 

विधानले अझै पुरुषलाई प्राथमिकता दिएको छ : विजयाकुमारी भट्टराई (५५), पाल्पा 
कांग्रेसमा विगतको तुलनामा उल्लेख्य रूपमा सहभागिता बढेको छ । सक्षम र सबल महिला प्रतिनिधिहरू आउनुभएको छ । समावेशी हुँदाहुँदै पनि विधानले महामन्त्री र उपसभापतिमा महिला आउने व्यवस्था गरेको छैन । यसरी हेर्दा विधानले पनि प्राथमिकता त पुरुषलाई नै दिएको देखिन्छ । तर, कांग्रेसको कार्यसमिति इतिहासकै बढी समावेशी हुँदै छ । यो सुरुवात हो । अवश्य पनि पार्टीमा महिलाको भविष्य राम्रो छ । 

कांग्रेसमा महिलाको भविष्य राम्रै देखेको छु : गीता गुरुङ (२६), सोलुखुम्बु 
अहिले नौ लाख क्रियाशील सदस्यहरूमा करिब २२ प्रतिशत महिला रहेको तथ्यांक छ । शेरबहादुर देउवाले १३औँ महाधिवेशनमा ‘कदमजम’को नीति ल्याउनुभएको थियो । कर्णाली, दलित, महिला, जनजाति र मधेसी सबैलाई नेतृत्वमा ल्याउनुपर्ने एजेन्डा ल्याउनुभएको थियो । विधान पनि समावेशी छ । वडादेखि केन्द्रसम्म महिलालाई विशेष व्यवस्था गरेको छ । यद्यपि त्यो पर्याप्त भने होइन । हाम्रो माग महामन्त्री र उपसभापतिमा महिलाका लागि एउटा छुट्टै व्यवस्था गर्नुपर्छ भन्ने छ । नेतृत्व हाम्रो मागप्रति सकारात्मक देखिएको छ । त्यसैले कांग्रेसमा महिलाको भविष्य राम्रै देखेको छु । 

५० प्रतिशत सहभागिताको अभियान जारी रहन्छ : पुष्पा श्रेष्ठ (५०), दाङ
पहिलेको भन्दा धेरै काम भएको छ । सबै ‘क्लस्टर’हरूलाई अगाडि ल्याउनुपर्दा हामीलाई ३३ प्रतिशतले पुगेको छैन । हामीलाई ५० प्रतिशत नै चाहिन्छ भन्ने हाम्रो अभियान छ । उपसभापति र महामन्त्रीमा महिलाका लागि कन्जुस्याईँ गरिएको छ । यो स्थितिमा परिवर्तन ल्याउन कांग्रेसप्रति आस्थावान सबै महिलाहरूले भूमिका खेल्नुपर्छ । 

महिला आरक्षणले उत्साह बढाएको छ : गीता अमात्य (३८), नुवाकोट 
कांग्रेसमा मात्र होइन, नेपालको राजनीतिमा महिला सहभागिता बढेर गएको देखिन्छ । महिलाका लागि छुट्याइएको आरक्षणले हामीमा उत्साह पनि दिएको छ । अब आउने महिलाहरूले नेतृत्वमा पुग्न सक्छ भन्ने स्थिति देखिन्छ । महामन्त्री र उपसभापतिमा एक महिला अनिवार्य हुनुपर्छ भन्ने माग पार्टीको प्रत्येक बैठकमा जोडदार ढंगले उठाउनुपर्छ ।