Skip This
पुरानो बानेश्वरमा गोल्यान ग्रुपको कर्पोरेट टावर
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 09 August, 2025
नवीन अर्याल काठमाडौं
Invalid date format o८:४२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुरानो बानेश्वरमा गोल्यान ग्रुपको कर्पोरेट टावर

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:४२:oo

एक अर्ब लगानीको १० तले भवन कर्पोरेट अफिसलाई भाडामा दिन्छौँ : अक्षय गोल्यान 

 

व्यावसायिक घराना गोल्यान ग्रुपले पुरानो बानेश्वर हाइटमा कर्पोरेट टावर बनाइरहेको छ । कर्पोरेट क्षेत्रलाई अफिस भाडामा दिने गरी ग्रुपले सुविधासम्पन्न ‘गोल्यान टावर’ बनाउन लागेको हो । सहरको मध्यभागमा रहेको बानेश्वर क्षेत्र कर्पोरेट अफिसका लागि उपयुक्त थलो रहेको ग्रुपका निर्देशक अक्षय गोल्यानले बताए । अढाई रोपनी क्षेत्रफलमा १० तलाको टावर निर्माण हुँदै छ भने पार्किङका लागि दुई तलाको बेसमेन्ट हुनेछ । टावरका माथिल्ला तीन तलामा गोल्यान ग्रुपकै कर्पोरेट अफिसहरू रहने उनको भनाइ छ । बाँकी तलाहरू अफिसलाई भाडामा दिने तयारी छ । ‘त्यहाँ २० वटा ठूला अफिस राख्न मिल्ने ठाउँ हुन्छ,’ उनले भने, ‘हामी एउटै पनि फ्ल्याट बिक्री गर्दैनौँ, सबै भाडामा लगाउनेछौँ ।’

भवन निर्माणमा करिब एक अर्ब रुपैयाँ लगानी हुने अनुमान छ । काठमाडौंमा पायक पर्ने ठाउँमा कर्पोरेट अफिस राख्नका लागि सुविधासम्पन्न भवनको अभाव भइरहेका वेला ग्रुपले कर्पोरेट टावर बनाउन लागेको हो । पछिल्लो समय मोफसलमा मुख्यालय रहेका बैंक वित्तीय संस्थाहरूदेखि औद्योगिक व्यावसायिक प्रतिष्ठानका कर्पोरेट अफिसहरू पनि काठमाडौंमा राख्ने चलन छ । पर्याप्त पार्किङसहितको सुविधायुक्त अफिस पाउन मुस्किल परिरहेका वेला नयाँ बानेश्वरमा बन्ने टावरले केही भरथेग गर्ने उनको विश्वास छ । 

कमलादीको हामा टावर, थापथलीको ट्रेड टावर, सेन्ट्रल बिजनेस पार्कलगायत केही भवनबाहेक अफिसकै लागि भनेर बनाइएका भवन निकै कम छन् । काठमाडौंमा अफिस राख्नका लागि प्रशस्त पार्किङ भएको घर भेट्न मुस्किल पर्छ । भेटिइहाले पनि भाडा चर्को तिर्नुपर्ने हुन्छ । गुण ग्रुपले पनि लाजिम्पाटको मुख्य सडकमै रहेका दुईवटा अपार्टमेन्ट भवनलाई कर्पोरेट टावर बनाउने भएको छ । आफैँले निर्माण गरेका कमर्सियल टावर ग्रुप वित्तीय संकटमा परेपछि तत्कालको आर्थिक संकट टार्न बिक्री गरेको थियो ।

दुई वर्षजति तत्कालीन नेकपा (हाल नेकपा एस) सांसद किसान श्रेष्ठ र त्यसपछिका केही वर्ष प्रभु ग्रुपको स्वामित्वमा रहेका यी अपार्टमेन्ट राजेन्द्र शाक्यले हालै पुनः खरिद गरेर आफ्नै स्वामित्वमा लिइसकेका छन् । लजिम्पाटका यी अपार्टमेन्टमा प्रभु ग्रुपले होटेल चलाउने तयारी गरे पनि सफल हुन सकेन । दुईवटा १० तले टावरमा ४० युनिट रहेका छन्, जसलाई अफिस कम्प्लेक्सका रूपमा प्रयोग गरिेनेछ । 

बानेश्वरबाट एयरपोर्ट, पशुपति, कमलादी, दरबारमार्ग, न्युरोडलगायत व्यावसायिक हबहरू नजिक रहेको हुँदा कर्पोरेट अफिसका लागि उपयुक्त रहेको गोल्यानले बताए । ग्रुपले अहिलेसम्म भाडाका लागि बुकिङ खुला गरिसकेको छैन । तर, केही व्यवसायीसँग कुराकानी भने चलिरहेको उनले बताए । 

अहिले ताहाचलको अपार्टमेन्टमा गोल्यान ग्रुपको कर्पोरेट अफिस छ । पाँचतारे होटेल हायात प्लेससँगै रहेको अपार्टमेन्टमा उनीहरूको कार्यालय छ । त्यो अफिस पनि बानेश्वर हाइटमै टावरमा सार्ने योजना ग्रुपको छ । ताहाचलमा ठाउँ नपुगेपछि कर्पोरेट अफिस बानेश्वर सार्न लागेको गोल्यानले बताए । ‘रिलायन्स स्पिनिङ मिलको अफिस कमलादीमा छ, मलाई एउटा अर्को अफिसमा गइरहनुपर्ने हुन्छ,’ उनले भने, ‘कमलादी र ताहाचलको दूरी धेरै नभए पनि ट्राफिक जामका कारण झन्डै ४५–५० मिनेट लाग्छ, समय व्यवस्थापन गर्न कठिन भएपछि मुख्य अफिस पुरानो बानेश्वर सार्न लागेका हौँ ।’ 

गोल्यान ग्रुपले रियलस्टेट, हस्पिटालिटी, स्पिनिङ (धागो), कृषि र बैंक तथा वित्तीय संस्थामा लगानी गरेको छ । बालकुमारीमा वेस्टार अपार्टमेन्ट बनाइसकेको ग्रुपले टेकुमा करिब डेढ सय युनिटको अपार्टमेन्ट बनाउँदै छ । ताहाचलमा दुईवटा भवनमा अपार्टमेन्ट बनाउने योजना बनाएको ग्रुपले एउटा भवनलाई होटेल बनाएको छ ।