मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
विजयराज खनाल काठमाडाैं
२०७८ मङ्सिर १६ बिहीबार ०७:३९:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

महिला लघुवित्तका कर्मचारीद्वारा गरिब महिलाको ४० लाख कर्जा अपचलन

दुई वर्षअघि लघुवित्तका कर्मचारीले गरेको किर्ते ऋण लगानीले ऋणी हैरान

Read Time : > 2 मिनेट
विजयराज खनाल, काठमाडाैं
२०७८ मङ्सिर १६ बिहीबार ०७:३९:००

महिला लघुवित्त वित्तीय संस्थाका केही कर्मचारीहरूले किर्ते ऋणी खडा गरेर लगानी देखाएको, ग्राहकले चुक्ता गरेको ऋण कार्यालयमा दाखिला नगरेको भेटिएको छ । दुई वर्षअघिको यस्तो घटनामा गरिब महिलाहरूको ४० लाख अपचलन भएको लघुवित्त कम्पनीको आन्तरिक निरीक्षण प्रतिवेदनले देखाएको छ । गरिब महिलाहरूको गरिबी निवारण गर्ने उद्देश्यले स्थापना भएको महिला लघुवित्तका कर्मचारीले उल्टै उनीहरूकै रकम अपचलन गरेको दुई वर्ष पूरा भइसकेको छ । तर, ऋण नै नलिएका ऋणीहरूले न त आफ्नो बचत फिर्ता पाएका छन् न त किर्ते गर्ने कर्मचारीहरू सजायको भागीदार भएका छन् । 

भक्तपुर सानोठिमी बस्ने मेलिना भोलोन लघुवित्तका कर्मचारीले आफूलाई फसाएको बताउँछिन् । ‘मैले लिँदै नलिएको ऋणको कारण बचत फिर्ता पाएको छैन,’ उनले भनिन्, ‘मेरो नामबाट ५० हजार कर्जा कसैले लिएको र सो ऋण नतिरेसम्म मैले बचत रकम फिर्ता नपाउने बताइएको थियो, अहिलेसम्म बचत लिन बोलाएका छैनन् ।’ 

भोलोनले लिँदै नलिएको कर्जामा किर्ते भएको देखिए पनि न त कर्जा जारी गर्ने कर्मचारीलाई कारबाही भएको छ, न त पीडितलाई रकम फिर्ता दिइएको छ । 
संस्थाको जडीबुटी शाखाबाट करिब दुई सय सदस्यको नाममा किर्ते कर्जा जारी गरेको तथा सदस्यले तिरेको रकम कर्मचारीहरूले दाखिला नगरेको दुई वर्षअघिको संस्थाको विशेष निरीक्षण प्रतिवेदनमा उल्लेख छ । यो प्रतिवेदनअनुसार कर्मचारीहरू विपना न्यौपाने, रञ्जना अधिकारी, पुनम चौधरीलगायतले यस्तो कर्जा लगानी तथा असुली गर्ने गरेको र तत्कालीन शाखा प्रमुख ममिला पौडेलबाट कर्जा स्वीकृति भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा ३९ लाख ९३ हजारबराबरको कर्जा अपचलन भएको उल्लेख छ । 

तत्कालीन कार्यालय प्रमुख ममिला पौडेलसँग आठ लाख ५४ हजार, सहायक विपना न्यौपानेसँग ११ लाख, सहायक रञ्जना अधिकारीसँग ६ लाख २० हजार र सहायक पुनम चौधरीसँग दुई लाख २५ हजार असुलउपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ

कर्मचारीहरूले खराब ऋणीहरूसँगको मिलेमतोमा अन्य सदस्यको नामबाट ऋण लिइदिने, ऋण लिँदा आवश्यक कागजात नदेखाउने कारण पनि केही कर्जा खराब भएको र भाका नाघ्ने गरेको २०७६/७७ को आन्तरिक लेखा परीक्षणमा उल्लेख छ ।  केही सदस्यहरूलाई वितरण भएको साधारण, लघुउद्यम, मौसमी र मातृत्व कर्जा सदस्य र अभिभावकको जानकारीविना किर्ते माग फारामको साथै किर्ते तमसुक बनाई लगानी गरेको पाइएको २०७६/७७ को आन्तरिक लेखा परीक्षणले उल्लेख गरेको थियो । साथै, केही सदस्यबाट कर्जा चुक्ताका लागि कार्यालयमा दाखिला भएको रकम कार्यालयमा दाखिला नभई भाका नाघेको कर्जा असुलीमा प्रयोग भएको भन्दै कागजी तथ्य प्रमाणका आधारमा तत्कालीन कार्यालय प्रमुख ममिला पौडेलसँग आठ लाख ५४ हजार, सहायक विपना न्यौपानेसँग ११ लाख, सहायक रञ्जना अधिकारीसँग ६ लाख २० हजार र सहायक पुनम चौधरीसँग दुई लाख २५ हजार असुलउपर गर्नुपर्ने उल्लेख नै गरेको छ । 

कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई नै असार २०७६ मा पत्र लेखेर सुपरीवेक्षण तथा निरीक्षण कार्यालय डिल्लीबजारले तत्कालीन शाखा कार्यालय प्रमुख ममिला पौडेलको नेतृत्वमा ग्राहक सदस्यहरूको नाममा कर्जाको किर्ते कागजात बनाई ६ लाख ४० हजार (साँवा रकम मात्र) कर्जा रकममा आर्थिक हिनामिना गरेको स्पष्ट पारेको थियो । पत्रमा ममिला पौडेललगायत सो किर्ते कार्यमा संलग्न कर्मचारीहरूलाई ‘कर्मचारी सेवा विनियमावली २०७५’ अनुसार तत्काल केही समयका लागि निलम्बन गरी थप छानबिन गर्नुपर्ने बताइए पनि त्यसको सुनुवाइ भएन । 

कर्जा भुक्तानी गर्न लगाएर समूह नै खारेज

संस्थाले कतिपय खराब ऋणीबाट कर्जा असुल गर्न सकेको छैन भने सोझा ग्राहकहरूलाई भुक्तानी समय नै नआई रकम भुक्तानी गर्न लगाएर समूह नै खारेज गरिएको पाइएको छ । कोटेश्वरमा कपडा पसल गर्दै आएकी आशा शाहले २४ किस्तामा तिर्ने गरेर साउन ०७७ मा दुई लाख रुपैयाँ कर्जा लिएकी थिइन् । तर, उनको ६ किस्ता बाँकी हुँदै सबै लघुवित्तले ऋण मात्र चुक्ता गराउन लगाएनन्, समूह नै खारेज भएको घोषणा गरियो । ‘मैले १८ किस्ता तिरिसकेको थिएँ, कर्जा नियमित नै थियो, मलाई यो किस्ता तिर्नुस् थप सात लाख कर्जा दिन्छु भन्दै समयअगावै पैसा तिर्न लगाए दसैँको मुखमा थप लगानी चाहिने भएकाले मैले खोजेर पनि रकम बुझाए, तर थप लगानी गरेनन्,’ शाहले भनिन् । 

प्रतिवेदन तथा विशेष निरीक्षणमा समेत संस्थाकै अन्य कर्मचारीहरूले  तत्कालीन शाखा प्रमुख पौडेलकै रोहवरमा कार्यालयमै किर्ते दस्तखत गरेर कर्जा लगानी देखाएको स्वीकार गरेका छन् । केही बाठा ऋणीसँग मिलेर कर्मचारीकै मिलेमतोको किर्ते कर्जा लगानीसमेत भएको घटना संस्थाभित्र सार्वजनिक भएपछि सो शाखाका पुराना कर्मचारी सरुवा गर्ने, पुराना सदस्य समूह खारेज गर्ने र नयाँ बनाउने तयारीमा संस्था जुटेको छ । जब कि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ ले नक्कली ऋणी खडा गरी त्यस्तो ऋणीमार्फत कर्जा लिन वा त्यस्तो कुरा जानीजानी कर्जा दिन वा कर्जा लिने वा दिने कार्य गर्न–गराउने कार्यलाईसमेत बैंकिङ कसुर भनेर व्याख्या गरेको छ । तर, कर्जा किर्ते भएको गम्भीर वित्तीय अपराधमा पनि संस्थाले दुई वर्षसम्म आँखा चिम्लिएको छ । 

आफूहरूले कर्जा अपचलनको विषयमा अध्ययन गरेको र त्यसलाई सञ्चालक समितिमा पेस गर्न लागेको महिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले बताए । तत्कालीन शाखा प्रमुख ममिला पौडेलले भने आपूmलाई संस्थाकै केही कर्मचारीले बदनाम गराउन गलत प्रतिवेदन तयार पारिएको दाबी गरिन् । ‘मलाई सो समयका केही कर्मचारीहरूले बदनाम गराउने काम गरेका हुन्,’ पौडेलले भनिन्, ‘मैले कसैको नाममा पनि किर्ते कर्जा लगानी गरेको वा गर्न लगाएको छैन ।’