
एमाले अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीमा कैयाैँ ‘सिनियर’ नेता छुटेका छन् भने कैयौँ ‘जुनियर’ समावेश भएका छन् । एमालेकै नेताहरूका अनुसार सर्वसम्मत सूचीमा पर्नुपर्ने थुप्रै नेताको नाम छुटेको छ । अध्यक्ष ओलीको छनोटमा जुनियरसमेत नवप्रवेशीका रूपमा केन्द्रीय सदस्य बनेका छन् । प्रदेश २ बाट सुमन प्याकुरेलको नाम ओलीको सूचीमा थिएन । तर, उनले उम्मेदवारी मनोनयन दर्ता गराए ।
पुरुष खुलामा सर्वसम्मत हुँदा प्याकुरेलसहित ६ जना पुरुष प्रदेशबाट निर्वाचित भएका छन् । आफ्नो नाम नपरेकोमा आश्चर्यचकित भएर असन्तुष्टि जनाएका प्याकुरेलले सोमबार उम्मेदवारी मनोनयन दर्ता गरेका थिए । त्यस्तै, प्रमुख सचेतक तथा निवर्तमान केन्द्रीय सदस्य रहेका विशाल भट्टराईको नाम ओलीको सूचीमा परेन । पहिले केन्द्रीय सदस्य भइसकेका सबैको नाम प्रस्तावित भए पनि भट्टराईको नाम छुटेपछि धेरै आश्चर्यमा परेका थिए । नाम नपरेकोमा भट्टराईले असन्तुष्टि जनाएका थिए । ओलीले उनलाई प्रदेश १ को पार्टी अध्यक्ष बनाउने आश्वासन दिएका छन् । अध्यक्ष बने भट्टराई पदेन केन्द्रीय सदस्य हुनेछन् ।
त्यस्तै, जनजाति समूहबाट उम्मेदवारी दिने तयारीमा रहेका शिव गुरुङ पनि सर्वसम्मतिको सूचीमा छुटेका छन् । युवा नेताहरू योगेश भट्टराई र ठाकुर गैरेकै समकालीन गुरुङ रवीन्द्र अधिकारी अखिलको नेतृत्वमा रहँदा उपाध्यक्ष थिए । पार्टीको संघीय मामिला विभागका सचिव रहेका गुरुङ नवौँ महाधिवेशनमा थोरै मतले पराजित भएका थिए ।
त्यस्तै, यसपटक नवप्रवेशी अनुहारका रूपमा बढी चर्चामा रहेका एमालेबाट प्रत्यक्ष निर्वाचित सांसदमध्ये कान्छो उमेरका पर्वतका सांसद पदम गिरी सर्वसम्मतको सूचीभित्र अटाएनन् । गिरीले सोमबार बिहान ओलीलाई भेटेर गुनासो पोखेका थिए । ओलीले गिरीलाई मनोनयन गर्ने आश्वासन दिएका छन् । त्यस्तै, नवौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका र पार्टी एकीकरणपछिको केन्द्रीय सदस्यका रूपमा नाम सार्वजनिक भएर पनि हटाइएका अखिलका पूर्वउपाध्यक्ष सोभियत ढकाल पनि सर्वसम्मतको सूचीमा अटाएनन् । अखिलका पूर्वउपाध्यक्ष रश्मी आचार्य पनि सर्वसम्मतको सूचीमा छुटेका छन् । उनलाई अध्यक्ष नबनाइएकोमा युवा–विद्यार्थी पंक्तिबाट मात्र होइन, पार्टी नेताहरूबाटै अध्यक्ष ओलीको आलोचना भएको थियो ।
पूर्वअध्यक्ष नवीना लामाले त सामाजिक सञ्जालमै आलोचना गरेकी थिइन् । तर, अहिलेकी अध्यक्ष सुनिता बराल भने केन्द्रीय सदस्यको छनोटमा परेकी छिन् । उनी ओलीकै गृहजिल्ला झापाकी हुन् । लामा पनि केन्द्रीय सदस्यको सूचीमा छिन् । त्यस्तै, महाधिवेशन आयोजक जिल्ला चितवनका पूर्वअध्यक्ष तथा प्रत्यक्ष निर्वाचित सांसद कृष्णभक्त पोखरेलको नाम पनि सर्वसम्मत सूचीमा परेन । केन्द्रीय सदस्यका लागि आश्वासन दिइएका कारण पोखरेलले जिल्ला अध्यक्ष ओली समूहकी पार्वती रावललाई सहमतिमा हस्तान्तरण गरेका थिए । तर, महाधिवेशनमा धोका भएको भन्दै पोखरेलले असन्तुष्टि जनाएका छन् ।
त्यस्तै, अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महर, युवा संघकै पूर्वअध्यक्ष रमेश पौडेल र वचन सिंहको नाम पनि छुटेको छ । महरको नाम सूचीमा छलफलमा रहे पनि युवा संघका अध्यक्ष महेश बस्नेतसँग निकटता जोडेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको रुचिमा उनको नाम हटाइएको स्रोतले जनाएको छ । उता, युवा संघका पूर्वकोषाध्यक्ष गोविन्द थापा, युवा संघकै अध्यक्ष किरण पौडेल भने युवाहरूका तर्फबाट नयाँ अनुहारका रूपमा केन्द्रीय सदस्य बनेका छन् । थापा ओलीकै गृहजिल्ला झापाका हुन् ।
उता, अखिलका पूर्वउपाध्यक्ष तथा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठको नाम पनि सर्वसम्मतको सूचीमा परेन । प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र राजेन्द्र अर्याल पनि केन्द्रीय सदस्यको सर्वसम्मत सूचीमा अटाएनन् । विष्ट नवौँ महाधिवेशनमा वरिष्ठ नेता माधवकुमार नेपालको प्यानल सूचीको गृहकार्यमा नाम रहेर पनि उम्मेदवारी दर्ता गर्दा भने प्रतिस्पर्धाको सूचीबाट अन्तिममा हटाइएका थिए ।