मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format २o:१२:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीको भाषणका सात मुख्य विषय

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २o:१२:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यतः सात विषयमा चर्चा गरेका छन् । उनले महाधिवेशनपछि पार्टी चुनावको तयारीमा जाने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन फिर्ता लिनुपर्ने  र आवश्यक पर्दा संविधान संशोधन हुन सक्नेलगायत सात विषयमा चर्चा गरे ।

‘हामी अब चुनावको तयारीतर्फ पनि जानेछौँ’
‘कुनै न कुनै समयमा निकट भविष्यमा अब चुनाव आउँदै छ । चुनावहरू आउँदै छन् । स्थानीय तहको चुनाव आउँदै छ । प्रदेश सभाकाे चुनाव आउँदै छ र संघीय चुनाव आउँदै छ । म हाम्रा कमरेडहरूलाई भन्न चाहन्छु, हाम्रा साथीहरूलाई भन्न चाहन्छु । समर्थक, शुभेच्छुक, आमनेपाली दिदीबहिनी, दाजुभाइहरूलाई भन्न चाहन्छु, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौँ । हामी जनमतको तयारी गर्नेछौँ। जनमतबाट हामीले एकल बहुमत ल्याउनुपर्नेछ यस देशका लागि। एमालेका लागि होइन, एमालेका लागि बहुमत होइन देश बनाउनका लागि। यस देशको सार्वभौमिकताको रक्षा गर्नका लागि। यस देशमा लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षा त्यसका लागि। संविधानको रक्षा र कार्यान्वयनका लागि। संविधानको गलत व्याख्यालाई जनअभिमतबाट, जनादेशबाट सच्याएर अगाडि बढ्नका लागि नेकपा एमालेले बहुमत ल्याउनुपर्दछ ।’ आउँदो चुनावपछि एमालेको सरकार बन्छ । र, एमालेले बाँकी रहेका विकासका कामलाई अगािड बढाएर समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभिभारा पूरा गर्छ । स्थानीय तहका निर्वाचनमा पहिलेजस्तो चालीस प्रतिशतभन्दा बढी भन्ने होइन, ५० प्रतिशतभन्दा बढी नेकपा एमालेले हासिल गर्नेछ ।’


‘नेपाली जनतालाई विभाजित गर्ने कुराको विपक्षमा छौँ’   
हामी शान्तिको पक्षमा छौँ । देशभित्र शान्ति स्थापना हुनुपर्दछ । हामी कुनै पनि बाहानामा कुनै पनि नाममा हिंसातर्फ प्रवृत्त हुने कुरा, आवेश, उत्तेजना फैलाउने कुरा, परस्परमा घृणा फैलाउने कुरा, जात जातका बीचमा, धर्म धर्मका बीचमा, भाषा भाषाका बीचमा, भूगोल भूगोलका बीचमा साम्प्रदायिक विद्वेष फैलाएर नेपाली जनतालाई विभाजित गर्ने कुराको विपक्षमा छौँ । हामी सामाजिक सद्भावको पक्षमा छौँ । राष्ट्रिय एकताको पक्षमा छौँ। हामी सहअस्तित्व र सहकार्यको पक्षमा छौँ । पारस्परिक सम्मान र एकताको पक्षमा छौँ । सबैलाई समान अधिकार, अवसर उपलब्ध गराउने पक्षमा छौँ । सामाजिक न्याय र समानता सबैलाई उपलब्ध गराउने पक्षमा छौँ । विद्वेष, विरोधको राजनीति होइन, हाम्रो नीति राष्ट्रिय एकताको नीति हो। सझदारी, सद्भाव, एकताको नीति हाम्रो नीति हो । हाम्रो नीति राष्ट्रियताको, सार्वभौमसत्ताको, हाम्रो स्वाधीनताको हामी रक्षा गर्न चाहन्छौँ । हाम्रो स्वाधीनता, हामी वास्तविक अर्थमा स्वाधीनता मात्रै भनेर बस्ने होइन, स्वाधीनताको हामी वास्तविक अर्थमा सही ढंगले, यथार्थ रूपमा त्यसलाई प्रयोग गर्न चाहन्छौँ ।’

‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन फिर्ता लिनुपर्नेछ’ 
हामी सार्वभौम समानता चाहन्छौँ दुनियाँभरि, हामी कसैसँग पनि ठूला राष्ट्र हुन्, साना राष्ट्र हुन्, आकार प्रकार, साइज, जनसंख्या, विकासमा अगाडि पछाडि जे भए पनि सबै राष्ट्रहरूको सार्वभौमसत्ता समान छ, सबैले समानता मान्नुपर्छ भन्ने हामी ठान्दछौँ । यिनै आधारमा पारस्परिक लाभ, पारस्परिक हित, पारस्परिक सम्मानका आधारमा हाम्रा छिमेक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धहरू अगाडि बढ्छन् । हामीले भनेका छौँ, छैन कोही शत्रु, सबै मित्र । छैन कसैसँग शत्रुता, सबैसँग मित्रता । हाम्रो चाहना त्यो हो, र हामी त्यस नीतिलाई अवलम्बन गर्छौँ ।  हाम्रा छिमेकीहरूसँग कतिपय कुराहरू हामीले अझै छलफलको माध्यमबाट टुंग्याउनुपर्नेछ । र, म विश्वास गर्छु, छलफलको माध्यमबाट हामी हाम्रा छिमेकीहरूसँग कुनै समस्या छन् भने ती समस्या हामी समाधान गर्न सक्दछौँ । हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको नक्सा छापेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ तर त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ । संवादको माध्यमबाट हामी त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता लिएन भने फिर्ता नलिदासम्म हामीलाई हामी ठगिएको, मिचिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ । त्यसकारण त्यो अन्त्य गरेर वास्तविक मित्रताका लागि समस्या समाधान गरेर सही मित्रता, वास्तविक मित्रता, वास्तविक छिमेकीपन हामी कायम गर्न चाहन्छौँ ।’

‘आवश्यक पर्दा संविधानमा आवश्यक संशोधन हुन सक्दछ’ 
‘हामीले बनाएको संविधान, हाम्रा लागि बनाएको संविधान, नेपाली जनताले बनाएको संविधान। त्यो त्यो नेपाली जनताका लागि आवश्यक पर्दा आवश्यकताअनुसार औचित्यका आधारमा संशोधन हुन सक्दछ । र, नेपाली जनतालाई आवश्यक पर्दा नेपालको विकासका लागि आवश्यक पर्दा संविधानमा आवश्यक संशोधन हुन सक्दछ । हामी त्यस मान्यतामा छौँ ।’

शान्ति प्रक्रिया र पूर्वलडाकुका बारेमा 

‘हिजो सशस्त्र द्वन्द्वका घाउहरू पुछ्नु छ हामीले । अहिलेसम्म पनि शान्ति प्रक्रिया टुंगिएको छैन । नेकपा(माओवादी केन्द्र) प्रचण्डजीको नेतृत्वमा फेरि त्यही नाम उहाँले लिएर एउटा चोइटो जानुभएको छ उहाँहरू। प्रचण्डजीको नेतृत्वमा छ। अहिले पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न उहाँहरू ? उहाँहरू टुंगो लगाउनुहुन्न । किन घाइतेहरूको बन्दोबस्त गर्नुहुन्न ? जेलमा रहेका झुठा मुद्दाहरू किन खारेज गर्नुहुन्न ? किन घाइतेको उपचार हुँदैन ? किन बर्हिगमित लडाकुहरूको व्यवस्थापन हुँदैन ? किन हुँदैन ? अनि मन परेका मान्छेलाई दश, दश हजार बाँड्रने रे । दश, दश हजार मन परेको मान्छेलाई बाँडेर यो समस्याको समाधान हुन्छ ? घाइतेलाई उपचार गर्नुस् । समस्यामा परेकाको समस्या हेर्नुस् । हिजो घरबारबिहीन भएका, अंगभंगबिहीन भएकाहरूलाई रोजगारी दिनुस् । तपाईं सरकारमा हुनुहुन्छ । हिजो सरकारले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ, प्रधानमन्त्रीले गर्न दिएन । अनि भाषण गर्नुहुन्छ, आज म प्रधानमन्त्री नभए पनि यो सरकार मेरो हातको कठपुतली हो म नचाइदिन्छु, मै शक्तिशाली, मै पावरफुल भन्दै हुनुहुन्छ त किन पावर देखाउनुहुन्न ? पावर देखाउनुस् । समस्या समाधान गर्नुस् लडाकुका । म भन्न चाहन्छु, अब यो महाधिवेशन अन्त्य हुनेबित्तिकै, महाधिवेशन सम्पन्न हुनेबित्तिकै हामी पूर्वलडाकुहरूको व्यवस्थापन गर्नेछौँ । पूर्वलडाकुहरू नेकपा(एमाले)मा प्रवेश गर्दै हुनुहुन्छ । र, दशौँ हजारको संख्यामा हामी पूर्वलडाकुहरूलाई एमालेमा प्रवेश गराउँदै छौँ ।’ 

‘प्रधानमन्त्रीजीलाई काम गर्न गाह्रो छ’ 
सम्मानननीय प्रधानमन्त्रीलाई हामीले आमन्त्रण गरेका छौँ । प्रधानमन्त्रीजीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु वाञ्छनीय हुँदैन। प्रधानमन्त्रीजी सायद काम गर्न चाहनुहुन्थ्यो कि । तर, प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि । मलाई अप्ठेरोमा पार्ने, मेरा खुट्टा तान्नेहरू आज उहाँको खुट्टा समातिरहेका छन् । त्यसकारण उहाँलाई पनि अलि गाह्रो छ कि ।

 ‘लोकतान्त्रिक अभ्यासका साथ महाधिवेशनलाई सम्पन्न गर्छौँ’
सहमतिका साथ होस् अथवा लोकतान्त्रिक अभ्यास गरेर होस्, आजबाट सुरु गरेको महाधिवेशन भोलि बिहानबाट बन्दसत्र हुनेछ । पर्सि बेलुकासम्ममा हामी अत्यन्तै सोहार्दपूर्ण वातावरणमा उच्चस्तरको समझदारी, सहमति, एकताका साथ,  लोकतान्त्रिक अभ्यासका साथ महाधिवेशनलाई सम्पन्न गर्छौँ ।