मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर १० शुक्रबार १४:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस अधिवेशन : रोल्पामा बाटोबाटै फर्काइए निर्वाचन अधिकृत, पार्टीको आन्तरिक निर्वाचनमा प्रशासनले हस्तक्षेप गरेको आरोप

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १० शुक्रबार १४:३०:००

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रोल्पाको साताैँ जिल्ला अधिवेशनमा विवाद चुलिएको छ। शुक्रबार बिहान जिल्ला सदरमुकाम लिबाङबाट मतगणना गरी हिँडेका निर्वाचन अधिकृत सूर्यबहादुर वली र सहायक अधिकृत शिवप्रसाद रेग्मीलाई प्रहरीले सुलिचौरबाट फर्काएपछि विवाद चुलिएको हो।

मतगणना सकेर फर्किरहेको वेला प्रहरीले फर्काएको कोइराला–पौडेल पक्षको आरोप छ भने मतगणना नसकेरै भाग्न खोज्दा प्रहरीले फर्काएको देउवा पक्षको आरोप छ। मतगणना सकेर फर्किएको निर्वाचन टोलीलाई गृहमन्त्रीको ठाडो आदेशमा जिल्ला प्रशासनले फर्काएको भन्दै कोइराला–पौडेल पक्षका कार्यकर्ताले सातदोबाटेमा नारा–जुलुस गरिरहेका छन्। ‘मतगणना सकेर फर्किरहेको निर्वाचन अधिकृतको टोलीलाई प्रशासनले फर्काएको छ,’ निवर्तमान जिल्ला सभापति तथा पूर्वराज्यमन्त्री अमरसिंह पुनले भने, ‘पराजय स्विकार्न नसकेका साथीहरूको खेल हो। शेरबहादुर देउवाकै आदेशमा प्रशासनले फर्काएको हाम्रो बुझाइ छ।’

यता जिल्ला सभापतिमा पराजित मानबहादुर खत्रीले भने मतगणना नसकेर भाग्न खोजेपछि प्रहरीले फर्काएको बताए। ‘दुवै पक्षले बिहीबार प्रमुख जिल्ला अधिकारीको रोहवरमा महाधिवेशन प्रतिनिधिको मत पुनः गणना गर्ने सहमति गरेर फर्किएका थियौँ। तर, गणना नगरेरै निर्वाचन अधिकृत भागेछन्,’ खत्रीले भने, ‘सिडिओको रोहवरमा गरिएको सहमतिविरुद्ध गतिविधि गर्दै भाग्न खोजेपछि फर्काउनु स्वाभाविक हो।’ प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने विवादको विषयमा सबै बुझेर मात्रै प्रतिक्रिया दिने बताए।

गृहमन्त्री र सिडिओको राजीनामा माग
कांग्रेसका पौडेलनिकट नेता–कार्यकर्ताले गृहमन्त्री र सिडिओको विरोधमा नारा लगाएका छन् । पार्टीको आन्तरिक निर्वाचनमा प्रशासनले हस्तक्षेप गरेको आरोप लगाए। उनीहरूले सरकारले निर्वाचन टोलीलाई बीचबाटोबाटै फर्काएर मुठभेड गर्न खोजेको बताएका छन्। ‘आफूलाई चित्त नबुझे कानुनी बाटो पनि थियो, तर प्रशासनको आडमा गैरकानुनी काम गर्न खाजियो । अब सिडियो कार्यालय घेर्छौँ,’ पूर्वसांसद पुनले भने।

‘मतपत्र कब्जा गर्ने नियत देखियो’
यता देउवा नेतृत्वबाट सभापतिका रूपमा निर्वाचन लडेका मानबहादुर खत्रीले भने सुरुदेखिको गतिविधि हेर्दा ‘मतपत्र कब्जा गर्ने नियत’ प्रस्ट देखिएको बताए। उनले मतपेटिकामा खसेको ८४ मत हराएको अवस्थामै सभापति घोषणा गरिएको दाबी गरे। ‘सभापतिमा जे भए पनि अन्य पदाधिकारीमा ८४ मत गायब पारेर गन्न सकिन्न भनेर गणना स्थलबाट निस्किएको थिएँ,’ खत्रीले भने, ‘हाम्रो अनुपस्थितिमा तीन घन्टा मतगणना गरेर पदाधिकारी घोषणा गरेपछि हामीले विरोध जनाएका थियौँ ।’ उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि सुरुदेखि पुनः मतगणना गर्ने सहमति भए पनि मतगणना नै नगरेर निर्वाचन अधिकृत भागेको आरोप लगाए। महाधिवेशन प्रतिनिधिको अहिलेसम्म घोषणा नगरिएको भन्दै खत्रीले रोल्पाबाट भागेर उतैबाट घोषणा गर्ने नियत देखिएको बताए। उनका अनुसार केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयले केन्द्रीय महाधिवेशनको मतगणना रोकेर दुवै पक्षको रोहवरमा सिलबन्दी गरी फर्किन पत्राचार गरेको थियो। तर, आफ्नो पक्षलाई मात्र होइन, प्रहरीलाई समेत भित्र पस्न नदिई मतगणना गरेर भागेको उनले बताए। नीति, विधि र सिडिओको रोहवरमा भएको सहमतिसमेत पालना नगरी निर्वाचन अधिकृत भागेको उनको आरोप छ।
 
केन्द्रीय कार्यालयमा उजुरी
निर्वाचनमा विवाद चुलिएकै अवस्थामा देउवा पक्षले केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयमा सातबुँदे उजुरी पेस गरेको छ। बिहीबार धाँधलीपूर्ण निर्वाचन र मतगणनाका विषयमा पत्राचार गरिएको देउवा पक्षबाट सभापतिका प्रत्याशी मानबहादुर खत्रीले बताए। निर्वाचन अधिकृतले पक्षपातपूर्ण व्यहार गरेको, धाँधलीपूर्ण र अनैतिक मतगणना गरेको पत्रमा उल्लेख छ । मतगणना प्रक्रियागत नभएकोले गणना बदर वा स्थगित गरी पुनः केन्द्रबाटै अध्ययन, अनुगमन वा आवश्यक प्रक्रिया पुर्‍याई निर्वाचन गराउनसमेत अनुरोध गरिएको छ।