१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बिन्यामिन अप्पेलबोम
२०७८ मङ्सिर १० शुक्रबार ०९:३३:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

व्यापार युद्धको मूल्य अमेरिकाले चुकाउँदै छ

Read Time : > 3 मिनेट
बिन्यामिन अप्पेलबोम
२०७८ मङ्सिर १० शुक्रबार ०९:३३:००

अल्पकालीन भन्सार संरक्षणले कुनै पनि उद्योग सबल भएको उदाहरण कतै भेटिँदैन

चिनियाँ आयातमाथिको भन्सारका कारण विस्कन्सिस इभ्यान्सभिलस्थित च्यासिस कम्पनी स्टुघटन ट्रेलरमा रोजगारी खोज्नेहरूको भिड देखिन्छ । कार्गो कन्टेनर बोक्ने चक्कायुक्त स्टिलको फ्रेम हो, च्यासिस । विगतमा अमेरिकामा प्रयोग हुने अधिकांश च्यासिस चीनबाट आउँथ्यो । तर, उच्च भन्सार दरका कारण चिनियाँ च्यासिस निकै महँगो बनेपछि स्टुघटन ट्रेलरमा कामको चाप बढेको छ । अमेरिकी च्यासिस कम्पनीमा काम बढे पनि बजारमा भने च्यासिसको कमी देखिन थालेको छ । यसका कारण अमेरिकी बन्दरगाहको कामसमेत प्रभावित हुन थालेको छ । 

सामान्य तथ्य हो, भन्सारले सामानको मूल्य वृद्धि गराउँछ । अमेरिकामा बनेका च्यासिस बजारमा आउन थालेका छन्, तर तिनको मूल्य भन्सारमूल्य जोडिनुअघिको चिनियाँ च्यासिसभन्दा धेरै छ । यसले च्यासिस प्रयोग हुने वाहनको मूल्य पनि बढ्न थालेको छ । सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले कैयन् चिनियाँ सामानमा भन्सार लगाए । चीनले आफ्ना निर्यात उद्योगलाई ठूलो रकम अनुदान दिएर अमेरिकी उत्पादनसँगको प्रतिस्पर्धामा असमान स्थिति सिर्जना गरेको ट्रम्पको आरोप थियो । चिनियाँ सामानमा भन्सार लगाएपछि मात्र अमेरिकी निर्माताहरूका लागि प्रतिस्पर्धालाई न्यायपूर्ण बन्ने उनको तर्क थियो । राष्ट्रपति बाइडेनले ट्रम्पको भन्सार नीतिलाई निरन्तरता दिए । भन्सार बढाएकै कारण अमेरिकाको संघीय सरकारले यो वर्ष अघिल्लो वर्षभन्दा धेरै रकम भन्सारबाट उठाउँदै छ । 

सरकारले निर्माण क्षेत्रलाई सहयोग गर्नु राम्रो कुरा हो । च्यासिस निर्माताले पहिलेदेखि संघीय सहयोगको माग गरिरहेका थिए । त्यसमा श्रमशक्ति विस्तारका लागि आप्रवासन कानुनमा सुधार, श्रमिकलाई प्राविधिक प्रशिक्षण दिनुपर्ने र स्वचालित संयन्त्रमा लगानी गर्नका लागि कानुनी सहुलियतजस्ता माग समावेश थिए । तर, उद्योगलाई सघाउने दीर्घकालीन लगानी गर्नुको साटो सरकारले प्रतिस्पर्धालाई नै सीमित गर्ने निर्णय गर्‍यो । यस्तो अल्छी रणनीति महँगो हुनुका साथै प्रत्युत्पादक हुन्छ । चिनियाँ आयातमा कर लगाउँदा चीनलाई दण्डित गरे जस्तो देखिन्छ, तर सो करको रकम खासमा अमेरिकी नागरिकको काँधमा पर्छ । भन्सारका समर्थकले रोजगारी संरक्षणका लागि थोरै मूल्यवृद्धिलाई उचित देखाउने प्रयास गर्छन् ।

तिनको दाबीलाई पनि विश्लेषण गरेर हेरौँ न त । सन् २००९ मा तत्कालीन ओबामा प्रशासनले घरेलु टायर निर्माताको संरक्षणका लागि भन्दै चिनियाँ टायरमा भन्सार लगायो । एक अध्ययनअनुसार उक्त भन्सार वृद्धिपछि अमेरिकाभर १२ सय टायर निर्माणमा संलग्न रोजगार जोगिएको थियो र यसका लागि प्रतिटायर २५ डलर मूल्य वृद्धि भएको थियो । एक वर्षमा अमेरिकी उपभोक्ताले अरिरिक्त एक अर्ब डलर रकम टायरलाई तिर्नुपर्ने अवस्था आयो । यसको अर्थ हो, औसतमा ४० हजार डलर कमाइ हुने १२ सय पद जोगाउनका लागि प्रतिपद झन्डै १० लाख डलर खर्च भएछ । बरु सरकारले टायर मजदुरलाई टायर नबनाउन तिनले पाउने तलब दिएको भए बढी फाइदाजनक हुने थियो । 

सन् २०१८ मा ट्रम्पले कैयौँ चिनियाँ सामानमाथि २५ प्रतिशत भन्सार लगाउने निर्णय गर्दै एक सूची निकालेका थिए । सुरुमा भन्सार लगाउने सामानको सूचीमा च्यासिस थिएन । पेन्सिलभानिया राज्यमा रहेको च्यासिस निर्माता चिताहा च्यासिसले चिनियाँ च्यासिसलाई पनि सूचीमा राख्न कानुननिर्मातालाई प्रभावित बनाउने (लबी) अभियान चलायो । त्यसपछि नै हो, चिनियाँ च्यासिस भन्सार लगाउने सामानको सूचीमा परेको । भन्सार लगाएपछि ट्रकको मूल्य बढ्ने ट्रक कम्पनीको गुनासालाई चिताहाका अध्यक्ष फ्य्राकं काट्सले खण्डन गरेका थिए । ‘खासमा ट्रक कम्पनी गलत अभ्यासबाट मूल्य कम बनाइएको च्यासिस किन्न चाहन्छन्,’ क्याट्सको तर्क थियो । 

चिताहा च्यासिसले त्यसवेला चिनियाँ च्यासिसमा भर पर्दा अमेरिकाको अत्यावश्यक सामानको बहावमा असर पर्ने दलिल पेस गरेको थियो । अमेरिकामा यसलाई राष्ट्रिय सुरक्षाको विषय मानिन्छ । तर, यही तर्क अन्य सामानको हकमा पनि गर्न सकिन्छ । आफूले सबै सामान निर्माण गर्ने कोसिस गर्ने मुलुक खासमा सुरक्षित हुँदैन, झन् विपन्न, कमजोर र एक्लो हुन्छ । २५ प्रतिशत करबाट असन्तुष्ट भएपछि अमेरिकाभित्रका च्यासिस निर्माता चिनियाँ च्यासिस निर्माताले सरकारबाट उल्लेख्य अनुदान दिएको प्रमाणित गर्ने प्रयासमा लागे । त्यसो प्रमाणित गर्न सके भन्सार दर अझै बढ्ने थियो । यही वर्षको मे महिनामा अमेरिकी सरकारले चिनियाँ च्यासिसमाथि अतिरिक्त भन्सार दर थपेर २४६ प्रतिशतको ठूलो भन्सार कर लगाएको छ । विगतमा १० हजार डलरमा बिक्ने चिनियाँ सामान भन्सारका कारण ३५ हजार डलरसम्म पुगेको छ । 

चिनियाँ च्यासिस आयातमाथि भन्सार लागेपछि अमेरिकामा सामान निर्माण बढ्नुभन्दा मेक्सिकोबाट हुने आयात बढेको छ । सन् २०१७ देखि यता मेक्सिकाले निर्यात गर्ने च्यासिस तीन गुणासम्मले वृद्धि भएको छ । बन्दरगाह सञ्चालक र ट्रक कम्पनीले आवश्यक मात्रामा च्यासिस पाउन छाडेका छन् । अमेरिकी व्यवसायीले यो वर्ष १५ हजार च्यासिस निर्माण गर्ने अपेक्षा छ, जुन वार्षिक मागको आधाभन्दा पनि कम हो । साउथ क्यारोलिना पोर्ट अथोरिटीले यो वर्षको सुरुमा १३ हजार च्यासिस किन्ने योजना घोषणा गरेको थियो । तर, अहिले उसले सन् २०२३ को अन्त्यसम्म आफ्नो माग हात नपर्ने बताउन थालेको छ । अरूले समस्या भोगे पनि चिताहा र स्टुघटनले आफूले चाहेको कुरा पाएका छन् । च्यासिस कमी हुन नदिन यसको उत्पादन वृद्धि गर्ने र यसका लागि श्रमिक थप्ने बताएका छन् । 

चिनियाँ च्यासिसमाथि लागू भएको कठोर भन्सार दर जम्मा पाँच वर्षका लागि हो । यस अवधिमा अमेरिकी कम्पनीले आफ्नो आधार बलियो बनाउने आशा गरिएको छ । सौर्य ऊर्जाजस्तो भर्खरै वामे सर्दै गरेको क्षेत्रका लागि यस्तो नीति सही हुन्थ्यो । तर, एक परिपक्व निर्माण क्षेत्रको कम्पनीले आजको दिनमा प्रतिस्पर्धा गर्न सक्दैनन् भने भोलि तिनले कसरी प्रतिस्पर्धा गर्न सक्छन् । स्टिल निर्माणजस्ता केही अमेरिकी उद्योगले पटक–पटक अमेरिकी सरकारको संरक्षण हासिल गर्छन् । पिक–अप ट्रक निर्माता र चिनी उत्पादकहरूले दशकौँदेखि संघीय औद्योगिक संरक्षण कार्यक्रम पाइरहेका छन् । अल्पकालीन भन्सार संरक्षणले कुनै पनि उद्योग सबल भएको उदाहरण कतै भेटिँदैन । बाइडेनले ट्रम्पको विध्वंसात्मक भन्सार नीति परित्याग गर्नुपर्छ । सही विकल्प सरल भए पनि कार्यान्वयन सजिलो छैन । नवप्रवर्तनलाई सघाउने, उद्योग फस्टाउन सक्ने वातावरण निर्माण गर्ने र श्रमिकले पनि लाभ हासिल गर्ने प्रत्याभूत गर्ने कार्यक्रम लागू गर्नुपर्छ । र, अमेरिकाले चीनको यतिसारो चिन्ता नगर्दा नै उसको भलाइ हुन्छ ।

न्युयोर्क टाइम्स सम्पादकीय बोर्डका सदस्य बिन्यामिन अप्पेलबोम अर्थशास्त्र र व्यवसायका प्रमुख लेखक हुन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य