१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
महाधिवेशनस्थल नारायणीतीरमा एकसिंगे गैँडाको ‘मस्कट’ ठड्याउँदै एमाले कार्यकर्ता । महाधिवेशनको लोगोमा पनि उभिएको गैँडाले पार्टीको झन्डा उचालेको छ । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२०७८ मङ्सिर १० शुक्रबार ०६:०७:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नारायणीतीरमा एमालेको कुम्भमेला

Read Time : > 6 मिनेट
२०७८ मङ्सिर १० शुक्रबार ०६:०७:००

पार्टी विभाजनको तीन महिनापछि हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरका एमाले नेता–कार्यकर्ता चितवनमा

संसद्को सबैभन्दा ठूलो दल एमालेको दशौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । चितवनको नारायणी नदीको किनारमा उद्घाटन गरेर सौराहामा हुने बन्दसत्रले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । 

तीन दिन (१२ मंसिर)सम्म चल्ने महाधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा देशभरबाट पाँच लाखभन्दा बढी नेता–कार्यकर्ता चितवनमा उतार्ने एमालेको दाबी छ । 

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरूले पार्टी विभाजन गरी एकीकृत समाजवादी गठन गरेको तीन महिनापछि प्रमुख प्रतिपक्ष दल एमालेले महाधिवेशन गर्दै छ । महाधिवेशनमार्फत पार्टीलाई एकीकृत र शक्तिशाली बनाउने एमालेको निर्णय छ । 

महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित हुने पाँच लाखभन्दा बढी सहभागीको व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए । 

‘हामीले प्रत्यक्ष र अप्रत्यक्ष दुवै तरिकाले महाधिवेशनको तयारी सम्पन्न गरेका छौँ । महाधिवेशनमा करिब २३ सय प्रतिनिधि र पाँच लाख जनसमुदाय सहभागी गराउने तयारी गरेका छौँ,’ सहसंयोजक पाण्डेले नयाँ पत्रिकासँग भने । उनका अनुसार महाधिवेशन उद्घाटनको व्यवस्थापनका लागि पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ । एमालेले यसअघि १५ देखि १७ असोजमा ललितपुरको गोदावरीमा विधान महाधिवेशन सम्पन्न गरिसकेकाले यस महाधिवेशनबाट नेतृत्व मात्रै चयन गर्नेछ ।

यस्तो छ तयारी

- उद्घाटनमा देशभरबाट पाँच लाखभन्दा बढी नेता–कार्यकर्ता उतार्ने दाबी, बन्दसत्र सौराहामा
- भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथि, अन्य २५ देशबाट शुभकामना सन्देश 
- उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत सात पार्टीका प्रमुख नेता सहभागी हुने निश्चित
- महाधिवेशनको खर्च साढे सात करोड हुने अनुमान, दुई हजार १७५ प्रतिनिधि र १२९ पर्यवेक्षक, ६२७ महिला र २०९ जना उत्पीडित समूहका प्रतिनिधि, आठजना निजामती कर्मचारी पनि महाधिवेशन प्रतिनिधि  
- आइतबार बिहान ८ बजेबाट हुने मतदानका लागि सयवटा विद्युतीय मेसिन तयार, साँझसम्म मतपरिणाम सार्वजनिक गरिने
- भरतपुर बसपार्क, हाकिम चोक, विशाल चोक, बेल चोक, आँपटारी, चौबिसकोठी र गैँडाकोटलगायत स्थानबाट र्‍याली निकालिने
- महाधिवेशनको सुरक्षार्थ एआइजी नै खटिए, केन्द्र र जिल्ला गरी २५ सय सुरक्षाकर्मी परिचालित
- उद्घाटनका दिन ठूला सवारीसाधनलाई साँझ ५ बजेसम्म नारायणगढ बजारमा प्रवेशमा रोक
- उद्घाटनका लागि पाँच सयजना अट्ने मञ्च तयार, कार्यक्रमस्थलका विभिन्न ठाउँमा डिस्प्ले
- महाधिवेशनका लागि विभिन्न ५० स्थानमा स्वागतद्वार

चुनाव र सर्वसम्मतको समानान्तर गृहकार्य : उद्घाटनपछि नेतृत्व चयनमा प्रवेश गर्ने ओली रणनीति

वडा र पालिका तह हुँदै महाधिवेशन प्रतिनिधि छनोटसम्मका काम मूलतः सर्वसम्मत सम्पन्न गरेको एमालेमा महाधिवेशनबाट नेतृत्व चयनको विधिलाई लिएर अन्योल यथावत् छ । महाधिवेशन उद्घाटनको अघिल्लो दिनसम्म नेतृत्व चयनका लागि चुनाव वा सर्वसम्मत प्रक्रिया अपनाउने भन्ने निश्चित नभएपछि नेतृत्वले समानान्तर रूपमा दुवै गृहकार्य अगाडि बढाएको छ । 

सहमतिका लागि समय बाँकी नै छ : सुरेन्द्र पाण्डे, महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक

उद्घाटनसत्रमा आगामी निर्वाचनमा एमाले एक्लैले जित्न किन आवश्यक छ, हाम्रासामु कस्ता जिम्मेवारी र चुनौती छन् भन्ने उद्घोष गरिनेछ । अहिले त्यो संकल्प पूरा गर्ने गरी नेतृत्व चुनिनुपर्छ र सहमतिबाटै भयो भने त्यसले नयाँ रक्तसञ्चार, उत्साह र बल प्रदान गर्नेछ भन्ने हिसाबले प्रयास भइरहेको छ । त्यसका लागि अझै समय आइसकेको छैन, समय आएपछि त्यो पनि हुनेछ ।

उद्घाटनका कार्यक्रम सकेर शुक्रबार राति बस्ने स्थायी र केन्द्रीय कमिटी बैठकमा नेतृत्व चयनसम्बन्धी प्रस्ताव लैजाने पार्टी अध्यक्ष केपी ओलीको योजना छ । महाधिवेशनबाट १५ सदस्यीय पदाधिकारीसहित दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । दशौँ महाधिवेशनको उद्घाटनका लागि देशभरका नेता–कार्यकर्ता, प्रतिनिधि तथा पर्यवेक्षकसहितको एमालेको विशाल पंक्ति चितवनमा जम्मा भएको छ । सबै नेता–कार्यकर्ताको चासो भावी नेतृत्वमा छ । 

असोज दोस्रो साता सम्पन्न नीति महाधिवेशनबाट विधान र कार्यदिशाको टुंगो लगाइसकेको एमालेले शुक्रबार उद्घाटन कार्यक्रम सकेर शनिबार बिहानैबाट नेतृत्व चयनको प्रक्रिया सुरु गर्दै छ । आइतबार बेलुकीसम्म भोटिङ मेसिनको प्रयोगबाट मतदान प्रक्रिया सकेर नेतृत्व चयन गर्ने चुनावी कार्यतालिका सार्वजनिक भइसकेको छ । 

महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित हुने आकांक्षीबीच तीव्र प्रतिस्पर्धा चलिरहे पनि बिहीबार चितवन आएका पार्टी अध्यक्ष ओलीले औपचारिक रूपमा नेतृत्व चयनको विषयमा ठोस पहल गरेका छैनन् । उनले निकट केही नेताहरूसँग भने सर्वसम्मतका सम्भावित विकल्पमाथि भने छलफल गरेको स्रोतको भनाइ छ । निकट नेताहरूका अनुसार अध्यक्ष ओली सम्भव भए अन्तिमसम्म सर्वसम्मत र नभए विकल्पका रूपमा चुनावी प्रक्रियामा जाने पक्षमा छन् । 

बिहीबार साँझसम्म ओलीसहित पदाधिकारी र स्थायी समिति तथा केन्द्रीय कमिटीका सबैजसो सदस्यहरू चितवन आइपुगेका छन् । बिहीबार करिब १ बजे चितवन आइपुगेका ओली दिउँसो बुद्धिजीवी संगठनको अन्तत्र्रिmया कार्यक्रममा व्यस्त बने । त्यसलगत्तै उनले मूल व्यवस्थापन समितिका नेताहरूसँग सौराहास्थित पार्क सफारीमा महाधिवेशन तयारीबारे ‘ब्रिफिङ’ लिएका छन् । 

तयारीको गृहकार्य नपुगेका कारण जनाएर बिहीबार साँझ डाकिएको केन्द्रीय कमिटी बैठक उद्घाटन सकिएपछि शुक्रबार बेलुकी ८ बजेपछि मात्रै बस्ने गरी स्थगित भएको छ । त्यसले गर्दा पनि उद्घाटन कार्यक्रमअघि पदाधिकारीमा ठोस सहमतिको प्रयास नहुने देखिएपछि अधिकांश आकांक्षी नेता उम्मेदवारी मनोनयनको तयारीमा छन् । उम्मेदवारी मनोनयनसँगै चुनावी प्रक्रिया अगाडि बढ्ने भएकाले अध्यक्ष ओलीको योजनाअनुसार नेतृत्वमा सर्वसम्मतको सम्भावना कठिन छ । 

महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले दशौँ महाधिवेशनलाई सर्वसहमतिकै बनाउने प्रयास चलिरहेकै र सहमतिका लागि अझै समय बाँकी रहेको बताए । ‘उद्घाटनसत्रमा जनसमुदायलाई आगामी निर्वाचनमा एमाले एक्लैले जित्न किन आवश्यक छ, हाम्रासामु कस्ता जिम्मेवारी र चुनौती छन् भन्ने अवगत गराएर पार्टीलाई एकताबद्ध बनाउने उद्घोष गरिनेछ । त्यसबाट पार्टीका तमाम कार्यकर्ता, समर्थक, शुभेच्छुक सबै एउटा आत्मविश्वास र रक्तसञ्चारका साथ आ–आफ्ना जिम्मेवारीमा फर्किनेछन्,’ पाण्डेले भने, ‘अहिले त्यो संकल्प पूरा गर्ने गरी नेतृत्व चुनिनुपर्छ र सहमतिबाटै भयो भने त्यसले नयाँ रक्तसञ्चार, उत्साह र बल प्रदान गर्नेछ भन्ने हिसाबले प्रयास भइरहेको छ । त्यसका लागि अझै समय आइसकेको छैन, समय आएपछि त्यो पनि हुनेछ ।’

बागमती प्रदेश कमिटीका अध्यक्ष तथा महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य आनन्दप्रसाद पोखरेल महाधिवेशनमा उम्मेदवारी मनोनयनपछि मात्रै सर्वसम्मतको प्रयास सुरु गर्ने अभ्यास रहेको बताएर समय अझै बाँकी रहेको बताउँछन् ।

‘हामीले महाधिवेशनहरूमा दरखास्त परेपछि मात्रै सर्वसम्मतका लागि प्रयत्न गर्ने अभ्यास गर्दै आएका छौँ । अहिलेसम्म नेताहरूले आ–आफ्ना आकांक्षा सार्वजनिक गरिसक्नुभएको छ, त्यसकारण उम्मेदवारी परेपछि नै सर्वसम्मतको प्रयास अगाडि बढ्छ,’ पोखरेलले नयाँ पत्रिकासँग भने, ‘प्रयास अगाडि बढ्दा सकभर सर्वसम्मत होला, हुन सकेन भने मतदान प्रक्रियाबाट बाहेक नेतृत्व चयन गर्ने अर्को विकल्प छैन ।’

उम्मेदवारीपछि सहमतिको ठोस प्रयास हुन्छ : आनन्द पोखरेल, महाधिवेशन  मूल व्यवस्थापन समितिका सदस्य
 

प्रयास अगाडि बढ्दा सकभर सर्वसम्मत होला, हुन नसके मतदान अन्तिम विकल्प छँदै छ । अध्यक्षले भेटघाट र टेलिफोनमार्फत सर्वसम्मतका लागि कोसिस गरिरहनुभएकै छ, तर परिणाम नआएकाले अन्योलजस्तो देखिएको हो । चुनावी प्रक्रिया सुरु नभएसम्म यस्तो अन्योल त हुन्छ नै, तर हाम्रो अभ्यास दरखास्त परेपछि मात्रै सर्वसम्मत गर्ने भएकाले त्यसपछि नै ठोस परिणाम देखिनेछ ।

उनले चुनावी प्रक्रिया सुरु नभएसम्म एक प्रकारको अन्योल देखिनु स्वाभाविक भएको बताए । ‘अध्यक्षले भेटघाट र टेलिफोनमार्फत सर्वसम्मतका लागि लागि कोसिस त गरिरहनुभएकै छ, तर परिणाम नदेखिएकाले अन्योलजस्तो देखिएको हो,’ पोखरेलले भने, ‘चुनावी प्रक्रिया सुरु नभएसम्म यस्तो अन्योल त हुन्छ नै, तर हाम्रो अभ्यास उम्मेदवारी दरखास्त परेपछि मात्रै सर्वसम्मत गर्ने भएकाले त्यसपछि नै ठोस परिणाम देखिनेछ ।’

महाधिवेशनमा अध्यक्ष ओलीले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने निश्चित छ । त्यस्तै, उपाध्यक्ष भीम रावलले पनि अध्यक्षमै उम्मेदवारी दिने तयारी गरेका छन् । उम्मेदवारी घोषणा गरेका रावलसँग ओलीले कुनै औपचारिक संवाद गरेका छैनन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा ‘बादल’ आकांक्षी छन् । उपमहासचिव घनश्याम भुसालले पनि वरिष्ठ उपाध्यक्ष या उपाध्यक्षमा आकांक्षा राखे पनि उम्मेदवारीबारे केही पनि बोलेका छैनन् । महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, पृथ्वीसुब्बा गुरुङको तयारी छ । त्यस्तै, उपाध्यक्षमै अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, देवराज घिमिरेलगायतका नेताहरूको दाबी छ । तर, सर्वसम्मत हुँदा वरिष्ठ उपाध्यक्ष र महासचिवमा नअटाएका तथा उपमहासचिव र उपाध्यक्षका कतिपय आकांक्षी नेताहरूलाई उपाध्यक्ष या उपमहासचिवमा व्यवस्थापन गर्नुपर्ने चुनौतीमा ओली छन् । 

त्यस्तै, सर्वसम्मत हुँदा अहिलेका पदाधिकारीमध्ये उपमहासचिव या सचिवमा योगेश भट्टराई र गोकर्ण विष्टलगायतको दाबी छ । सचिव पदको चुनावी प्रतिस्पर्धामा भने स्थायी समिति सदस्य र तेस्रो तहका नेताहरूसहित झन्डै दुई दर्जन नेताहरू आकांक्षी देखिएका छन् । किरण गुरुङ, छविलाल विश्वकर्मा, विष्णु रिमाल, खगराज अधिकारी, कर्ण थापा, हिक्मत कार्की, गोकुल बाँस्कोटा, महेश बस्नेतलगायतको दाबी छ ।

सचिवका दाबेदार बाँस्कोटाले सर्वसम्मत हुँदा बाधक नबन्ने, तर चुनावी प्रतिस्पर्धाका लागि भने सचिव पदमा उम्मेदवारी दिने बताए । ‘दशौँ महाधिवेशनलाई सर्वसहमति बनाउनुपर्छ भन्ने मेरो पनि मान्यता हो, म त्यसका लागि बाधक छैन, तर चुनावी प्रतिस्पर्धा निश्चित भयो भने मेरो उम्मेदवारी सचिवमा हुनेछ,’ बाँस्कोटाले भने । 

अध्यक्ष ओलीलाई केन्द्र मान्ने नेताहरूबीच नै वरिष्ठ उपाध्यक्ष र महासचिवमा प्रतिस्पर्धा देखिएकाले उनीहरूको व्यवस्थापन हुन सक्दा पदाधिकारीमा चुनावको सम्भावना न्यून हुने धेरै नेताको आकलन छ । नेम्वाङ र पोखरेलमध्ये एकलाई वरिष्ठ उपाध्यक्ष तथा पौडेल र पोखरेलमध्ये एकलाई महासचिव बनाउने विषयमा ओलीनिकट नेताहरूबीच समझदारी जुट्ने सम्भावना रहेकाले पदाधिकारीबाहेक केन्द्रीय सदस्यमा मात्र चुनावको सम्भावना रहेको एक स्थायी समिति सदस्यले बताए ।

‘अहिले वरिष्ठ उपाध्यक्ष र महासचिवमा तीव्र प्रतिस्पर्धा रहेको कुरा सत्य हो, तर उहाँहरू अध्यक्षलाई क्रस गरेर उम्मेदवारी दिन सक्ने स्थितिमा हुनुहुन्न, अन्तिममा उहाँहरूले अध्यक्षकै ग्रिन सिग्नल पर्खिने हो, त्यसैले पदाधिकारीमा चुनावको सम्भावना कम छ,’ ती सदस्यले भने, ‘भीम रावलको उम्मेदवारी परिहाल्यो र उहाँले सर्वसम्मतको प्रस्ताव अरूले स्विकार्दा पनि अस्वीकार गर्नुभयो भने त्यो उहाँकै लागि अप्ठ्यारो हुनेछ ।’ 

सम्मानजनक व्यवस्थापनको पक्षमा पूर्वमाओवादी समूह 
पदाधिकारी र केन्द्रीय सदस्यमा चुनाव हुने उत्तिकै सम्भावना देखिएपछि पूर्वमाओवादी समूहका नेताहरू पदाधिकारी र केन्द्रीय कमिटी दुवैतिर सम्मानजनक व्यवस्थापन हुनुपर्ने पक्षमा उभिएका छन् । ‘एकतालाई निरन्तरता दिएर एमालेमै बसेका हामी पूर्वमाओवादी समूहका नेताहरूको उचित व्यवस्थापन गर्नुपर्छ, त्यसो भयो भने बाँकीको हकमा निर्वाचनमा जान पनि सकिन्छ भन्ने हाम्रो भनाइ हो,’ अहिले स्थायी समितिमा रहेका पूर्वमाओवादी समूहका एक नेताले नयाँ पत्रिकासँग भने, ‘हामी एकताबाट आयौँ, त्यसैले निर्वाचनको आन्तरिक प्रक्रिया पूर्ण रूपमा बुझिसकेको अवस्था पनि होइन, त्यसैले माओवादी र एमालेको एकता हुँदाको अवस्थामा जस्तै सम्मानजनक ढंगले हाम्रो व्यवस्थापन हुनुपर्छ भन्ने मोटामोटी बुझाइ छ ।’

ती नेताले केन्द्रीय कमिटी बैठकपछि आफूहरूको व्यवस्थापनबारे ठोस छलफल हुने बताए । ‘अध्यक्ष कमरेडसँग छलफल नभएकाले हामीले केही पनि भनेका छैनौँ, अध्यक्ष कमरेडले शुक्रबार बस्ने केन्द्रीय कमिटी र अनौपचारिक स्थायी समितिमा कसको व्यवस्थापन कसरी गर्ने भनेर प्रस्ताव राख्नुभएपछि हामी थप उहाँसँगै छलफल गर्छौँ,’ ती नेताले भने, ‘उहाँसँगको छलफलबाट जे निष्कर्ष निस्किन्छ, त्यसकै आधारमा अगाडि बढ्छौँ ।’

यो पनि पढ्नुहोस् >>> यसरी हुँदै छ एमालेको १०औं महाधिवेशन