
अगस्ट २८ मा असमानताविरुद्धको प्रदर्शन इन्डोनेसियाभरि डढेलोजस्तै फैलिनुभन्दा ठिकअघि प्रहरीले जकार्ताको सडकमा शान्तिपूर्ण जलवायु मार्चलाई रोक्यो । आदिवासी, किसान, माझी र ह्विलचेयरमा रहेका सहभागीले बोकेका निर्दोष प्लेकार्डमा लेखिएको थियो, ‘पृथ्वी बचाउनुहोस् ! पुस्ता जोगाउनुहोस् ।’ पछि उनीहरूलाई प्रहरीले धकेलेर बारम्बार प्रदर्शन स्थल स्टेट प्यालेस पुग्नबाट रोक्यो ।
जलवायु अधिकारकर्मीले जलवायु न्याय विधेयक पारितका लागि आग्रह गर्न आयोजित र्यालीबारे अधिकारीलाई औपचारिक रूपमा सूचित गरेका भए पनि प्रदर्शनकारीले आक्रामक प्रहरी रणनीतिको जानकारी पाए । साताको अन्त्यमा सांसदको सुविधाविरुद्ध युवा नेतृत्वको ज्वलन्त विरोध प्रदर्शनमा ती प्रहरी रणनीति घातक बनेका थिए, जसमा कम्तीमा १० जना मारिए र हजारौँलाई हिरासतमा लिइयो ।
हालैको हिंसाबारे धेरै इन्डोनेसियालीले क्रोध तर केही हदसम्म त्रास पनि महसुस गर्ने कुरामा कुनै शंका छैन । हामी बाँचेकाहरूको राष्ट्र हौँ, तीन दशकसम्म चलेको सैन्य तानाशाहीको क्रूरताको सामना गर्यौं र त्यस्ता हिंसामा करिब पाँचदेखि १० लाख नागरिकको हताहती भयो । हाम्रो सामूहिक छालामा अधिनायकवादी शासनका दाग छन्, जसका कारण अझै पनि शरीरमा काँडा उम्रिन्छ । तर, हामीलाई मौन राख्न हामीले बन्दुक र अश्रुग्यासको प्रयोगलाई कहिल्यै अनुमति दिएका छैनौँ । तसर्थ, नागरिक समाजले सांसदको सुविधा खारेज गर्ने प्रारम्भिक मागलाई अझ अगाडि बढाएको छ ।
अब, आममानिस उम्लिरहेको क्रोधलाई दबाउन खोज्ने ससाना प्रतिक्रिया मात्र चाहँदैनन् । उनीहरू पूर्ण सुधार चाहन्छन्, जसले दबिएको क्रोधका स्रोतलाई सम्बोधन गर्नेछ, जहाँ न्यून ज्याला र जीवनयापनको बढ्दो लागतले कुलीन वर्ग र ठुला निगममार्फत जनताको रगत चुसिएको थियो । यो दुर्लभ नयाँ भाष्य हो । तर, ज्वलन्त विरोधले देखाएझैँ मानिसले कुनै न कुनै बिन्दुमा रेखा कोर्नुपर्छ ।
जलवायु आन्दोलनले पनि रेखा कोरिरहेको छ । पृथ्वीमा तापक्रम बढ्दै जाँदा र हाम्रा वन फँडानी हुँदै गर्दा ‘हरियो’ खानीले आदिवासीलाई उनीहरूको भूमिबाट धपाउँदै गर्दा र हाम्रा नेताहरूले बारम्बार कोइलाखानीलाई चरणबद्ध रूपमा हटाउने वाचाका विपरीत तिनीहरू सञ्चालनमा आइरहेका वेला हामी दिक्क छौँ ।
इन्डोनेसिया विश्वको शीर्ष १० उत्सर्जनकर्तामध्ये एक हो । यो विश्वको केही ठुला र अन्तिम बाँकी– कार्बन सिंकहरू (कार्बन सिंकले कुनै पनि प्राकृतिक वा कृत्रिम प्रणालीलाई जनाउँछ, जसले वायुमण्डलबाट निस्कनेभन्दा बढी कार्बनडाइअक्साइड सोस्छ) को घर पनि हो । उत्सर्जन घटाउने र प्राकृतिक स्रोतको संरक्षण गर्ने दुवै पृथ्वीलाई शीतल राख्न र मानिसलाई अझ विनाशकारी जलवायु प्रभावबाट जोगाउन महत्वपूर्ण मानिन्छन् ।
तर, यी स्रोतलाई सम्पत्ति पुनर्वितरण र दिगो राष्ट्रिय विकासका लागि बुद्धिमानीपूर्वक प्रयोग गर्नुको सट्टा हाम्रा नेता बारम्बार भ्रष्टाचार र वातावरणीय लुटपाटका सहायक बनेका छन्, जसले जनता र पृथ्वीको लागतमा आफ्ना साथी र ठुला निगमलाई फाइदा पुर्याउँछन् ।
अर्को साता राष्ट्रपति प्रबोवो सुबियान्तो न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा उपस्थित हुने अपेक्षा गरिएको छ । एक दशकमा पहिलोपटक इन्डोनेसियाली नेता फोरममा उपस्थित हुनेछन् । यो स्पष्ट छ कि राष्ट्रपतिले महत्वपूर्ण विश्वव्यापी नेताका रूपमा आफ्नो छाप छोड्न चाहन्छन् । तर, उनको महत्वाकांक्षा अँध्यारोमा चम्कन सक्दैन । विश्वसनीयता आर्जन गर्न र उनको सैन्य विगतले उनको वर्तमान नेतृत्वलाई परिभाषित गर्दैन भनेर प्रमाणित गर्न उनले पहिले स्वदेशमा मानव अधिकारको सम्मान गरिएको सुनिश्चित गर्नुपर्छ ।
प्राबोवोले जलवायु प्रतिबद्धतामा असाधारण रूपमा बलियो बयान दिएका छन् । गत वर्ष रियो दि जेनेरियोमा भएका २० राष्ट्रहरूको समूहको शिखर सम्मेलनमा उनले १५ वर्षभित्र सबै कोइलाबाट चल्ने पावर प्लान्टलाई चाँडै हटाउने योजना घोषणा गरे । अझ नाटकीय रूपमा उनले जुलाईमा भने कि इन्डोनेसियाले आगामी १० वर्षभित्र शतप्रतिशत नवीकरणीय ऊर्जा प्राप्त गर्न सक्छ ।
तर, भाषणभन्दा बढी हामीलाई ठोस योजना र महत्वाकांक्षी उत्सर्जन न्यूनीकरण लक्ष्यमा समेटिएको कार्य आवश्यक छ । इन्डोनेसियाको पछिल्लो जलवायु प्रतिबद्धता (राष्ट्रिय रूपमा निर्धारित दोस्रो लक्ष्य जसलाई सरकारले प्राबोवोको संयुक्त राष्ट्र संघको भाषणअघि पेस गर्ने लक्ष्य राखेको छ) एक निर्णायक परीक्षण हुनेछ । यस न्याय र सुधारको मागलाई कसरी प्रतिक्रिया दिन्छन् भन्नेबारे चौतर्फी चासो बढेको छ ।
यसैबिच, असमानता गहिरिँदै जाँदा जलवायु संकट बढ्दै जान्छ । चरम बाढी, लामो खडेरी र तीव्र गर्मीको लहरले हामी सबैलाई असर गर्न सक्छ, तर तिनको प्रभाव समान छैन । गरिब र श्रमिक वर्ग सबैभन्दा बढी पीडित छन्, किनकि उनीहरूले आफ्नो जीविकोपार्जन, आफ्नो घर र अहिले आफ्नो सबैभन्दा आधारभूत मानव अधिकार पनि गुमाउँछन् । र, जबसम्म हामी तत्काल र साहसका साथ काम गर्दैनौँ, हाम्रा सन्ततिले एउटा यस्तो ग्रह पाउनेछन्, जहाँ बाँच्नु आफैँमा एक विशेषाधिकार बन्छ, अधिकार होइन ।
मानव अधिकारविना त्यहाँ जलवायु न्याय हुन सक्दैन । जब अन्याय हुन्छ, हामीले राम्रो लडाइँ लड्नुपर्छ, चाहे त्यो जलवायुसँग सम्बन्धित होस् वा सामाजिक अन्यायसँग सम्बन्धित ।
(नुरमला देवी ३५० ओआरजीकी अन्तरिम एसिया प्रबन्ध निर्देशक हुन्)
अलजजिराबाट