टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ६ बिहीबार
  • Thursday, 20 January, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार २२:५४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतमोहन प्रतिष्ठानद्वारा ज्येष्ठ नागरिक शैक्षिक कार्यक्रम सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार २२:५४:००

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले निरक्षर वृद्धवृद्धा लक्षित शैक्षिक अभियान सुरु गरेको छ। अभियानको बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ललितपुरमा आयोजित एक कार्यक्रमबीच मंगलबार शुभारम्भ गरे। निरक्षरताका कारण प्रविधिको प्रयोग गर्न नसक्दा समस्यामा परेका वृद्धवृद्धाको जीवन सहज बनाउने उद्देश्यले अभियान थालिएको भरतमोहन पुत्री लीमा अधिकारीले जानकारी दिइन्। ज्येष्ठ नागरिकलाई राज्य, परिवार र समाजले सम्मान गर्नुपर्छ भन्ने भरतमोहनको मान्यतालाई आफूहरुले आत्मसात गरेर अघि बढेको उनको भनाइ थियो। 

पहिलो चरणमा ललितपुरको बुङमतिस्थित शान्ति आश्रम दिवा सेवा केन्द्रमा बुधबारदेखि कक्षा सञ्चालन सुरु हुने उनले बताइन्। उनका अनुसार शनिबारबाहेक सातामा ६ दिन सञ्चालन हुने कक्षामा बुङमतिका ६० वर्ष उमेर नाघेका ४० निरक्षर वृद्धवृद्धा  सहभागी हुनेछन्। कक्षामा सहभागी हुनेहरुलाई कार्यक्रममै शैक्षिक सामग्री, पोशाख, तथा झोला उपलब्ध गराइएको थियो। फाउण्डेशनले केही दिनभित्रै सबैलाई एक–एकवटा टेलिफोन सेटसमेत उपलब्ध गराउने तयारी गरेको अधिकारीले बताइन्। एक वर्षसम्म सञ्चालन हुने कक्षाबाट साधारण लेखपढ गर्न, आर्थिक हिसाब गर्न, मोबाइल तथा टेलिफोन, कम्प्युटर, इन्डक्सन चुल्होजस्ता विद्युतीय उपकरण प्रयोग गर्न, सडकमा राखिएका ट्राफिक संकेत बुझ्न तथा होडिङ बोर्ड पढ्न सक्ने बनाउने लक्ष्य राखिएको छ। 

प्रतिष्ठानका अनुसार अध्यापनका लागि नेपाली र स्थानीय भाषा (नेवारी) मा दख्खल भएका स्नातकोत्तरसम्म अध्ययन गरेका प्रमुख शिक्षक र स्नातक अध्ययन गरेका एक गरी दुई शिक्षक व्यवस्था गरिएको छ। उनीहरुलाई दक्ष बनाउन केही महिना विशेष तालिमसमेत दिइएको छ। यस्तै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पाठ्यक्रम तयार गरिएको भरतमोहन पुत्री लीमाले बताइन्। सातवटै प्रदेश र क्रमशः मुलुकका ७७ वटै जिल्लामा ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम’ सञ्चालन गर्ने योजना प्रतिष्ठानको छ। एक महिनापछि प्रदेश–१ को विराटनगरमा यो कार्यक्रम सुरु हुँदैछ। ‘निरक्षरताका कारण प्रविधिमा अभ्यस्त नहुँदा कष्टकर अवस्थामा रहनुभएका वृद्धवृद्धाको जीवन सहज बनाउने उद्देश्यले प्रतिष्ठानले यो अभियान थालेको हो’, अधिकारीले भनिन्, ‘हामी क्रमशः यसलाई सातवटै प्रदेश र जिल्लास्तरसम्म पनि विस्तार गर्ने सोचमा छौं।’ 

शैक्षिक कार्यक्रमअन्तर्गत प्रयोगात्मक सिकाइका लागि वृद्धवृद्धालाई भ्रमण गराउने योजनासमेत राखिएको छ। सिकाइको स्तर मापनका लागि हरेक महिना आंशिक र १२औं महिनामा अन्तिम परीक्षा हुनेछ। शैक्षिक कार्यक्रमका लागि सहकार्य गरेको ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमले निरक्षरताका कारण प्रविधिको प्रयोग गर्न नसक्दा विदेशमा रहेका छोराछोरीसँग कुरा गर्न नसक्ने वृद्धवृद्धालाई लक्षित गरी कार्यक्रम थालिएको बताए। 

शैक्षिक कार्यक्रम उदघाटनका क्रममा बागमति प्रदेशका मुख्यमन्त्री पाण्डे, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र भरतमोहन अधिकारी स्मृति फाउण्डेशनकी अध्यक्ष सविता अधिकारीले भरतमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गरेका थिए। मुख्यमन्त्री पाण्डे र महानगर प्रमुख महर्जनले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने भरतमोहनको अभियानलाई प्रतिष्ठानले निरन्तरता दिएकामा प्रशंसा गरे। उनीहरुले सो अभियानमा आफूहरुको पूर्ण साथ र समर्थन रहेको प्रतिबद्धता जनाए।